२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

फिल्म समीक्षा : सन्तानहरुका लागि ‘आमा’

गाेकर्ण गाैतम

वैदेशिक रोजगार यो समयको क्रुर यर्थाथ हो । त्यस्तो परिवार भेट्टाउन मुस्किल छ, जसको सदस्य परदेशिएका नहुन् । जब बुबाआमालाई भौतिक र मानसिकरुपमा सन्तानको खाँचो पर्छ, त्यही बेला छोराछोरी विरानो मुलुक भाँसिन बाध्य हुन्छन् । यो नियतीलाई फिल्मकर्मीले दृश्यचित्रमा अभिव्यक्त गर्ने प्रयास नगरेका होइनन् तर भावनाको वेग पकड्न प्रायः चुक्छन् । निर्देशक दीपेन्द्र के. खनालले भने यो पीडा दर्शाउन तुलनात्मकरुपमा आफूलाई अब्बल सावित गरेका छन्, ‘आमा’मार्फत ।

फिल्म समीक्षा : सन्तानहरुका लागि ‘आमा’

यस फिल्ममा आमाको सन्तानप्रतिको त्याग अनि आमाप्रति सन्तानको प्रेम त अनुभूत हुन्छ नै, मानवीयता लोप हुँदै गएको हाम्रो सामाजिक परिवेशको कठोर चित्रण पनि गरिएको छ । कमजोरी पक्कै छन् तर निर्देशक कथा र पात्रप्रति इमानदार रहेकोमा सन्देह छैन । त्यस्ता पात्र पर्दामा देख्न पाइन्न्, जुन हाम्रै वरपर नभएका हुन् । अर्थात, आत्मियबोध गराउने अनेक गुणले भरिएको छ फिल्म । केही पात्रमा अनावश्यक संकट थोपरेर संवेदना ‘क्यास’ गर्ने चक्करचाहिं नभएको होइन । केही अप्रासांगिक बोझिला संवाद पनि छन् ।

आमा (मिथिला शर्मा)को छोरा अमेरिकामा छन्, यता श्रीमान्को भर्‍याङबाट लडेर टाउकोमा गम्भीर चोट लाग्छ । आफैंले गाउँबाट काठमाडौं अस्पतालसम्म ल्याउँछिन् । यहाँ छोरी आरती (सुरक्षा पन्त) र ज्वाईं (मनिष निरौला) छन्, उनीहरुले उपचारमा सहयोग गर्छन् । पैसा सकिदै जान्छ तर निको हुन्न । छोरो अमेरिकाबाट आउन पाउँदैनन्, आफ्नै पारिवारिक बन्धनमा परेकी छोरीले जसोतसो हेरचाह गर्छिन् । तर, आमा आफैं दिनानुदिन कमजोर भइरहेकी छन् । उनले भोग्ने यावत् हन्डर र छोरीको साहसमा केन्द्रित छ फिल्म।

सरसर्ती हेर्दा ‘आमा’मा केही छैन । किन छैन भने यसमा ठूलो उतारचढाव हुन्न, न सर्वगुण सम्पन्न वलशाली ‘हिरो’ छ, न खुंखार भिलेन । चमकधमक छैन । अझ रोमान्स, कमेडी, एक्सन, आइटम गीतजस्ता मसला त छँदैछैन । तर पनि ‘आमा’ले दर्शकलाई बाँधिराख्छ । त्यसको कारण हो, पात्रमार्फत निर्देशकले स्थापित गर्ने कारुण चित्र । मिथिला शर्मासहित हरेक चरित्रको आफ्नै व्यथा छ तर त्यो पोख्न आफ्नो मान्छे साथमासमेत हुँदैनन् । त्यसैले त भेन्टिलेटरमा राखिएका पति (देशभक्त खनाल) सामू मिथिला बह पोख्छिन्, पति प्रतिक्रियाविहिन छन् तर उनको मन हल्का हुन्छ । भागदौडपूर्ण सहरमा बसेर पनि एक्लो महसुस गर्ने हरेकले उनको पीडालाई आत्मसात् गर्न सक्छन् ।

