आज हलमा चल्नुपर्ने ‘अभिमन्यू’, कहिले प्रदर्शनमा आउला ? 

भाद्र २७, २०८२

काठमाडौं — आज भदौ २७, अर्थात फिल्म ‘अभिमन्यू’ प्रदर्शन हुने दिन । अवस्था सामान्य हुँदो हो त कामेश्वर चौरसिया अभिनित फिल्म ‘अभिमन्यू: च्याप्टर वान’ आजकै दिन(शुक्रबार)देखि प्रदर्शनमा आइसक्थ्यो । तर, जेनजी आन्दोलन र बढ्दो राजनैतिक घट्नाक्रमका कारण यो फिल्मको प्रदर्शन स्थगन भएको छ । अब फिल्म कहिले प्रदर्शनमा आउला ? टुंगो छैन । 

फिल्मका मुख्य कलाकार कामश्वर भने यतिखेर चिन्तामा देखिन्छन् । एक त देशमा आएको उथलपुथल, अर्को आफ्नै अभिनय करिअरको उतारचढाव  ! यसअघि कामेश्वरको ‘रेशम फिलिली’ चल्दा भुकम्प आयो । कोरोना हामारीबीच कामेश्वरकै ‘गरुड पुराण’ पर्‍यो । ‘अभिमन्यू’ प्रदर्शनको अन्तिम तयारीबीच सामाजिक सञ्जाल प्रतिबन्ध भइदियो । धुमधामले प्रचार सुरु गरिसकेको अभिमन्यू टोलीमा तोकिएको मितिमै फिल्म प्रदर्शन गर्ने जोश बाँकी थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबीच पनि प्रचारका अनेकन उपाय अपनाउँदै फिल्म प्रदर्शन २ दिनअघि जेन-जीको आन्दोलन भयो । आन्दोलनको स्वरुप बदल्दै जाँदा, निर्माण टिमले फिल्मको प्रदर्शन नै स्थगन गर्नुपर्‍यो । 





धेरै आस गरिएको फिल्मकै प्रदर्शन टुंगो नहुँदा कामेश्वर तनावमा छन् । ‘सबै मेरै पालामा हुँदो रहेछ । भुकम्प आउँदा रेशम फिलिली । त्यसपछि कोभिडमा गरुड पुराण । अनि अहिले अभिमन्यू । प्रदर्शन गर्नुपर्ने समयमा आएर फिल्म नै स्थगन गरेर बस्नुपर्दा कस्तो असर पर्‍यो होला हामीलाई,’कामेश्वरले सुनाए । कामेश्वरका अनुसार निर्माण टोलीले यसबीच फिल्मको ट्रेलर सार्वजनिक गर्‍यो । ट्रेलरले दर्शकबीच सकरात्मक प्रतिक्रिया बटुल्यो । ‘लड्की गोरी’ शीर्षकको गीत निकाल्यो, गीत पनि उतिकै रुचाइयो । कामेश्वरसहित निर्माण टोली फिल्म प्रचारका लागि इटहरी, बिराटनगर, वीरगंजलगायतका मुख्य शहर पुगेर काठमाडौं फर्कँदा सामाजिक सञ्जाल बन्दको खबरले उनीहरुलाई स्वागत गर्‍यो । यसबीच फिल्मको प्रचारमा समय खर्चिसकेको हुँदा सामाजिक सञ्जाल प्रतिबन्दबीच पनि ‘अभिमन्यू’लाई हलमा लगाउने अन्तिम तयारी चलिरहेकै थियो । जेन-जी आन्दोलन र यसले सिर्जना गरेका घट्नाक्रमको आकलन गर्दै प्रदर्शन स्थगन गरिएको यो फिल्म कहिले प्रदर्शनमा आउने हो ? अन्योलमा छन्, निर्माता विनोद पौडेल । 





‘पुर्णबहादुरको सारङ्गी’को निर्मातासमेत रहेका विनोदका अनुसार १ करोड बजेटमा निर्माण भएको यो फिल्म तोकिएकै समयमा प्रदर्शनमा आउन नपाउँदा प्रचारमा खर्चिएको २५ लाख लगानी खेर गएको छ । ‘धेरै लगानी त खर्च भइसकेको छैन । तर, होर्डिङ बोर्ड, ब्यानर, सामाजिक सञ्जालको प्लेटफर्ममा प्रचारका लागि गरिएको खर्च हेर्दा २५ लाख जति खर्च भइसकेको थियो,’निर्माता पौडेलले भने,’सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई त सहेरै अगाडि बढ्यौं । तर, देश नै बन्द भएको अवस्थामा समस्यामा पर्‍यो । तर देश यस्तो दुर्घट्नामा जाँदा यो समस्या सानै हो ।‘



निर्माता पौडेलको अहिलेको समय नियाल्दा तिहारअघि कुनै नेपाली फिल्मको सहज प्रदर्शन देख्दैनन् । ‘देशले पहिला निकास पाओस् । दशैं, तिहारसम्म केही बन्ला कि ? यो दु:ख बिर्सेला की ? दु:ख बिर्सिए त मनोरञ्जन हुन्छ नि,’निर्माता पौडेलले भने,’हामीलाई मात्रै होइन । दशैं लक्षित फिल्महरुलाई देशको यो अवस्थाले असर गरेको छ ।‘ 

 


Link copied successfully