रि–रेकर्ड गरेर पुनर्जीवन- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रि–रेकर्ड गरेर पुनर्जीवन

गीत लामो हुने भयो भनेर उनले एउटा अन्तरा छोट्याएर रेकर्ड गराएका थिए । तर, भेट हुँदा घिमिरेले नबिराई भन्ने गर्थे, ‘तेस्रो अन्तरा मीठो छ, अब रेकर्ड गराउँदा नछुटाउनु नै ।’ पूरै गीत रेकर्ड नगरेकामा नारायणलाई पछुतो त भयो, झट्टै रि–रेकर्डको मेसो मिलेन । 
गोकर्ण गौतम

काठमाडौँ — उनको प्रीति पहिले हो कि 

मेरो प्रीति पहिले 

जान्दिनँ म एकैचोटि 

के भो कुन्नि कहिले

कविवर माधव घिमिरेले २०२४ सालमा रचना गरेको गीत पढ्दा संगीतकार नारायण रायमाझी हुरुक्क भए । तर, संगीतबद्ध गर्छु भनेर घिमिरेसँग माग्न भने सकेनन् । उनलाई नभनी गीतको मेलोडी बनाए, त्यसपछि भने आँट आयो । घिमिरेलाई सुनाए । उनले भनेका शब्दहरू नारायणको कानमा अझै गुन्जिरहेका छन्– ‘निकै राम्रो बनाउनु भएछ । रेकर्ड गराउनु होला । शुभकामना छ ।’ त्यो स्वर्णिम पल सम्झँदै रायमाझी भन्छन्, ‘उहाँको आशिर्वचनले म त भावुक भएँ । उहाँले स्वीकृति दिनु नै मेरा लागि भाग्य थियो । ढिला नगरी रेकर्ड गराइहाले ।’

नारायण संगीत गर्दैनन् मात्र, आफैंले गाउँछन् पनि । यो गीत दुनियाँले मन पराउँछन् भन्ने उनलाई आभास भइसकेको थियो । र, पनि आफैंले गाएनन् । जगदीश समाललाई रोजे, महिला गायनका लागि सपनाश्री । ‘जसले गीतलाई न्याय गर्छर्, उसैले गाउनुपर्छ । मैले नै गाउनुपर्छ भन्ने छैन,’ रायमाझीले भने । केही दिनको संयुक्त अभ्यासपछि गीत रेकर्ड भयो ।

हौसिँदै रेकर्डेड गीत घिमिरेलाई सुनाए तर उनी अपेक्षाकृत खुसी भएनन् । कारण, गीतका तीनमध्ये दुई अन्तरा मात्र रेकर्ड गरिएको थियो । ‘लामो हुन्छ, रेडियोले बजाउँदैनन् भन्ने लागेर अन्तिमको अन्तरा रेकर्ड गरिएन, कविज्यूलाई त्यही अन्तरा मन परेको रहेछ,’ रायमाझी सम्झन्छन्, ‘उहाँ रिसाउनु त भएन तर पछि रेकर्ड गर्दा तिनै अन्तरा रेकर्ड गराउनू भन्नुभयो ।’

गीत बजारमा आयो, हरेक उमेर समूहका श्रोताको मुखमा झुन्डियो । रेडियोमा पनि बजेको–बज्यै । तर, नारायणसँग भेट हुँदा घिमिरेले नबिराई भन्ने गर्थे, ‘तेस्रो अन्तरा मीठो छ, अब रेकर्ड गराउँदा नछुटाउनु नै ।’ पूरै गीत रेकर्ड नगरेकामा नारायणलाई पछुतो त भयो नै, फेरि रेकर्ड गराउने हुटहुटी पनि जाग्थ्यो । तर, घरी के नमिल्ने, घरी के । रि–रेकर्डको मेलोमेसो मिलेन । यो गीत रेकर्ड गरेबापत घिमिरेले पारिश्रमिक पाएका/लिएका थिएनन् । ‘रेकर्डिङ गरेर व्यवसाय गरेको होइन । रेडियोमा बजाउन रेकर्ड गरिएको थियो, त्यसैले पारिश्रमिकको कुरै भएन,’ उनी भन्छन्, ‘उहाँको अमर सिर्जनालाई पैसासँग दाँज्न मिल्दैन । मैले संगीतबद्ध गर्न पाएँ, मेरो भाग्य हो ।’

