रौतहट २ (२) मा एकिकृत समाजवादीका पटेल विजयी  

मंसिर ८, २०७९

रौतहट — रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) मा एकीकृत समाजवादीका कनिश पटेल निर्वाचित भएका छन् । पटेलले १० हजार ४ सय ४२  मत ल्याई विजयी भएका हुन् । 

एकीकृत समाजवादीका उम्मेदवार पटेलका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर याादव ४ सय ७ मतको अन्तरले पराजित भएका हुन् । रौतहट क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयका अनुसार जसपाका यादवले १० हजार ३३ मत प्राप्त गरे । यादव २०७४ सालको निर्वाचनमा पनि मधेस प्रदेशसभामा निर्वाचित भएका थिए । 

सत्तागठबन्धनका उमेदवार माओवादी केन्द्रका शुरेन्द्रप्रसाद जैसवालले ५ हजार २ सय ४४ मत ल्याएर तेस्रो भए । सत्तागठबन्धनले माओवादीका जैसवाललाई मनोनयन दर्ता गर्न लगाएका थिए । एकीकृत समाजवादीका पटेलले पनि उम्मेदवारी दर्ता गराए पछि गठबन्धन धरापमा परेको थियो । पटेलले आफू गठबन्धनको उमेदवार भएको दाबी गर्दै आएका थिए । 

कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार फिरदोस आलमले पनि माओवादीका जैसवाललाई छाडेर समाजवादीका पटेललाई साथै लिएर मत मागेका थिए । चारवटा क्षेत्रमा रहेको रौतहटमा प्रदेशसभाको ८ वटा सिट मध्ये कांग्रेस दुई, एमाले एक, स्वतन्त्र एक, समाजवादी एक, जसपा एक र माओवादी केन्द्रले एक सिट जितेको छ । क्षेत्र नम्बर ३ (२) प्रदेशसभा सदस्यको मतगणनाको नतिजा आएको छैन । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मात्रिका मरासिनीले नतिजा आउन बाँकी रहेको क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना भइरहेको बताए । 

Link copied successfully