घट्न थाले दरमखोलाका असला

वैशाख १२, २०७८

प्रकाश बराल

बागलुङ — ‘माछा मीठो असला दरमखोलाको...’ चर्चित गायक वसन्त थापाको स्वर, शब्द र संगीत रहेको उक्त गीत धेरैको मुखमै बसेको छ । बागलुङको गलकोट नगरको बीचैबीच बग्ने दरमखोला असला माछाका लागि प्रख्यात छ । तर पछिल्लो समय भने यहाँका असला घटिरहेका छन् ।

गलकोट नगरपालिका–३ का चित्रबहादुर सलामी आफ्नो होटलमा कुनै बेला दरमका असला दैनिक १० किलोसम्म बेच्ने गरेको सम्झन्छन् । अहिले उनी दैनिक मुस्किलले एक–दुई किलो माछाका परिकार बेच्छन् । 

खोलामा पानीको मात्रा सुक्दै गएको छ । खोलामै फोहोर फालिँदा माछा घटेका छन् । भेटिएका असला पनि विदेश लैजानेले धेरै मगाउने गरेको व्यवसायी बताउँछन् । गलकोटकी कौशिला घर्तीले दरमखोलामा पहिलेजस्तो माछा नहुने बताइन् । ‘विदेश र सहरी क्षेत्रबाट आएको अर्डर पूरा गर्न पनि सकिएको छैन,’ उनले भनिन्, ‘होटलका पाहुना घट्न नदिन दुई–चार किलो राखिराख्छु ।’

गलकोट क्षेत्रमा फोहोर व्यवस्थापन अस्तव्यस्त भएकाले पनि दरमखोलामा प्रदूषण बढेको छ । हरिचौर र हटिया बजारबाट उत्पादन हुने फोहोर अहिले यहाँको गौंदी र दरमखोलामा फाल्ने गरिन्छ । होटल व्यवसायी सलामी खोलामा प्रदूषण बढेकैले असला घटेको टिप्पणी गर्छन् ।

दरमखोलाका माछा प्रतिकिलो ९ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । सुकुटी बनाइएको असला किलोको ५ हजार रुपैयाँसम्म बिक्री हुन्छ । बागलुङ बजारका व्यवसायी जीवन काउचा परिवारलाई दरमखोलाकै असलाको स्वाद गढेपछि महँगो भए पनि किनेर खाने गरेको बताउँछन् । महँगो रकम तिरे पनि खाँदाको स्वादले मूल्य बिर्साइदिने उनको अनुभव छ । 

दरमखोलाको असलाको स्वाद बुझेकाले देशबाट मात्र होइन, विदेशबाट समेत असला मगाउँछन् । गलकोट–९ कि मिलन श्रीषले जापानका साथीले पटक–पटक फोन गरेर माछा मगाउने गरेको सुनाइन् । ‘मौका पर्दा पठाउने पनि गरेको छु तर पहिला जस्तो माछा मार्ने युवा नै गाउँमा छैनन्,’ उनले भनिन्, ‘आएका पाहुनालाई जसोतसो खुवाएका छौं । प्याक गरेर पठाउन सकिएको छैन ।’ असलाको स्वादकै कारण छाप्राको होटल भने दशकदेखि चलिरहेको उनले बताइन् । स्थानीय दालभातसँगै रायो साग र दरमखोलाको माछा पकाउने भएकाले श्रीषको होटल राजमार्गमा यात्रा गर्नेको रोजाइमा पर्छ । अझै पनि दैनिक ५ किलोसम्म माछा बेच्न सकेको उनले बताइन् ।

दरमखोलामा अन्य जातका माछा पनि पाइन्छन् । तर धेरैको रोजाइ भने असला नै हो । ढडिया र जाल हालेर यहाँ माछा संकलन गरिन्छ । वर्षातमा माछा मार्नै नसकिने गरी दरमखोला बढ्छ । व्यवसायीले हिउँदमा संकलन गरेको माछा बर्खासम्म पुर्‍याउँदै आएका छन् । गलकोटमा हुने मेला महोत्सवमा माछा छोप्ने प्रतियोगिता नै हुन्छ ।

दरमखोलाको माछालाई विशेष मान्न थालिएको सयौं वर्ष भएको स्थानीय बताउँछन् । गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे बुबाबाजेका पालामा पनि दरमखोलाको माछा भन्ने चलन रहेको सम्झन्छन् । ‘यो ब्रान्डलाई संरक्षण गर्नुपर्छ भनेर नगरपालिकाले नदी र खोला सफा राख्ने अभियान चलाए पनि ल्यान्डफिल साइट बनाउन सकिएन,’ उनले भने । धेरै स्थानमा जग्गा हेरे पनि अहिलेसम्म फोहोर फाल्ने ठाउँ नपाइएकाले खोलामा फाल्ने प्रवृत्ति बढेको उनले स्विकारे । नगरपालिकाकै अगुवाइमा प्लास्टिकजन्य फोहोर भने सदुपयोग गर्ने योजना थालिएको छ । ‘कुहिने फोहोर जैविक बनाउने, प्लास्टिकलाई प्रशोधन गर्ने योजना छ तर जग्गा अभावले काम थाल्न सकिएको छैन,’ गैरेले भने, ‘अलि पर भए पनि जग्गा लिएर काम थाल्न पहल भइरहेको छ ।’ 

फोहोर नफाल्दा दरमखोला प्रदूषणमुक्त हुने र वर्षौंसम्म असला माछाको स्वाद लिन सकिने वडा नम्बर–३ का अध्यक्ष वीरजंग भण्डारीले बताए । ‘अव्यवस्थित बसोबास नियन्त्रण र फोहोर फाल्ने जमिन भेटेपछि मात्रै खोला सफाइ हुन्छ,’ उनले भने, ‘असला हरायो भने गलकोट र दरमखोलाको महत्त्व नै हराउँछ ।’ असला माछा संरक्षण र बिक्रीबाटै गलकोटमा समृद्धि ल्याउन सकिने भण्डारीले बताए । दरमखोलामै विभिन्न जलविद्युत् योजना पनि निर्माणाधीन छन् । आयोजनाले पनि पानीको बहाव कम हुँदा माछाको उत्पादन घटेको हो । हाल यो खोलामा दुईवटा बनेका र दुई आयोजना निर्माणाधीन छन् । 

असला पाइन छाडेपछि स्थानीय युवाले आफैं पोखरी बनाएर कमन कार्प, सिल्भर कार्पलगायत जातिका माछा पाल्न थालेका छन् । पोखरीमा पालेका माछा खोलाको असला जस्तो तिख्खर नहुने गलकोट नगरपालिका–५ का टोपबहादुर खत्री बताउँछन् । उनले १० हजार माछा पाल्ने गरी संरचना बनाएर केही भुरा छाडिसकेको बताए । गलकोट नगरपालिकाभित्र दुई दर्जनभन्दा बढी पोखरीमा माछापालन थालिएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully