गोरखा — लिगलिगकोटको ऐतिहासिक र मौलिक संस्कृति जगेर्ना साथै वातावरण संरक्षणको सन्देश दिन पालुङटार नगरपालिकास्थित लिगलिगकोटमा साइकल दौड प्रतियोगिता भएको छ । दोस्रो संस्करणको प्रतियोगितामा ६४ जना साइकल यात्रीले भाग लिएका थिए । ६ विधामा सम्पन्न प्रतियोगिता अन्तर्गत खुल्लातर्फ निर्धारीत ५३ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४८ सेकेण्डमा पार गर्दै एपीएफका सुरज राना पहिलो बने ।
२ घण्टा २५ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गर्दै भारतीय सेनाका प्रकाश थापा मगर दोस्रो बने । प्रतियोगितामा एपीएफका लक्ष्मण मल्ल तेस्रो बनेका छन् । उनले २ घण्टा २५ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । प्रतियोगितामा सहभागी ६४ मध्ये ३६ जनाले खुल्लातर्फ भाग लिएका थिए । त्यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लबकी उषा खनाल पहिलो र मञ्जुकुमारी खड्का दोस्रो तथा सुनसरीकी इन्द्र कला नेम्वाङ तेस्रो बने ।
उनीहरुले क्रमश: २ घण्टा ५५ मिनेट ५८ सेकेण्ड, ३ घण्टा ११ मिनेट १७ सेकेण्ड र ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । महिलातर्फ ६ जना सहभागी बनेका थिए । ३० वर्ष उमेर समूहमाथिको प्रतिस्पर्धामा काठमाडौंका नयन मानान्धर पहिलो, अमेरिकन नागकी जुनथन दोस्रो र काठमाडौंका विकास माहर्जन तेस्रो बनेका छन् । गण्डकी प्रदेश र पालुङटार नगरपालिकाको तर्फबाट सहभागी बनेकाहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगितामा पहिलोदेखि दसौं हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानाले बताए । लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ–हर्मी भञ्ज्याङ–मुकुन डाँडा-आँपपिपल अस्पताल–वनटार–भण्डारथोक–चेपेपुल–गरमबेसी–चेपेघाट दोभान–हवाइग्राउण्ड–तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाँडा–बोहोरागाउँ–बिजुलीडाँडा–खोल्ल हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो ।