गत भदौ २ गते घिमिरेले १०१ वर्षको उमेरमा प्राणत्याग गरे । पूरा गीत घिमिरेलाई सुनाउन नपाएकामा रायमाझीलाई थकथकी लाग्यो, लगत्तै गीतको पूर्णभाग रि–रेकर्ड गरेर घिमिरेप्रति श्रद्धाञ्जली दिन कम्मर कसेर लागिपरे । नभन्दै रेकर्ड पनि गरे, एक महिनाअगाडि सार्वजनिक यस गीतले युट्युबमा आधा करोडभन्दा धेरै भ्युज पाइसकेको छ । ‘राष्ट्रकविलाई मेरो ट्रिब्युट हो यो गीत,’ रायमाझी भावुक सुनिए । तर, नयाँ गीतमा जगदीश र सपनाश्रीको आवाज भने छैन । नयाँ पुस्ताका प्रतिभाशाली कलाकारद्वय रचना रिमाल र प्रविन बेडवालको आवाज छ । पहिले जगदीश र सपनाश्रीकै स्वरमा रेकर्ड गराउन चाहेको तर दुवै नेपालबाहिर भएकाले सम्भव नभएको उनको भनाइ छ । ‘जगदीश भाइसँग अनलाइनमा कुराकानी भयो, उहाँले नयाँ कलाकारसँग रेकर्ड गराउनु भनेर शुभकामना दिनुभयो,’ रायमाझी भन्छन्, ‘सपनाश्रीसँग सम्पर्कसमेत हुन सकेन ।’ यद्यपि रचना र प्रविनको गायकी अनि प्राप्त प्रतिक्रियाबाट रायमाझी पुलकित छन् । दुवैसँग यसअघि प्रत्यक्ष चिनजान नभएको र गीत सुनेकै आधारमा उनीहरूसँग सम्पर्क भनेर संगोलमा रियाज गरेको उनले बताए । ‘गीतले पुनर्जीवन पाएको महसुस गरेको छु,’ उनले खुसी पोखे ।

रायमाझीले अर्को मर्मस्पर्शी गीतलाई पनि ‘पुनर्जीवन’ दिएका छन् ।

नमुछे आमा दहीमा टीका, नछरे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

श्रोतालाई भावुक बनाउँछ यो गीतले । दसैंताका मात्र होइन, हरेक याममा यो गीत गुन्जने गर्छ र भावुक बनाइरहन्छ । अझ परदेशिएका र स्वदेशमा हुने आफन्तलाई त यसले भुतुक्कै पार्छ । यसको संगीतकार पनि नारायण नै हुन्, रचनाकारचाहिँ उनका दाजु लक्ष्मण रायमाझी । हामीले सुन्ने गरेको आवाजचाहिँ कृष्णभक्त राईको हो । यसको पहिलो रेकर्डिङमा नारायण रायमाझीकै आवाज थियो । युट्युबतिर पनि उनले गाएको भर्सन भेटिन्नँ, स्टेजमा लाइभ गाएको भिडियोहरू भने पाइन्छ । रि–रेकर्डिङमा भने रायमाझी आफैंले स्वर भरेका छन्, उनीसँगै रचना रिमालले गाएकी छन् । पहिले लक्ष्मी न्यौपानेको आवाज पनि समेटिएको थियो । तर, युट्युबमा भेटिने र रेडियोमा बज्ने कतिपय भर्सनमा भने लक्ष्मीको स्वर सुनिन्न ।

