कैलालीदेखि के-पपसम्म: सोलको स्टेजमा हाराको डेब्यु

नेपाली मौलिक गीत संगीत सुन्ने अभ्यासले आफ्नोपन महसुस गराउने हारा नामले प्रसिद्ध सूचना बोहराको अनुभव छ ।

चैत्र २७, २०८२

स्कन्द स्वाँर

From Kailali to K-pop: Hara's debut on the Seoul stage

What you should know

काठमाडौँ — हारा नामले प्रसिद्ध सूचना बोहरा के–पप समूह (एमईपीसी)मा डेब्यु गर्ने पहिलो नेपाली हुन् । नेपाली संगीत क्षेत्रमा यो एउटा ठूलो कोशेढुंगा हो । 

हाराले आफ्नो बाल्यकाल जन्मभूमि कैलालीमा बिताइन् । उनी कालान्तरमा उच्च शिक्षाका लागि काठमाडौं आइन् । यसबीच आफ्नो स्कुले जीवनमा छोटो समय उनले दार्जिलिङमा पनि बिताएकी थिइन् ।

संगीत करियर सुरु गर्न दार्जिलिङ बसाई निकै महत्त्वपूर्ण रह्यो । ‘हाम्रा शिक्षकहरूले पियायो बजाएर हामीलाई गाउन सिकाउनुहुन्थ्यो,’ उनले स्मरण गरिन्, ‘त्यस क्षणले मलाई संगीतमा लाग्न प्रेरित गर्‍यो ।’

के–पपमा लाग्नुअघि उनीसँग हिपहप डान्सको अनुभव थियो । यसले संगीतको लय समात्न महत्त्वपूर्ण भूमिका खेल्यो ।

अडिसन दिँदाको समय ललितपुरको पुलचोक क्याम्पसमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन र इन्फर्मेसन इन्जिनियरिङमा स्नातक गर्दै थिइन् । 

त्यही समयमा, उनले एउटा के–पप गीत सुनिन्, जसले उनको जीवनलाई पूर्ण रूपमा बदल्नेवाला थियो । ‘जब मैले ब्ल्याकपिंकको ‘पिंक भेनम’ सुनेँ, म गीतको ताल र प्रवाहप्रति साँच्चै आकर्षित भएँ,’ उनी भन्छिन् ,‘त्यसले मलाई अडिसन दिन प्रेरित गर्‍यो ।’ 

त्यसपछि प्रशिक्षण कार्यक्रम र छनोटहरू र अनलाइन अन्तिम मतदान भएको उनले बताइन् । मार्च २०२४ सम्ममा, सबै छनोट गरिएका सदस्यहरू दक्षिण कोरिया पुगेर प्रशिक्षणमा जुटिसकेका थिए ।

From Kailali to K-pop: Hara's debut on the Seoul stage

हारा सदस्य रहेको एमईपीसी जीविके इन्टरटेनमेन्टअन्तर्गत स्थापित युवतीहरूको बहुराष्ट्रिय संगीत समूह हो । एमईपीसीके भनेके स्टाइलिस लुगा लगाउनु, राम्रो र आकर्षक हुनु हो । यो नाम माई स्केप पोइन्ट सीको संक्षिप्त रूप पनि हो ।  

अन्ततः, डिसेम्बर ८, २०२५ मा, एमईपीसीकेको पहिलो एल्बम, ‘फर्स्ट फ्र्याग्मेन्ट’ रिलिज भयो । यो निकै ठूलो प्रतिष्ठाको विषय थियो । 

तर, दक्षिण कोरियाको जीवनमा घुलमिल हुनु सजिलो थिएन । ‘खानाको स्वाद धेरै फरक थियो, र भाषा सबैभन्दा ठूलो चुनौती थियो,’ हारा भन्छिन्, ‘तर, सोलको मौसम र हावापानीले मलाई काठमाडौंको धेरै सम्झना गरायो ।’

नेपाली पहिचानका कारण पनि आफू अरूभन्दा पृथक् देखिएको उनले बताइन् । आफ्नो अभिव्यक्तिमै नेपालको प्रतिनिधित्व उनको उनको बुझाई छ । ‘नेपाली संगीतको आफ्नै विशिष्ट पहिचान र ध्वनि छ । दुई फरक शैलीको संगीत अभिव्यक्ति अनुभव गर्न र अन्वेषण गर्न पाएकोमा म साँच्चै खुसी छु ।’

नेपाली मौलिक गीत संगीत सुन्ने अभ्यासले आफ्नोपन महसुस गराउने उनको बुझाई छ । 

आफ्नो सुरुवातदेखि नै हारा र उनको समूह एमईपीसीले कोरियाली संगीत क्षेत्रमा निरन्तर छाप छोडेका छन् । कोरियाका सांगीतिक मञ्चहरूमा देखिन पाउनु गर्वको विषय रहेको उनले बताइन् ।

From Kailali to K-pop: Hara's debut on the Seoul stage

‘कोरियामा संगीत कार्यक्रमहरूमा नेपालको प्रतिनिधिको रूपमा के–पपको  प्रस्तुति दिन पाउनु मेरो लागि  गर्वको विषय हो,’ उनले भनिन्, ‘एमईपीसी मेरो प्राथमिकता हो । म आफ्नो समूह र हाम्रा उद्देश्यहरूप्रति पूर्ण रूपमा समर्पित छु ।’ भर्खरै एमईपीसीलाई चेओनानमा आधारित दक्षिण कोरियाली फुटबल क्लब, चेओनान सिटी एफसीको ब्रान्ड एम्बासडर बनाएको छ । 

‘एक कलाकारको रूपमा हामीले एकअर्काको संस्कृतिलाई सम्मान गर्नुपर्छ र यसबाट सिक्नुपर्छ भन्ने महसुस हुन्छ । किनकि हामी सबै मानिस समान छौँ,’ उनले भनिन् । अन्तर्राष्ट्रिय मञ्चमा जाने सपना देखेका युवा नेपाली संगीतिज्ञहरुलाई आफ्नो धरातलमै उभिन र आत्मविश्वासी रहन उनी सुझाव दिन्छन् ।

‘धेरैका कुरा सुन्नुभयो भने आफ्नो दिशा भुल्न सक्नुहुन्छ । तसर्थ आफैँलाई विश्वास गर्नुस् र आफ्नो तर्फबाट उत्कृष्ट दिनुस् । जब कुनै कम्पनीले तपाईँको सम्भावनालाई पहिचान गर्छ, तब त्यसलाई उजागर गर्ने अवसर दिन्छ ।’

दार्जिलिङको कक्षाकोठामा शिक्षकले बजाएको पियानो सुन्नेदेखि, कोरियाली संगीत क्षेत्र र टिभी शोहरुमा आउनेसम्म, हाराको मिहिनेत र इच्छाशक्ति नै उनको करियरको बाटो कोरेको छ । 

उनले भूगोल मात्रै होइन, सांस्कृतिक सीमा समेत तोडेर आफूलाई त्यस्तो विश्वव्यापी उद्योगमा फैलाएकी छिन्, जहाँ पुग्नु केही समय अघिसम्म नेपालीहरूका लागि सपना मानिन्थ्यो । 

स्कन्द स्वाँर काठमाडौं पोस्टकी संवाददाता हुन् ।

Link copied successfully