सौन्दर्य व्यवसायले महिलालाई रोजगारी

फाल्गुन १२, २०७४

कान्तिपुर संवाददाता

कास्की — बेहुलीको श्रृंगार कसले गर्छ ? सहर बजार हुँदै ग्रामीण बजारसम्म पुगेका सुविधासँगै सजिलो उत्तर ‘ब्युटिपार्लर’ ले भन्ने आयो भने नौलो नमान्दा हुन्छ । किनभने अब महिला मात्रै नभई पुरुष पनि पार्लर जाने चलन बढ्दो छ । 

पोखरामा त अझ ब्युटिपार्लर जानेहरूको बढ्दो संख्यासँगै यो क्षेत्रले धेरैलाई रोजगारी दिएको छ । लागत, जनशक्ति र प्रविधिका हिसाबले यहाँका ब्युटिपार्लरहरू ठूला व्यावसायिक प्रतिष्ठानहरूभन्दा कम छैनन् । विभिन्न जिल्लाबाट पोखरा आइपुगेका महिलाहरूमाझ समय मिलाएर ब्युटिपार्लरसम्बन्धी तालिम लिने र व्यवसायी बन्ने होडबाजी नै चलेको छ । ‘सुरुमा आफन्त, साथीभाइ वा कसैले देख्छ कि भनेर डराई–डराई आउनेहरू अहिले खुलारूपमा साथीभाइ, आफन्त मिलेर पार्लरमा आउने गर्छन्,’ उद्यमी चिनु गुरुङ भन्छिन्, ‘समय परिवर्तन भइसकेको छ विवाह, पार्टी, पूजा वा अन्य कुनै कार्यक्रममा जानुपर्‍यो भने महिलाहरू थ्रेडिङदेखि पूरा मेकअपका लागि पार्लरमा नै धाउँछन् ।’ गुरुङ ब्युटिपार्लरकी यी सञ्चालिका महानगरमा यही व्यवसायबाट दाम र नाम आर्जन गर्नेमध्ये अग्रणीमा पर्छिन् । २२ वर्षदेखि यो व्यवसायमा रहेकी उनको हाल महानगरभित्रै बगर, न्यूरोड, महेन्द्रपुल, भाटभटेनी र पृथ्वीचोकमा गरी पाँच ठाउँमा पार्लर छन् । यिनमा ४८ जनाले रोजगारी पाएका छन् । गुरुङ पार्लर सञ्चालनसँगै यो पेसामा आउन चाहनेलाई तालिम पनि दिन्छिन् । उनीकहाँ प्रत्येक ६ महिनामा १ सय २० जनाले तालिम पूरा गर्छन् । यिनमा अधिकांश व्यावसायिकरूपमा पार्लर सञ्चालक भएर आत्मनिर्भर भएका छन् भने २५ प्रतिशत विदेश गएका छन् । तालिमेले ६ महिनाको कोर्स पूरा गर्न प्रतिव्यक्ति ४५ हजार तिर्छन् ।


‘पार्लर सिक्ने रहर गर्नेहरू पहिला सामान्य लेखपढका हुन्थे भने अहिले धेरैजसो डिग्री पढ्नेहरू छन्,’ उनले भनिन् । यस्तै हङकङ ब्युटिपार्लरकी सञ्चालक मीना गुङ पनि यो क्षेत्रमा आउन चाहने महिलाका लागि काम गरिरहेकी छन् । उनको संस्थामा तालिम लिएका धेरैजसो महिला विदेश गएका छन् । दुई दसकभन्दा लामो समयदेखि यो क्षेत्रमा रहेकी उनले सौन्दयकर्मी उत्पादनका लागि विदेशी संस्थाको समन्वयमा पनि प्रशिक्षक ल्याएर तालिम दिलाउने गरेकी छन् । ‘भन्नेलाई जे लागे पनि पार्लरको काम टेक्निकल काम हो,’ उनी भन्छिन्, ‘ग्राहकको मागअनुसार उसको कपालको डिजाइन बनाइदिनु, फेसियल गरिदिनु, अरू मेकअप गरिदिएर सन्तुष्ट पारेर पैसा लिन हात दक्ष हुनैपर्छ ।’ आफूकहाँ ६ महिनामा ३० जनाले तालिम लिने बताएकी उनले भनिन् ‘६० हजार तिरेर तालिम लिनेले मन लगाएर सिके तिरेको पैसा ठूलो होइन । गरेर खाने सीप जान्दा धेरै कमाउन सक्छन् ।’ अबका पार्लर सञ्चालकका लागि नयाँ प्रविधिमा अभ्यस्त हुन जरुरी रहेको 

उनले बताइन् । 

कान्तिपुर

Link copied successfully