दरौँदीले कटान गरेपछि बारपाक सडक अवरुद्ध
गोरखा — बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । त्यहाँका थप ७ घर उच्च जोखिममा छन् ।
लगातारको वर्षापछि मंगलबार राति सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, लक्ष्मण गुरुङ र थर्पनी गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । बस्ती कटान हुन थालेपछि स्थानीय बासिन्दाले घर छाडेका छन् । सल्लेरीमा २७ घरधुरी छन् ।
सल्लेरीमै लार्के सडकको ट्रयाक खोल्ने सेनाको निर्माण कार्यदलको बेसक्याम्प पनि जोखिममा परेको डीएसपी दाहालले बताए । त्यस्तै दरौंदी नदीले कटान गरेपछि बारपाक जाने सडक अवरुद्ध बनेको छ । बारपाक सडक खण्डअन्तर्गत झरनानजिकैको सडक दरौदीले कटान गरेको हो । झन्डै २० मिटर खण्ड नदीले कटान गरेको प्रहरीले जनाएको छ । ‘अर्को नयाँ ट्रयाक नखोली आउजाउ गर्न मिल्ने अवस्था छैन,’ दाहालले भने ।
