लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका-७, सुन्दरबजारस्थित बालज्योति अंग्रेजी माविका शिक्षक फराना मियाँले विद्यार्थीमाथि कुटपिट गरेकी छन् ।उनको कुटपिटबाट कक्षा-५ मा पढ्ने ११ वर्षिया अनमिका गुरुङ घाइते छन् । विद्यालय समयमा प्रश्नको उत्तर नजानेको भन्दै लौरो प्रयोग गरी शिक्षकले पिँडौलामा हानेको पीडित बालिकाले बताइन् ।
शिक्षक फरानाको लौरी प्रहारबाट बालिकाको पिँडौलामा रातो र निलो डाम बसेको छ । खुट्टा सुन्निएको आमा देउमायाले बताइन् ।
पीडित छोरी र आमाका अनुसार आइतबार दिउँसो मध्यान्हतिर नियमित दोस्रो कक्षाकी शिक्षक मियाँले प्रश्नको उत्तर नजान्दा लौरी प्रहार गरेकी हुन् । २ दिनअघिमात्रै पनि प्रश्नको उत्तर नजानेको भन्दै हातमा लौरीले पिटेकी थिइन् । त्यतिबेला नै बालिकाको औंलामा रगत जमेको थियो ।
आइतबार ती शिक्षकले ५ वटा प्रश्न सोधेकी थिइन् । पहिलो प्रश्न मिलाएपछि दोस्रो सोध्ने क्रममा बालिकाले जानिनन् । तेस्रो प्रश्नको उत्तर नदिँदै दोस्रो पश्नको उत्तर नआएको भन्दै ती शिक्षकले पिँडौलामा लौरीले पिटेको पीडित बालिकाले बताइन् ।
देउमायाका अनुसार उनका ३ वटै छोरी बालज्योतिमै पढ्छन् । घाइते भएको कान्छी छोरी हो । ‘पिटेपछि घाइते छोरीलाई न उपचार गर्न लानु छ, घर जान्छु भन्दा पनि दिएनछन् । ठूलो छोरीले फोन गर्छु भनी ल्याण्डलाइनबाट फोन गर्दागर्दै शिक्षकहरुले फोन थुतिदिएछन्’ उनले भनिन्, ‘मेरोमा मिसकल आएपछि फोन गर्दा फोन उठेन । के भयो होला भनेर सोधपुछ गर्दा त छोरीलाई घाइते बनाएको रहेछ ।’
उनले छोरीमाथि भएको यातनाबारे विद्यालयले खबर नगरेको, ठुली छोरीले खबर गर्छु भन्दा समेत खबर गर्न नदिएको, घाइते अवस्थामा पनि ४ बजेसम्म विद्यालयमा राखेर थप पीडा दिएको बताइन् ।
दुबै खुट्टाका पिँडौला सुन्निएको छोरीलाई लिल्एर तत्काल सुन्दरबजार अस्पतालमा गएकोमा पिँडौलामा रगत जमेको पाइएको उनले बताइन् । ‘डाक्टरले घाउमा ड्रेसिङ गर्दै औषधी दिएको छ । एक्सरे गरौं भन्दा मेशिन पनि नरहेछ’ उनले भनिन् । सहमति गर्ने भन्दै सोमबार छोरीलाई उपचारको लागि अन्यत्र लान नपाएको उनले बताइन् । विद्यालयका अध्यक्ष बद्रिमान श्रेष्ठले शिक्षकबाट घटना घटेको स्वीकारे । ‘अहिलेका बच्चाहरु कलिला हुँदा रहेछन् । हातमै छोयो भने पनि डाम बस्ने । अलिअलि कुटपिट भएछ । डाम बस्यो’ उनले भने ।
विद्यार्थी कुटपिटका घटनामा ‘सहमति’
शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेको घटनामा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा पीडितसंग सहमति गरिएको छ ।
पीडकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुन्दरबजारमा निवेदन दिएको आमा देउमायाले बताइन् । ‘प्रहरीमा निवेदन हालेको छु । मैले फिर्ता लिएको छैन’ उनले भनिन्, ‘सहमति कार्यान्वयन नगरे कानुनी कारबाहीको लागि अघि बढ्ने हो ।’ उनले सवैको सल्लाह बमोजिम विद्यालयसंग सहमति गरिएको बताइन् ।
विद्यालय र पीडितबीच सोमबार ‘माइन्युट कपी’ मा सहमति गरिएको छ । सहमतिको उपस्थितिमा विद्यालयका प्रिन्सीपल स्मृति गजुरेल र इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नाम भए पनि उनीहरुले हस्ताक्षर गरेका छैनन् । प्रिन्सीपले गजुरेल नाताले विद्यालयका अध्यक्ष बद्रिमान श्रेष्ठका बुहारी हुन् । उनले बुहारी बिरामी रहेको बताइन् ।
सोमबारको सहमति अनुसार पीडित बालिकाको सवै औषधी उपचार विद्यालयले गराउने, कुटपिटमा संलग्न शिक्षक फराना मियाँलाई उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने, घटनाको सम्बन्धमा विद्यालय व्यवस्थापनले छानविन समिति गठन गर्ने, पीडित विद्यार्थीको कुनै शारीरिक वा मानसिक समस्या भएमा थप उपचार विद्यालयले गराउने, घाइते विद्यार्थीको सवै शरीरका भागको चेकजाँच गराउने, विद्यालयभित्र कुनै पनि मानसिक र शारीरिक यातना नदिइ बालमैत्री ढंगले पठनपाठन गराउने उल्लेख छ ।
सहमतिलाई पीडितका तर्फबाट मागका रुपमा राखेर ती मागहरुलाई अविलम्ब सम्बोधन गरी कार्यान्वयन गर्ने सर्वपक्षीय निर्णय भएको छ । ‘हामीले पीडितका मागलाई सम्बोधन गरेका छौं । बालिकाको उपचार गर्ने, घटनामा संलग्न शिक्षकलाई निलम्बन गर्नेलगायत सहमति छ’ उनले भने ।
इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठले पीडितका तर्फबाट घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै सोमबार निवेदन आएको बताए ।
‘उहाँहरुले कुनै उजुरी नभइ ठाडो निवेदन दिनुभएको हो । घटना घटेको दिन मौखिक जानकारी दिनुभएको हो । आज (सोमबार) ठाडो निवेदन दिनुभएको छ’ उनले भने, ‘मिल्ने भनेपछि हामीले पनि केही गरेनौ । पीडितको माग सुनुवाइ हुने गरी सहमति भएको छ’ उनले भने । सुन्दरबजार नगरपालिका ७ का वडाअध्यक्ष जयराम रेग्मीले सहमतिको ढंगबाट अघि बढ्ने भनेपछि कानुनी रुपमा अघि नबढेको बताए ।