‘आमा’मा तीन आमाहरु छन् । एक मिथिला शर्मा, जसको वयस्क छोरा आपत पर्दा साथमा छैन । दुई सरिता गिरी, जो भर्खर आमा भएकी छन् तर छोरा बिरामी भएकाले छुनसमेत पाएकी छैनन् । तीन निसन्तान आमा सुरक्षा पन्त । जसलाई आमा बन्ने तीव्र इच्छा छ तर शरीरले साथ दिएको छैन । हरेक आमाको पीडाको आयतन र स्वरुप फरक छ तर त्यसले दिने चोटचाहिं समान । आमाहरु समाजमा विद्यमान अव्यवस्था र विभेदका प्रतिनिधि हुन् । आमा हुन नसकेकै कारण सुरक्षाले विस्तारै अपहेलना सहनु पर्छ, बुबा इन्तु न चिन्तु हुँदा पनि हरबखत उनको साथमा हुनसक्दिनन्, किनभने बुहारीका रुपमा उनको आफ्नै जिम्मेवारी (बन्धन ?) हुन्छन् ।

निर्देशकले प्राथमिकता नदिएको तर दर्शकले सम्झिराख्ने भूमिकाचाहिं सरिता गिरीको हो । रेमिट्यान्सकै कारण प्रसव वेदनाबाट छटपटिरहँदा र छोरा जीवनमरणको दोसाँधमा हुँदा पनि विदेश गएका उनका पति फर्कन सक्दैनन् । खनालले नै यसको पटकथा लेखेका हुन् । पात्र चयन र उनीहरुको समीकरण निर्माण उपयुक्त लाग्छ तर सोहि अनुरुप कथालाई गति दिएका छैनन् । एकै परिवेशमा घुम्ने भएकाले कतै–कतै झिँजो लाग्छ । अस्पतालभित्र र बाहिरका उस्तै प्रवृत्तिका दृश्यलाई महत्व दिइएको छ ।

सिनेमा दृश्यभाषा हो । सिर्जनशील माध्यम हो । तर, हाम्रा सिनेमामा सबैभन्दा खट्किने पक्ष यीनै हुन् । बिकाउ शैलीमा, संवादको सहाराले सिधैं कथा भन्नमै दंग पर्छन् निर्देशक । सोहि कारण फिल्मको प्रभाव कानसम्म मात्र हुन्छ, मन र मस्तिष्कमा छुदैन । पूर्ण त होइन, आंशिक सही, ‘आमा’मा यी गुण अटाएका छन् ।

पात्रको मनजस्तै मौसम पनि रुझिरहेको छ । अस्पतालको बेडमा लम्पसार पतिको घडी रोकिएला भन्ने ठूलो चिन्ता छ, मिथिला शर्मालाई । उनी छोरासँग बरोबर कुरा गर्छिन् तर छोराको बोली मात्र सुनिन्छ, मुहार देख्न पाइन्न । आवाजबाटै दर्शकको दिमागमा चरित्र निर्माण हुन्छ । आरतीले रक्तदान गरेको, एम्बुलेन्स चालकले आफूले चाहेको अस्पताल पुराइदिएको, सिकारु चिकित्सकको द्वविधापनजस्ता अनेक दृश्यले मन हुँडल्छ । पात्रको मनोविज्ञान अनुरुप दृश्य खिच्नु र सोहि अनुरुपको रंगमा ढाल्नु निर्देशकको खुबी हो । यसको छायांकार खनाल नै हुन् ।

यो फिल्म आमामामात्र सिमित छैन । यसले लुटाहा अस्पताल, ‘सेतो कोट’भित्र लुकेको अपराध, धार्मिक अन्धभक्तता र त्यसको प्रचार, मान्छेहरुमा हराउँदै गएको संवेदना, शिक्षितबाटै पत्नीमाथि हुने दुव्यर्वहारजस्ता समाजका अध्याँरा यथार्थलाई सतहमा ल्याइदिएको छ । तर, खनालले कतिपय पात्रलाई आफ्नो सजिलोको लागि अस्वभाविक रुपान्तरण गरेका छन् । जस्तो : ज्वाईंमा आएको बदलाब । आरतीलाई बलियो बनाउनकै खातिर उनलाई नकारात्मक बनाइएको भान हुन्छ । आरतीकी बुढी सासु र घरबेटीको व्यवहार विश्वसनीय लाग्दैन । अस्पतालका मुख्य चिकित्सक र सञ्चालकलाई एकोहोरो रुखो बनाइएको छ । यी चरित्रको उपस्थिति असंगत लाग्छ । आमाको त्याग देखाउने कि अस्पतालको लुट, रेमिट्यान्सले निम्ताएको विग्रह देखाउने कि आजका छोरीमा आएको सशक्तिकरण, खनाल कतै–कतै अल्मलिएझैं लाग्छ ।

