भीरको ढुंगाले पैदल यात्रु असुरक्षित

श्रावण २५, २०७९

हरिराम उप्रेती

गोरखा — पहिरो र भीरबाट झर्ने ढुंगाले मनास्लु पदमार्गमा यात्रा गर्ने पैदल यात्रुलाई दिनहुँ सताउने गरेको छ । भीरबाट खस्ने ढुंगाले गोरखाको उत्तरी क्षेत्रमा बर्खाका बेला साना–ठूला घटना भइरहन्छन् ।

शुक्रबार यारु भीरबाट खसेको ढुंगा लागेर धार्चे गाउँपालिका–७ भीरकुनाका ३३ वर्षीय पुलसिं गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । गुरुङलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारका लागि लगिएकामा शनिबार राति काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

चुमनुव्री गाउँपालिका–३ फिलिममा खच्चडमार्फत उपभोग्य सामग्री ढुवानी गरेर फर्कंदै गर्दा उनलाई ढुंगाले लागेको थियो । उनको टाउको, हात र खुट्टामा चोट लागेको स्थानीय विशाल हिमाली घलेले जानकारी दिए । धार्चे–१ को यारु भीरमा बर्सेनि ढुंगा खस्ने समस्याले पैदल यात्रुलाई सताउने गरेको उनले बताए । यारु खोलाको भेलले बगाएका खच्चड धनी चुमनुव्री गाउँपालिका–३ का माइला गुरुङ डेढ महिनायता बेपत्ता छन् । असार ५ मा यारु भेलमा फसेको खच्चड जोगाउन खोज्दा चिप्लिएर माइला भेलमा बेपत्ता भएका थिए । बर्खा लागेसँगै यारु खोलाको भेलमा खच्चड फस्ने, खच्चड गोठाला र पैदल यात्रु लड्ने, ढुंगा झरेर घाइते हुने समस्या बर्सेनि दोहोरिरहेका छन् । यारुबगर मनास्लु पदमार्गको मुख्य मार्गअन्तर्गत पर्छ । 

यारुबगरमा क्यान्टिलिभर (भीर खोपेर बनाइएको) पुलको पहुँचमार्ग २०७८ असारको बाढीले बगाएको थियो । पुलको एक सय मिटर पहुँचमार्ग बगाएपछि खच्चड ‘ड्राइभर’ र पैदल यात्रुलाई यारु खोलामा हेलिनुपर्ने बाध्यता रहेको खच्चड व्यवसाय गर्दै आएका सूर्य गुरुङले बताए । ‘बर्खाका बेला यारुबगरको कुनामा ढुंगा खस्ने पुरानै समस्या हो, ढुंगा खस्छ भनेर नहिँडेर पनि भएन,’ उनले भने, ‘पुल भएको भए बगरबाट हिँड्नु पर्थेन, बगरबाट हिँडेसी यारु खोला तर्नै पर्‍यो, कुनाबाट हिँडे ढुंगा खस्ने डर, बगरबाट हिँडे खोलाको डर हुन्छ ।’ 

यारुबगर मात्र होइन, मनास्लु पदमार्गमा ढुंगा खस्ने समस्याले पैदल यात्रु आजित छन् । गत वैशाख १४ मा भीरबाट खसेको ढुंगाले लागेर घाइते भएका धार्चे–४ का ३५ वर्षीय जितबहादुर गुरुङको पनि उपचारका क्रममा मृत्यु भएको थियो । धार्चे गाउँपालिका–५ माछाखोलामा ग्याबिन जाली भर्ने क्रममा भीरबाट खसेको ढुंगा टाउकोमा लाग्दा गुरुङ घाइते बनेका थिए । चुमनुव्री गाउँपालिका सडक सञ्जालको पहुँचमा छैन । पैदलमार्गमा पनि कतिखेर पहिरो खस्छ, भर हुँदैन । सोती–माछाखोलामा सडकमा पनि ढुंगा झरेर पदमार्ग अवरुद्ध हुने समस्या रहेको देउरालीका सविन थापाले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully