को हुन् तब्लिगी जमात ? 

वैशाख ७, २०७७

काठमाडौँ — सुरु गरौं पाकिस्तानी शायर सैयद सल्मान गिलानीको एक चर्चित कथनबाट । पाकिस्तानमा एउटा तब्लिगी जमाती चिल्ला (यात्रा) पूरा गरेर घर फर्केपछि पत्नीलाई पिट्दै गरेको अर्को एक व्यक्तिले देखेछ र भनेछ, ‘मुर्ख, भर्खर धार्मिक यात्रा गरेर आएका छौ, श्रीमतीलाई पिट्दैछौ ? यही सिक्यौ जमातमा ?’ झन् चिढिँदै उसले भनेछ, ‘यसले दाह्री राख्दिन ।’ 

अवाक् भएर त्यो व्यक्तिले भनेछ, ‘बेवकुफ ! महिलाको दाह्री कहाँ हुन्छ ?’ 

श्रीमानले भनेछ, ‘हो त्यो त थाहा छ महिलाको दाह्री हुँदैन । तर, इरादा त गरोस्, इरादा गर्न के ले छेकेको छ र ?’

यसबाट के थाहा हुन्छ भने तब्लिगी जमातमा हिँड्नेहरु इरादामा बढी विश्वास गर्छन् । अर्थात् उनीहरुको सोच हुन्छ– जो कोहीले जुनसुकै उद्देश्यका लागि इरादा गरोस् । मूलतः इरादाले उपलब्धि हात लाग्छ भन्ने शतप्रतिशत विश्वास हुन्छ जमातीमा । त्यसैले नयाँ व्यक्ति भेट्न बित्तिकै उनीहरुको प्रस्ताव हुन्छ– अल्लाहका लागि यात्राको इरादा गर । 

तब्लिगी जमातको इतिहास 

तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो । सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समूह । यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ । तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास । उनी भारतीय नागरिक हुन् । तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो । उक्त सम्मेलनमा २५ हजार मुसलमान सहभागी थिए । सन् १९४० को दशकसम्म तब्लिगी जमातको समूह भारतमा मात्र सीमित थियो । 

पहिलो सम्मेलनपछि यसको विस्तार सुरु भएको देखिन्छ । भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुँदै यो समूह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो । अहिले विश्वका करिब १५० देशमा यो समूह छ । तब्लिगी जमात विश्वमै ठूलो संस्था (समूह) का रुपमा परिचित छ । नेपालमा पनि यो समूह करिब ६० को दशकदेखि सक्रिय छ । यो विशुद्ध आस्थावानहरुको समूह हो । इस्लाम भित्रकै एउटा समूह हो जो इस्लामका तौर–तरिकालाई स्थापित गर्न र समाजलाई गलत बाटोमा जान नदिन तल्लिन छ ।तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा । दक्षिण एसियाली मुलुकसहित विश्वका विभिन्न विकसित र विकासोन्मुख देशहरुमा पनि यस्तो सम्मेलन वर्षमा धेरैपटक आयोजना हुन्छन् । यसपटक नेपालको सप्तरी, बोदेबर्साइन गाउँपालिकाकाको जाँजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता । उक्त सम्मेलनमा पाकिस्तान, मलेसिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए । नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए । यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ । 

उद्देश्य के हो ? 

तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरुबीच इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जीवन गर्नु हो । जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौरतरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ । उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवनयापन गरुन् । इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन्, गलत बाटो नअपनाउन् । त्यसका लागि उनीहरु उपदेश दिन्छन् । गलत बाटोमा हिँडेको छ भने उसलाई प्रेमपूर्वक धार्मिक लइनमा ल्याउन भरमगदुर कोसिस गर्छन् । 

तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन् । त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समूह हुन्छ । उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक वर्षको यात्रा तय गर्छन् । तोकिएका दिन पूरा गर्नुलाई 'चिल्ला' पूरा गर्नु भनिन्छ । त्यस्तो यात्रामा सबै खर्च स्वयंले बेहोर्छन् । कतिपयले खाना पकाउने भाँडाकुडादेखि ग्यास चुलो, ओढ्ने ओछ्याउनेसमेत आ-आफ्ना देशबाटै बोक्छन् । यात्राअवधिभर उनीहरुको बसाई मस्जिदभित्रै हुन्छ । 

