गढीको संरचना मासिँदै

पुरानो गढीको संरचना निर्माण गर्न उत्खनन र पुनर्निर्माणका लागि पर्याप्त बजेट छुट्याउन माग

पुस ७, २०७६

चाँदनी कठायत

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा गढीको ऐतिहासिक संरचना मेटिँदै गएको छ । गढीको संरक्षण र संवर्द्धनका लागि तीनै तहका सरकारले कुनै पहल नगर्दा यहाँका संरचना भग्नावशेष बनेका हुन् ।

बाइसे/चौबीसे राज्यकालको उक्त गढी लडाइँका लागि उपयुक्त स्थान मानिने गरिन्थ्यो । शत्रुलाई प्रहार गर्न र आफू बच्न गढीलाई तत्कालीन सेनाले मुख्य स्थल बनाउँथे । उक्त समयमा सेनाले लुकेर तोप हान्नका लागि पर्खालमा प्वाल बनाएका थिए, जुन अहिले पुरिँदै गएका छन् । गढी, सिद्धपाइला, चमेरी गुफा संरक्षण समितिका अध्यक्ष दिलबहादुर खत्रीले सबैले पहल गरेमा यो क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सकिने बताउँछन् । सरकारले पुरानो गढीको संरचना निर्माण गर्न उचित बजेटको व्यवस्था गरी उत्खनन तथा पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ । 


समितिको पहलमा गढी नजिकै बटुक भैरव मन्दिर निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यस वर्ष सिद्धपाइला र गढीको संरक्षणका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । उक्त रकमले भत्किएको बाटो मर्मत र पर्खालको काम गरिने समितिले जनाएको छ । समुद्र सतहदेखि १ हजार ५ सय २२ मिटर उचाइमा रहेको गढीको डाँडाबाट वीरेन्द्रनगर उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । गढी करिब १ बिघा क्षेत्रफलमा फैलिएको छ । 


स्थानीय अगुवा तिलकराम चालिसेले पुरानै संरचनाको गढी निर्माण गर्न आग्रह गरे पनि बेवास्ता भएको जनाए । ‘केन्द्र सरकारले रातो किताबमा पारेको छ भन्छन्,’ उनले भने, ‘उत्खननका लागि निवेदन दिएको लामो समय भइसक्यो, अझै अनुमति पाएको छैन ।’ समितिले केही समयदेखि गढीका भग्नावशेष स्थानीयलाई जथाभावी रुपमा प्रयोग गर्न दिएको छैन । 


गढीको निर्माण कहिले भएको हो भन्ने यकिन समय कहीँकतै भेटिँदैन । तर विसं. १८४८ मा बहादुर शाहको पालामा बयलकाँडा गढी निर्माण गरिएको हुनसक्ने स्थानीयको अनुमान छ । नयाँ सबुज गण कपासे ब्यारेक, सुर्खेतका गणपति झोलेन्द्रविक्रम बस्नेत नेपाल एकीकरणको समयमा दैलेख राज्यमा जित हासिल गर्दा दैलेख र सुर्खेतमा गढी बनाइएको हुनसक्ने अनुमान गर्छन् ।


गढीबारे चिनाउन सो गणले यहाँ ऐतिहासिक बयलकाँडा गढी लेखेको बोर्ड राखेको छ । गणले गढीको सरसफाइ गर्दै आएको छ । गणपति बस्नेतले गढीको बारेमा थप अध्ययन र अनुसन्धान हुनुपर्ने बताए । सरकारले उत्खनन गरेपछि मात्रै ऐतिहासिक प्रमाण फेला पर्नसक्ने संरक्षणकर्ताको भनाइ छ । दैलेखमा रहेको कोतगढीसँगै जोडेर यसको संरक्षण र प्रचारप्रसार गरिनुपर्ने संरक्षणकर्ता तिलकराम चालिसे बताउँछन् । 


ऐतिहासिक गढी, रातानांग्ला, सिद्धपाइला मन्दिर, लादे भ्यू टावर, भोटेगढी र बटुक भैरव मन्दिरजस्ता पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा समस्या भएको उनले जनाए । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले गढीलगायत क्षेत्रका लागि बजेट छुट्याएको र तारबार गरिएको बताइन् । 


गढीमा भ्यू टावर निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन बनाए पनि निर्माणका लागि उचित स्थान पाइएको छैन । गत वर्ष भ्यूटावर निर्माणका लागि वडा कार्यालयले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भ्यू टावर बनाउन करिब एक करोड ४० लाख बजेट लाग्ने अनुमान छ । 


गढीमा पिकनिक मनाउन र वीरेन्द्रनगर बजारको दृश्य नियाल्नका लागि आन्तरिक पर्यटकहरू जाने गरेका छन् । तर, प्रचारप्रसार नहुँदा पर्यटकको संख्यामा वृद्धि हुन नसकेको संरक्षणकर्ताको भनाइ छ । भ्रमण वर्ष–२०२० को सुरुवातसँगै गढीको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अध्यक्ष खत्रीको विश्वास छ । 

चाँदनी

Link copied successfully