नारायणका अनुसार लक्ष्मणले यो गीत श्रीलंकाको गृहयुद्धमा खटिएका गोर्खा सैनिकको जीवनमा आधारित भएर लेखेका थिए, उनीहरूको भोगाइ समेटिएको थियो । नारायणले गाएपछि ‘लाहुरेको जिन्दगी’ एल्बममा समावेश गरियो । ‘क्यासेटको एउटा भागमा लाहुरेको कहानी राखिएको थियो, अर्को भागमा योसहित अरू केही गीत थिए,’ रायमाझी सम्झन्छन्, ‘एल्बम बजारमा आउनासाथ सबै बिक्यो । माग भएजति पुर्‍याउनै सकिएन ।’ यो थियो, २०५५ सालतिरको कुरा ।

तीन वर्षपछि ‘कारगिल’ एल्बममा पनि यो गीत राखियो । त्यतिबेला कारगिलमा युद्ध भइरहेको थियो । शब्द र लय परिवर्तन भएन भने गायक बदलिए । नारायणको सट्टा कृष्णभक्तको स्वर एल्बममा राखियो । उनका अनुसार एल्बम बजारमा पठाउन हतार भइसकेको थियो, एल्बममा विज्ञापन आइसकेको थियो तर त्यहीबेला उनको स्वर बिग्रियो । ‘मेरो स्वर बिग्रियो तर छिट्टै रेकर्ड गर्नुपर्ने थियो । कृष्णभक्तजी हामीसँगै रिमा रेकर्डिङ स्टुडियोमा काम गर्नुहुन्थ्यो, त्यसैले उहाँलाई नै गाउन दिएँ,’ नारायण भन्छन्, ‘मेरो स्वरमा पनि गीत चलेको थियो । कृष्णजीले गाएपछि फेरि त्यत्तिकै चल्यो । त्यतिबेला एफएम पनि आइसकेको थियो, झन् बढी प्रचार भयो ।’

तर, कृष्णभक्तको भनाइ थोरै भिन्न छ । रीमा रेकर्डिङमा फुर्सदको समयमा उनी रियाज गर्थे । एक दिन हार्मोनियम बजाएर ‘नमुछे आमा...’ गाउँदै थिए, त्यहीबेला नारायणले सुनेछन् । ‘उहाँले मेरो स्वरमा अझ मीठो सुनियो, म्याच भयो, त्यसैले अब तिमीले गाउनुपर्छ भन्नुभयो, म खुसी पनि भएँ, नभर्स पनि,’ कृष्णभक्त सम्झन्छन्, ‘उहाँले गाउँदा पश्चिमतिर मात्र बढी चलेको थियो, मेरो स्वरमा पूर्व–पश्चिम जताततै चल्यो ।’ यो गीत आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ बनेको उनी बताउँछन् ।

अहिले नारायणको स्वरमा फेरि रेकर्ड भएको उनले युट्युबबाटै थाहा पाएछन्, जानकारी थिएन रे । तैपनि भन्छन्, ‘मलाई कुनै चित्त दुखाइ छैन, अहिलेको भर्सन पनि मीठो छ । मैले पनि कभर गाएर आफ्नो च्यानलमा राखिसकेको छु ।’ नारायणले भने कृष्णभक्तलाई जानकारी गराउन खोजेको तर मोबाइल नम्बर परिवर्तन भएकाले सम्पर्क हुन नसकेको बताए । ‘अनुमति लिनचाहिँ होइन, सौहार्द ढंगले जानकारी गराउन खोजेको थिएँ तर त्यो अवसर जुरेन, उहाँसँग सम्पर्क नभएको धेरै भयो,’ नारायण भन्छन्, ‘गीत सार्वजनिक भएपछि पनि उहाँको प्रतिक्रिया पाएको छैन ।’