मस्जिदमै बस्नुको एउटा अर्थ के हो भने आफ्ना कारण गाउँ वा मस्जिद वरिपरिका व्यक्तिहरुलाई दुःख नहोस् । मस्जिदमा पानी, शौचालय र कतिपय स्थानमा भान्सासमेत उपलब्ध हुने भएकाले पनि उनीहरुलाई त्यहीं बस्न सहज हुन्छ । अर्को, उनीहरुले यात्रा सुरु गरेपछि समाजमा भइरहेका गतिविधि (राजनीति, मनोरन्जन, झैझगडालगायत) लाई चटक्कै भुलेर विशुद्ध इस्लामिक चर्यामा समय व्यतित गर्ने कसम खाएका हुन्छन् । 

तोकिएको दिन पूरा नहुन्जेलसम्म उनीहरुको बाहिरी दुनियाँसँग कुनै मतलब र सम्बन्ध हुँदैन । खानेकुरा किन्न, औषधोपचार र इस्लामिक उपदेश सुन्नका लागि घरघरमा बोलावट (दावत) का लागि मात्र मस्जिदबाट बाहिरिन्छन् । 

यो पंक्तिकारले पनि बाल्यकालमा जन्मस्थल गोरखामा तब्लिगी जमातका धेरै उपदेश सुन्ने अवसर पाएको थियो । मिठा परिकार बनाएर खुवाउने भएकाले बच्चाहरु उनीहरुप्रति आकर्षित हुन्थे । याद भएसम्म त्यस्ता तब्लिगीमा धेरैजसो पाकिस्तानी र भारतीय कम हुन्थे । 

कहाँबाट आउँछन् ? 

जानकारहरुका अनुसार नेपालमा धेरैजसो तब्लिगी जमात पाकिस्तानबाट आउँछन् । पाकिस्तानमा तब्लिगी जमातप्रति आस्था राख्नेहरुको समूह ठूलो छ । त्यहाँबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिँड्ने प्रचलन छ । विभिन्न पेशाकर्मी र सरकारी कर्मचारीलेसमेत विदा लिएर यात्रा तय गरेका हुन्छन् । पाकिस्तानबाहेक भारत, बंगलादेश, इण्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउँछन् । नेपालका मुसलमानहरु पनि भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा तब्लिगमा जाने गरेको देखिन्छ । 

निर्धारित यात्रा अवधिभर कुनै निश्चित मस्जिदमा मात्र उनीहरुको बसोबास हुँदैन । सकेसम्म धेरैवटा मस्जिदमा गएर इस्लामिक उपदेश छर्ने ध्येय हुन्छ । समाजका अरु व्यक्तिहरुलाई पनि आफूजस्तै यात्रामा सामेल हुन अभिप्रेरित गराउने उनीहरुको अर्को उद्देश्य हुन्छ । नेपालका तराइदेखि मध्यपहाड हुँदै हिमाली जिल्लामासमेत तब्लिगी जमात पुग्ने गरेको देखिन्छ । कुन् ठाउँमा जाने र कहाँ नजाने भन्ने कुनै लिखित व्यवस्था छैन । मुसलमानहरुको एकाध घर भएका बस्तीमा पनि उनीहरु पुग्ने गरेका छन् । मुसलमानको स्थायी आवादी नभए पनि केही व्यापारीमात्र रहेको रसुवाको धुन्चेमा केही समयअघि पाकिस्तानी तब्लिगी जमात पुगेको देखिएको थियो । 

धेरैभन्दा धेरै मान्छेले उपदेश सुनुन् भन्नेमात्र होइन, धेरैले तब्लिग यात्राका लागि समय निकालोस् भन्ने पनि तब्लिगी जमातहरुको आकांक्षा हुन्छ । त्यसका लागि कुनै ठाउँको मस्जिद वा बस्तीमा एकपटक गरिएको दावत (आह्वान वा निमन्त्रणा) पर्याप्त नहुने भएकाले तब्लिगी जमातको यात्रा निरन्तर चलिरहन्छ । निश्चित विषयवस्तुमा मात्र एकोहोरो केन्द्रित भइराख्ने भएकाले तब्लिगीहरुले कतिपय देशमा ‘धार्मिक भेडा’को संज्ञा पनि पाएका छन् । 

Link copied successfully