धान चुट्दाचुट्दै गोली लागेर मान्छे ढलेको देखेको छु : नाजिर

नयाँ पुस्तालाई त्यति बेलाको द्वन्द्वको परिस्थिति थाहा दिन नाटक निर्माण गरेको नाजिर बताउँछन् ।

कार्तिक २९, २०८२

रामप्रसाद चौहान 

I have seen people fall down after being shot while chopping rice: Nazir

What you should know

बर्दिया — कलाकार नाजिर हुसेन यतिबेला बर्दियामा छन् । नाटक 'हरि हजुरबा'का लागि कलाकार टोलीसहित आएका नाजिरले नाटक निर्माणका कथा सुनाए । 

द्वन्द्वको बेला भोगेको पीडा ‘हरि हजुरबा’ मा व्यक्त गरिएको उनले बताएका छन् । उनी यस नाटकका लेखक, परिकल्पनाकार एवं निर्देशक हुन् । ‘नाटकमा माओवादीलाई ‘जंगल’ र सेनालाई ‘चोक’को संज्ञा दिइएको छ,’ नाजिरले भने, ‘त्यो बेला दुवै पक्ष आ–आफ्नो ठाउँमा ठिक थिए होला, नाटकलाई एकमुखी नबनाएर, कसैलाई आक्षेप नलागाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।’

०६२/०६३ सालमा नाजिरकी कान्छी दिदी प्रहरीमा थिइन्, आमा महिला स्वयंसेविका । एक दिन कामबाट फर्किन ढिला हुँदा खोज्न जाँदा आमालाई हातहतियार देखाएर सोधपुछ गरेको दृश्य उनले देखे । '१२ वर्षको उमेरमा गाउँ नजिक आँखाअगाडि खेत खलियानमा धान चुट्दाचुट्दै गोली लागेर मान्छे ढलेको पनि देखेको छु,' उनले सुनाए, ‘त्यति बेलाको घाउ कोट्याउन सजिलो छैन ।तर, अहिलेको नयाँ पुस्तालाई त्यति बेलाको परिस्थिति थाहा पाउनुपर्छ भने नाटकको माध्यमबाट बताएका हौं ।’

माटोबाट सुरु भयो जीवन

माटोमै सकिन्छ

गुँडमा कुर्छ बचेराले माउलाई

मान्छेले कुर्नु त एकमुठी सास नै त रहेछ

पहिला लेखेको चारलाइने कवितालाई पूर्णता दिँदै 'हरि हजुरबा' नाटक लेखेको नाजिरले बताए ।

नाटकमा द्वन्द्वकालका बेला बलजफ्ती बेपत्ता परिएका परिवारको कथा छ । नाजिर ‘हरि’ र विजय बराल ‘हजुरबा’को पात्रमा छन् । 

काठमाडौंबाहिरका दर्शकसँग साक्षात्कार हुन पाउँदा खुसी लाग्ने गरेको कलाकार विजयले बताए । ‘दर्शकलाई नजिकबाट हेर्ने हाम्रो पनि चाहना हुन्छ,’ उनले भने, ‘फिल्म सुटिङको व्यस्तताका बाबजुद पनि नाटक प्रस्तुतका क्रममा दर्शकहरुसँग प्रत्यक्ष भेट्दा छुट्टै खुसीको अनुभूति मिलेको छ ।’

द्वन्द्वपीडित समिति बर्दियाको समन्वय र मण्डला थिएटरको नेपालको प्रस्तुतिमा शुक्रबार साँझ गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा हरि हजुरबाट नाटक प्रदर्शन भयो । शनिबार साँझ ६ बजे राजापुर मानपुर टपरामा पनि प्रदर्शन हुँदै छ । नाटकमा विजय, नाजिरसँगै सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राजा पाण्डे र रिसु राउतको अभिनय छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully