गोरखा — कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरेका दुई जनाको कोरोना रिपोर्ट नआउँदै मृत्यु भएको छ । पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकका एक–एक जनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
पालुङटार नगरपालिका–२ का ६५ वर्षीय एक पुरुषको उपचारको क्रममा शुक्रबार आँप पिपल अस्पतालमा मृत्यु भएको नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।
छिमेकीमा कोरोना देखिएपछि उनको वैशाख २७ गते स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि पठाइएको थियो । ‘आजसम्म रिपोर्ट आएको छैन,’ उनले भने, ‘शव अस्पतालमै छ, हामीले रिपोर्टका लागि पहल गरिरहका छौं ।’
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार दिउँसो १ : ४५ मा अस्पताल पुर्याएकोमा २ बजे चिकित्सकले मृत घोषणा गरेको गिरीले बताए । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेको उनले बताए ।
शहिद लखन गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको भने उपचारको क्रममा टेकु अस्पतालमा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि वैशाख २८ गते पीसीआर परीक्षणका लागि उनले स्वाब दिएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि २९ गते टेकु पुगेका उनको रिपोर्ट नआउँदै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । ‘आधिकारी रिपोर्ट प्राप्त भइसकेको छैन,’ उनले भने ।