एक सातामा यो गीतले युट्युबमा १४ लाखभन्दा धेरै भ्युज बटुलिसकेको छ । गीत सुन्ने/हेर्नेबाट सुखद प्रतिक्रिया पाएको उनले सुनाए । ‘स्वर खुलेका बेला मलाई पनि गाउन मन लाग्छ, यसपालि गाएँ । ‘परदेशी’ फिल्ममा प्रशान्त तामाङले गाएका थिए,’ नारायणको भनाइ छ, ‘भोलि अर्को प्लेटर्फम वा सन्दर्भका लागि रेकर्ड गराउनुपर्‍यो भने अरू कसैले गाउन सक्छन् । जसले गाए पनि गीतको न्यायचाहिँ हुनुपर्छ ।’ यो गीतसँग उनका निकै सुमधुर सम्झनाहरू जोडिएका छन् । स्टेजमा गायो भने सबैले आँसु पुछ्थे, हरेक रेडियो कार्यक्रमको ‘फर्माइस’मा बज्थ्यो । भेट्नेहरू गीत सुनेर आमा धरधरी रोएको सुनाउँथे । भन्छन्, ‘अहिले पनि स्टेज उक्लेपछि त्यो गीत नगाई झर्नै पाइन्न । दसैंमात्र होइन, जहिले पनि सुनिन्छ ।’

यी दुई मात्र होइन, रेडियो नेपालमा रेकर्ड भएर लगभग हराएका ‘राम्दी पुल तर्ने,’ ‘पसिनाले पैसा साटेर,’ र ‘लाइछौ बेसन’ लगायत एक दर्जन गीत रि–रेकर्ड गरिसकेका छन् । नयाँ प्रविधिबाट पहिले नसुनेको पुस्तासम्म पुग्नका लागि रि–रेकर्ड गरेको उनको भनाइ छ । यद्यपि नयाँ सिर्जना नगरेर पुरानै चलेका गीतबाट फेरि चर्चा कमाउन खोजेको आरोप पनि उनीमाथि लागेको छ । तर यसलाई नकार्छन् उनी । ‘मेरा कति गीत हराइसकेका छन् । म हुँदासम्म मैले जीवन दिने हो, अरूले त मेरो सिर्जना बचाइदिन्न,’ नारायण भन्छन्, ‘चर्चा कमाउने लोभ होइन ।’

प्रकाशित : आश्विन २६, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

आईपीएलको सट्टेबाजी गर्ने भारतीयसहित ६ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं प्रहरी परिसरले इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । परिसरले आईपीएलको सट्टेबाजीमा स‌ंलग्न ६ जनालाई सोमबार कालीमाटीलगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले बताए ।

एसपी राठौरका अनुसार भारत घर भएका कुलदीप शारणले कालीमाटीले आईपीएलको सट्टेबाजी खेलाउने भन्नेबारे सूचनाका आधारमा अनुसन्धान गर्दा शारणसहित ६ जनालाई पक्राउ गरेको हो । शारणलाई प्रहरीले कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ गरेको हो । उनीबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

त्यस्तै भारतकै सञ्जीव शारणलाई पनि ११ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरेलाई एक लाख १९ हजार २ सय २५ रुपैयाँ नगदसहित बा ८६ प ३१५ नम्बरको स्कुटरसहित पक्राउ गरिएको छ । भारत उत्तर प्रदेशको कानपुर घर भई कुलेश्वरमा बस्दै आएका अजय गौतमलाई पनि ११ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको एसपी राठौरले जानकारी दिए ।

त्यस्तै कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटालाई तीन हजार १ सय १० रुपैयाँ र काठमाडौंको सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशललाई ३९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको उनले बताए ।

यसबाहेक अनलाइनमार्फत सट्टेबाजीमा के कति रकम लगाइयो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए । एसपी राठौरका अनुसार विस्तृत विवरण सोमबार दिउँसो सार्वजनिक गरिँदैछ ।

प्रकाशित : आश्विन २६, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×