क्लाइमेक्समा जर्बजस्ती रुवाउने नियतबाट निर्देशक निर्देशित छन्, त्यो आफैंमा चित्तबुझ्दो छैन । पृष्ठभूमिमा बज्ने गीतले मूलकथाको भाव बोकेको छ तर त्यसलाई अझ सानो स्वरमा राखिदिएको भए अझ प्रभावकारी हुन्थ्यो । फिल्ममा सबैभन्दा बिझाएको पक्षचाहिं पार्श्व ध्वनी हो । यसले दृश्यमार्फत पैदा हुने संवेदनालाई मुर्त बनाउन होइन, बिथोल्न भूमिका खेलेको छ । पात्र र परिस्थितिअनुरुप दृश्य सिर्जने निर्देशकले यतातिर ख्याल गर्नुपर्थ्यो ।

हुलियामात्र होइन, बोलीचाली, भाव र व्यवहारबाट मिथिला शर्मा आमा लाग्छिन् । आमासँगै पत्नीको भूमिकालाई न्याय गरेकी छन् । उनका केही संवाद भने बनावटी छन् । सुरक्षा पन्तको चरित्र त बलियो छ नै, अभिनय पनि जीवन्त लाग्छ । यो फिल्मले अभिनेत्रीका रुपमा उनको आयु थप्नेछ । यद्यपि सुरुवाततिरै अस्पतालमा रिसाउनेजस्ता केही दृश्यमा भने उनी पात्र र परिवेशभन्दा बाहिर गएर ‘क्रान्तिकारी’ बन्न खोजेकी छन् । यसमा निर्देशकको नियन्त्रण चाहिन्थ्यो । साँघुरो स्पेसमा दरिलो प्रभाव जमाउन सक्षम छिन्, सरिता गिरी । छोटो भूमिकामा देखिन हिच्किचाउनेका लागि उनको चरित्र र अभिनय उदाहरण बन्न सक्छ ।

पर्दामा अभिनय गरिरहेको जस्तो नलाग्ने अर्को कलाकार हुन्, मनिष निरौला । रंगमञ्च पृष्ठभूमिका मनिष चुनौतीपूर्ण भूमिकामा विश्वासयोग्य छन् । आशान्त शर्मा, सरोज अर्याल, अस्मिता खनालजस्ता सहायक कलाकार पनि प्रसंशनीय छन् । दीपेन्द्र के. खनालको सबैभन्दा उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’ मानिन्छ । ‘आमा’मा निर्देशकीय शिल्प अझ निखारिएको छ । वैचारिक र सामाजिक चित्रणमा पनि यही फिल्म अगाडि उभिएको छ । संवेदनशिल विषयलाई रचनात्मक शैलीमा बुनेका छन् । लेखनचाहिं उतिविघ्न कसिलो होइन ।

सिनेमा र समाजको दूरी बढिरहेको छ । पर्दामा देखाइने संवदेनाहरु कृत्रिम हुँदै गएका छन्, जे चल्छ, त्यही बनाउने लहड मौलाएको छ । यो निरस माहोलकाबीच ‘आमा’लाई जन्म दिएका खनाल धन्यवादका हकदार हुन् । ‘आमा’ उत्कृष्टताको मानक पक्कै होइन । यही ‘लिगेसी’ पछ्याउँदा उत्कृष्टतामा पुगिनेचाहिं सत्य हो ।

फिल्म : आमा

लेखन/निर्देशन/छायाँकन : दीपेन्द्र के. खनाल

कलाकारहरु : मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?