ध्वस्त भएकाबाहेक हल भने भोलिदेखि सञ्चालनमा आउने
काठमाडौं — जेन-जी आन्दोलनका क्रममा भएको विध्वंसले नेपालभर रहेका हलमा करिब १७ करोडको क्षति पुर्याएको छ । हलको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार भाटभटेनीलगायतका मलमा भएका हलदेखि बक्स अफिसको संरचनामा लागेको आगोले १७ करोडको क्षति पुर्याएको हो ।
‘अनुमानित अहिले १७ करोडजति क्षति पुगेको छ,’महर्जनले बताए । उनका अनुसार विराटनगरमा भएको भाटभटेनीमा रहेको क्यूएफएक्सको २ पर्दा(स्किन), ल्होत्से मलमा अवस्थित आइएनआईको २ पर्दालाई आगोको धुँवाले असर पुर्याएको छ । विराटनगरमा भएको भाटभटेनी जल्दा त्यहाँ रहेको क्यूएफएक्स हल पूर्ण रूपले नष्ट भएको छ ।
‘विराटनगरको भाटभटेनीमा रहेको हल खरानी भयो । त्यहाँबाट निकाल्न मिल्ने केही छैन, सबै ध्वस्त भयो । सिटदेखि प्रोजेक्टर सबै ध्वस्त भयो,’संघका महासचिव सुरेन्द्र थापाले जनाए । लोत्से मलमा रहेको आइएनआईको बक्स अफिस पूरै जलेको छ । ‘बक्स अफिसको संचरना, टिकट बेच्ने मसिनदेखि कम्प्युटर पूरै नस्ट भयो,’महासचिव सुरेन्द्रले भने,’धुँवाको खारले छैटौं तल्लामा रहेको हललाई असर गरेको छ ।‘
भक्तपुरमा अवस्थित भाटभटेनीमा रहेको क्यूएफएक्सको बक्स अफिसमा पनि क्षति पुगेको छ । सिंगल थिएटर अष्टनारायणको बाहिर पनि क्षति पुगेको थापाले जनाए । उनका अनुसार अष्टनारायण हलको बाहिरको सिसादेखि तोडफोड गरिएको छ । बुटवलमा भएको भाटभटेनीमा रहेको क्यूएफएक्सको हलको बक्स अफिस पनि भत्काइएको छ ।
महासचिव थापा ध्वस्त भएकाबाहेक हल भने भोलिदेखि सञ्चालनमा आउने बताउँछन् । ‘सबैभन्दा धेरै असर विराटनगरमा भएको हलमा पुगेको छ । अब प्राय सबै हलको बिमा गरिएको छ । क्षति पुगेको हलले बिमामा दाबी गर्न सक्नेछन्,’महासचिव थापाले भने,’अरु हलहरू सरसफाइ गरेर भोलिदेखि सञ्चालनमा आउँदैछ । बक्स अफिस ध्वस्त भएकाहरुले पनि अनलाइन टिकटिकङमार्फत हल संचालनमा ल्याउँदैछन् ।‘
