माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण मोड दिए पनि गीतसंगीतमार्फत जनतामा क्रान्तिको जोस फैलाएर सांस्कृतिक सिपाहीका रूपमा चिनिएका ‘जनकलाकार’ भने सडकमै छोडिए
काठमाडौँ — कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैनकसले भन्छ योद्धाहरूको जित हुँदैनएक दुई हार हुन सक्छतर मुटु स्पात बन्छवीरहरूको मुटुभित्र संसार फेर्ने साहस हुन्छ...ठीक १८ वर्षअघि २०६२ असोजमा माओवादीको चर्चित चुनवाङ बैठकमा रुकुम पूर्वका सांसद पूर्ण घर्तीको रचनामा मोहित श्रेष्ठले आफैं संगीत भरेर गाएको यो गीतले निकै चर्चा कमायो ।
माओवादीको त्यही बैठकले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरेपछि सशस्त्र क्रान्ति शान्तिपूर्ण बाटोमा मोडियो । गीतले भनेजस्तै शान्तिपूर्ण ढंगले माओवादी क्रान्ति सफल भयो । पहिलो संविधानसभादेखि हालसम्म माआवादीले शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटो लिएकै बलमा नौ पटक सरकारमा पुगिसकेको छ । सातै प्रदेश र २ सय २० स्थानीय तहका सरकारमा पनि छ तर माओवादी सशस्त्र द्वन्द्वलाई सशक्त बनाउन सांस्कृतिक सेनाका रूपमा चिनिएका ‘जनकलाकार’ हरू भने सडकमै छुटे । उनीहरूका मनसँगै सारङ्गी/गितारका तार पनि चुँडिएजस्तै भयो ।
त्यो चुनवाङको सांस्कृतिक कार्यक्रमले अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन नेताहरू बाबुराम भट्टराई, रामबहादुर थापालगायतका नेतालाई संवेदनशील बनाएको थियो । सांस्कृतिक कार्यक्रम हेर्दाहेर्दै उनीहरूले आँसु थाम्न सकेनन् । त्यसबेला ती कलाकारलाई लागेको थियो, जनवादी गीतसंगीतको तागत बन्दुकमा भन्दा कम थिएन । माओवादीको नारा नै थियो, ‘बन्दुक, कलम र मादलको संयोजनबाट क्रान्ति सफल हुनेछ ।’
युद्धका ठूला मोर्चामा गीतसंगीतबाट ऊर्जा र साहस भर्ने ‘जनवादी कलाकार’ का भूमिका सांस्कृतिक सिपाहीका रूपमा हुन्थ्यो । पार्टीमा मानसम्मान र महत्त्व पनि उत्तिकै थियो । ‘जनयुद्ध’ सुरु गर्नुअघि नै माओवादीले रुकुम, रोल्पाबाट सांस्कृतिक अभियान सुरु गरेको थियो । त्यो अभियानको आधार तयार गर्न सफल मात्र भएन, भावनात्मक रूपमा स्थानीयलाई द्वन्द्वमा सहभागी हुन पनि तयार गरेको थियो । सशस्त्र द्वन्द्व अवधिभर माओवादीका कलाकारहरू एक हातमा बन्दुक र अर्को हातमा गितार, मादल लिएरै हिँडे । मृत्यु हुनेलाई माओवादीले ‘महान् सहिद’ घोषणा गरिसकेको छ । जो द्वन्द्वबाट जोगिएर यहाँसम्म आइपुगे, उनीहरूको अवस्था भने भूपि शेरचनको कविता ‘मरेर सहिद हुनेहरू, जिएर त हेर, जीउन झन् गाह्रो छ’ ले भने जस्तै मोडमा आएको छ ।
द्वन्द्वमा ‘जनवादी कलाकार’ ले गीत गायो कि गाएन ? खायो कि खाएन भनेर ध्यान दिइने गरे पनि हाल भने पार्टी तीनै तहको सरकारमा भए पनि बेवास्तामा परेको उनीहरूको गुनासो छ । सशस्त्र द्वन्द्वताकाका चर्चित गायक मोहितका लागि गीतसंगीत आकाशे खेती जस्तो भएको छ । श्रीमान्/श्रीमती नै युद्धमा होमिएका उनीहरूका लागि अहिले दैनिक गुजारा गर्नुर् ‘युद्ध’ लड्नु जस्तै कठिन भएको बताउँछन् । उनकी श्रीमती काठमाडौंको एक गार्मेन्ट उद्योगमा दैनिक ज्यालादारीमा काम गर्छिन् । मोहितले छिटपुट गीत गाएबापत केही पारिश्रमिक पाउँछन् । ‘साथीभाइको गीत गाइदिएबापत केही पैसा आउँछ, दुई छाक रोटी पाक्ने पक्का भएपछि खुसी छाउँछ,’ उनले सुनाए ।
विगतमा पार्टीमा योगदान गरेकै आधारमा उनले पार्टीबाट अपेक्षा नगरेका होइनन् । नेताहरूबाट आश्वासन पनि आएकै हो तर नियुक्ति हुनेबेला नेता वरिपरिकै व्यक्ति परे । पछिल्लो पटक संगीत नाट्य प्रतिष्ठानमा युद्धमै लडेका माओवादीका वरिष्ठ कलाकार उपेक्षामा परे । नियुक्तिमा उपाध्यक्ष कृष्णबहादुर महराकी छोरी कुशमा महरा (प्रगति) सँगै शान्ति प्रक्रियापछिका नवप्रवेशी माओवादीहरू परे । द्वन्द्वका बेला गीत गाउँदै हिँडेकी कुशमा प्रतिष्ठानकी सदस्य सचिव छिन् । शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका शम्भु राई उपकुलपति, चेतन सापकोटा, टीका पुन परिषद् सदस्य नियुक्त भएका छन् ।
द्वन्द्वको समयमा माओवादीले कार्यकर्ता ‘लाल र निपुण’ हुनुपर्ने भन्दै प्रशिक्षण दिन्थ्यो । अझ लाल (क्रान्तिकारी) लाई बढी महत्त्व दिएको थियो । तर पछिल्ला दिनमा माओवादीले लाललाई छाडिसकेको छ । ‘कमरेड प्रचण्डले पार्टीभित्र गुण लाल र निपुण हुनुपर्छ भन्नुहुन्थ्यो । सशस्त्र द्वन्द्वले धेरै लाल भए, यो व्यवस्थामा निपुण भएनन् । अध्यक्षलाई फूलमाला चढाउने, उहाँको आलोचना नगर्ने, उहाँलाई घेरामा राख्ने निपुण भए’ गायक मोहितले सुनाए, ‘पार्टीभित्रबाटै धेरैले प्रचण्डको बानी बिगारे । आलोचना पचाउन नसक्ने बानी उहाँहरूमा बस्यो । कलाकारका क्षेत्रमा त्यस्तै भित्रिए । उनीहरू भन्दै छन्, जनयुद्धमा त्याग गरेकाहरू के हुन् र ?’
शिखर चुम्ने सपना दैनिक गुजाराको संकटमा आएर टुंगिएको देख्दा दुःख लागेको मोहित बताउँछन् । ‘सपना गुजारामा आएर टुंगियो । चिल बनेर संसार हेर्ने सपना बोकेका हामीहरू कुखुरा भएर माटो खोस्रनुपर्ने अवस्थामा पुग्यौं,’ उनले भने, ‘यो हार्मोनियमलाई समाउँ कि नसमाउँ भनेर धेरै रात अनिँदो बिताएको छु,’ उनले थपे, ‘विदेश गएँ, स्वदेश आएर मजदुरी काम गरें । गीतसंगीतले मात्र गुजारा गर्न गाह्रो छ । मलाई चौकिदार नै भए पनि बनाइदिन धेरै पटक नेताहरूलाई आग्रह गरें । म मजदुरी गर्न तयार छु भन्दा तपाईं ठूलो कलाकारले सानो काम गर्न सुहाउँदैन भनेर टारे ।’
माओवादी उपमहासचिव एवं रोल्पाका सांसद वर्षमान पुनलाई भेटेर आफ्नो गुनासो सुनाउने प्रयास असफल भएको उनले बताए । ‘पछिल्लो पटक अनन्त (वर्षमान) लाई भेटेर आफ्नो गुनासा पोख्ने प्रयास पनि सफल भएन,’ उनले सुनाए । संसार बदल्न गीतसंगीत सिर्जनामा जुटेकाहरूलाई पार्टीले ‘क्रान्तिकारी गीतसंगीतलाई अभिसाप’ बनाएकोमा उनको ठूलो दुखेसो छ । ‘हामीलाई पार्टीले जागिर ख्वाएन भन्दा पनि हाम्रो गौरवशाली इतिहासलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता लाग्छ,’ मोहितले थपे ।
मोहित । तस्बिर : अंगद ढकाल/कान्तिपुर
