काठमाडौं- गत २३ भदौमा भएको जेन–जी समूहको आन्दोलन र त्यसपछि जारी कर्फ्यूका कारण विभिन्न क्षेत्रहरूसँगै फिल्म क्षेत्र पनि प्रभावित बनेको छ । यतिबेला फ्लोरमा गइरहेका फिल्महरू पनि रोकिएका छन् ।
गत भदौ १३ गते घोषणा गरिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’को काठमाडौं आसपास सुटिङ भइरहेको थियो । अहिले फिल्मको छायांकन रोकिएको छ ।
‘केही दिन रोकिँदा लगानी पनि केही बढ्ने स्थिति छ । अब यो साताबाट फिल्म पुनः फ्लोरमा जानेछ,’ फिल्मका मिडिया संयोजक जीवन पराजुलीले भने । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘क्याप्टेन साब’ छायांकनको अन्तिम चरणतिर थियो ।
तर आन्दोलनका कारण बाँकी सुटिङ केही प्रभावित भएको छ । ‘केही समय रोकिएको हो । अब छिट्टै सुरु हुन्छ,’ फिल्मका अभिनेता खगेन्द्र लामिछानेले भने । पछिल्लो समय सविर श्रेष्ठको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘३६ को आँकडा’ पनि आन्दोलनकै कारण स्थगित भयो । ‘अब बाँकी सुटिङ कहिलेबाट गर्ने भनेर आज डिसिजन हुन्छ,’ फिल्मकी अभिनेत्री पूजा शर्माले भनिनन् ।
मरिचमान श्रेष्ठ (बल्छी धूर्वे) निर्देशित फिल्म ‘गोबर गणेश’ पनि रोकिएको छ । ‘केही समयका लागि रोकिएको छ । अब कहिलेबाट सुरु गर्ने भनेर चांडै निर्णय आउंछ होला,’ फिल्मकी अभिनेत्री वर्षा शिवाकोटी भन्छिन् ।
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’, लक्ष्मण रिजाल निर्देशित ‘काजी’, अर्जुन घिमिरे निर्देशित ‘झरी पछिको इन्द्रेणी’, रामकृष्ण ढकालको ‘मालती मंगले’ लगायतका फिल्मका सुटिङ पनि प्रभावित बनेका छन् ।