अर्का गायक झंकार बुढा मगरलाई संगीत नाट्य प्रतिष्ठानमा नियुक्तिका लागि नेताहरूले आश्वासन दिएका थिए । प्रधानमन्त्री दाहालले एक पटक भेटेर नियुक्त गर्ने जानकारी गराए पनि नाम अरूकै आयो । ‘बन्दुक, कलम र मादलको संयोजनबाट क्रान्ति अघि बढेको हो,’ उनले सुनाए, ‘अहिले सत्ता, स्वार्थ, नातावाद र चाकरीवादको संयोजन छ ।’
झंकार
क्रान्तिकारी गीतसंगीतको महत्त्व भुल्दै गएकाले जनवादी कलाकारहरू पाखा पारिएको झंकारको आरोप छ । ‘युद्धमा लागेर पढ्न पाइएन, राजनीतिक योगदानका आधारमा हामीलाई ठाउँ दिएको भए के बिग्रिन्थ्यो ?’ उनले भने, ‘नेताहरूलाई चिया पकाउन राख्देऊ भनेर बिन्ती बिसाइयो । हाम्रो कुरा कसले सुन्ने ? बरु गीत गाउँदा गाउँदै ढलेको भए सहिद त हुन पाइन्थ्यो ।’
हाल माओवादीले तीनमहिने विशेष रूपान्तरण अभियान चलाएको छ । पार्टीभित्र र बाहिर सांस्कृतिक अभियान चलाउनुपर्नेमा नेता/कार्यकर्ता घरघर गएर भैलो खेलेको उनिहरूको बुझाइ छ । ‘पार्टीले यो तीन महिने अभियान भैलो खेलेको हो,’ मोहितले भने, ‘सांस्कृतिक रूपान्तरणको अभियानको अग्रपंक्तिमा लाग्ने कलाकार हो ।’
माओवादी सांस्कृतिक परिवारमा रहेर काम गरेकी कमला घर्ती विगतका गीतसंगीतबाट देखेका सपना मरिसकेको ठान्छिन् । सुन्दर सपना देखेकै कारण माओवादी सांस्कृतिक आन्दोलनमा होमिएकी उनलाई विगत सम्झन पनि मन छैन । उनलाई आफ्नै वर्तमानले विगतलाई जिस्काइरहेझैं लाग्छ रे । युद्धको यात्रा कठिन थियो तर सपनाहरू थिए । तर अहिले यात्रा सहज भए पनि यथार्थ तीतो भएको उनी बताउँछिन् । ‘जुन दिन पार्टीका लागि हाम्रो महत्त्व सकियो, हाम्रा सपनाहरू पनि सकिए,’ उनले भनिन्, ‘युद्धमा गाउन सिकियो, नाच्न सिकियो । कठिन अवस्थामा लड्न सिकियो, बाँच्न पनि सिकियो तर अहिले खुलेर हाँस्न न रुन सक्ने अवस्थामा अधिकांश जनवादी कलाकार छौं ।’
रोल्पा सुनिल स्मृति गाउँपालिकाकी कमलालाई माओवादी सत्तामा गएपछि योगदानका आधारमा केही होला भन्ने लागेको थियो । ‘पार्टी बनाउन हाम्रो पनि योगदान थियो, केही सजिलो होला भन्ने लागेको थियो तर यो गति होला भन्ने सोचेकै थिइनँ,’ उनले पीडा पोखिन्, ‘हुँदाहुँदै आफैंले कुनै बेला बहिष्कार गरेको दोहोरी साँझमा नै गाएर गुजारा गर्नुपर्ला भन्ने लागेको थिएन ।’ उनी हाल दैनिक गुजारा चलाउन हरेक दिन गोंगबु नयाँ बसपार्क नजिक रहेको एक दोहोरीमा गाउँछिन् । ‘हामी नेताका नातेदार होइनौं, नेताको चम्चा पनि बन्न सकिएन,’ उनको गुनासो छ, ‘हामीले यतिबेला पार्टीले फुटेको मादल जस्तो बनाएको छ । तैपनि हामी जीउनका लागि संघर्ष गरिरहेका छौं ।’
युद्धका बेला देश, जनता र पार्टीलाई स्वार्थमा राखेर गीत गाउँदै युद्धमोर्चा, अभियानमा हिँडेको सम्झना बोकेर अमर रोका (विज्ञान) काठमाडौंको एक दोहोरी साँझमा गीत गाउँछन् । उनीसँगै सांस्कृतिक अभियानमा हिँडेकी उनकी श्रीमती कमली रोका एक डिपार्टमेन्टल स्टोरमा सफाइको काम गर्छिन् । श्रीमान्, श्रीमती मिलेर जसोतसो दैनिक खर्चको जोहो गरेका छन् ।
अमर
म्याग्दीको बेनी, रुकुमको खारा, अर्घाखाँचीको सन्धिखर्क आक्रमणमा सहभागी भएका उनका लागि यतिबेलाको जीवनसंघर्ष उस्तै कठिन लागेको छ । ‘सबथोक जनवादी गीतसंगीत हो भन्ने लाग्थ्यो त्यतिबेला’ उनले सम्झिए, ‘फर्केर हेर्दा नरमाइलो लाग्न थालेको छ । युद्धमा लाग्दा पढ्ने उमेर गयो, युवावस्था त्यसै ढल्कियो ।’ उनले पार्टीनै सबथोक हो भनेर २०५९ मा गाउँको घरजग्गा, गाई, बाख्रा पार्टीलाई बुझाएर युद्धमा लागेको बताए । ‘कसैका लागि पार्टी सबथोक भइदियो, हाम्रा लागि एउटा नमिठो सम्झना मात्र भयो,’ उनले भने, ‘अहिले दैनिक गुजाराका लागि मन नलागे पनि दोहोरी गाउन परेको छ । अजम्बरी भनिएको जनवादी गीतसंगीत मर्दै गएको छ ।’
पहिलो संविधानसभामा सबभन्दा ठूलो पार्टी बनेपछि माओवादीमा प्रवेश गर्नेहरूको हुल बढ्यो । त्यही हुलमा केही कलाकार पनि प्रवेश गरे । हाल माओवादीमा कि तिनै कलाकारको हालीमुहाली छ, कि नेताका नजिकका मान्छेहरूको । अमर २०६७ मा कामको खोजीमा तीन वर्ष कतार गए । त्यहाँ पनि आर्थिक रूपमा उनलाई राम्रो भएन । फर्केपछि एक वर्ष पोखराको सराङकोटमा सुरक्षा गार्डको काम पनि गरे । ‘आफूले सिकेकै गीत गाउन हो । अनि काठमाडौं फर्केर दोहोरीमा छिरें,’ उनले भने । युद्धमा समाजवाद, साम्यवादको सपना देख्दै लडेको सम्झँदै उनले भने, ‘समाजवाद, साम्यवाद नेताहरू, उनीहरूका आफन्त र वरिपरि घुम्नेका लागि रहेछ ।’ उनले सर्वसाधारणले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार पाएकोमा गर्व लागेको बताए ।
सशस्त्र युद्धका बेला नेपाल, भारतमा सांस्कृतिक मोर्चाका सहयात्री विष्णु रानाभाटको अवस्था पनि फरक छैन । अर्घाखाँची भूमिकास्थनका स्थायी बासिन्दा उनी पनि काठमाडौंका सडकमा दैनिक ज्यालादारीमा बाँसुरी बजाएर खर्च जुटाइरहेका छन् । ‘कहिले स्टुडियोको लाइभ दोहोरी, कहिले लाइभ सांस्कृतिक कार्यक्रमा बाँसुरी बजाएर खर्च जुटाएको छु,’ उनले भने, ‘माओवादी कलाकारको आर्थिक, मानसिक रूपमा कमजोर अवस्था छ ।’ राज्यद्वारा मारिएका कृष्णसेन इच्छुक प्रतिष्ठानका पूर्वअध्यक्ष हिरामणि दुःखीले माओवादीले संसदीय धार लिएपछि जनसंगीतलाई कम महत्त्व दिन थालेकाले कलाकारहरू तितरबितर भएको टिप्पणी गर्छन् । ‘पार्टी विभाजन नहुँदै प्रतिष्ठानबाट जनकलाकारलाई समेटेर अघि बढ्ने तयारी थियो,’ उनले भने, ‘माओवादी पटक–पटक सरकारमा गयो तर उसले लिएको संसदीय बाटोमा जनकलाकार आवश्यकतामा परेनन् । किनकि नेताहरू ‘अरेली काँडैले’ भन्ने गीतमा नाच्न थालिसकेका छन् ।’
माओवादी केन्द्रीय सदस्य एवं लेखक, कवि, कलाकारको जनसांस्कृतिक महासंघका इञ्चार्ज ईश्वरचन्द्र ज्ञवालीले ‘जनवादी कलाकार’ लाई संगठित गर्ने तयारी भएको बताए । ‘साथीहरूका युद्धमा हामीले दुःख गर्ने, अहिले केही नपाउने भन्ने धेरै गुनासा छन्,’ उनले भने, ‘कलाकारलाई संगठित गरेर योजना बनाउने तयारी छ ।’ काठमाडौंको सतुंगलमा साँघुरो कोठामा अन्तर्वार्ता सक्नै लाग्दा गायक मोहित श्रेष्ठले आँखाभरि आँसु पार्दै गुनगुनाए ।
रुन्न भन्थे जिन्दगीमा तर आज रुनुपर्यो
मनको फूल नफक्रिँदै खडेरीले ओइली झर्यो ।
