नोभेम्बर रेनमा भिज्यो डिसिने अवार्ड

काठमाडौं — फिल्म 'नोभेम्बर रेन' मंगलबार वितरित डिसिने अवार्डमा हाबी भएको छ । दिनेश रावत निर्देशित उक्त फिल्मले उत्कृष्ट फिल्मसहित निर्देशक तथा नायक-नायिकाको अवार्डमा कब्जा जमाएको हो । त्यसैगरी 'नोभेम्बर रेन' बाटै छायांकार, संवाद, सहअभिनेत्रीका विधा गरी २८ विधामध्ये सात अवार्ड हत्याएको हो ।

नोभेम्बर रेनमा भिज्यो डिसिने अवार्ड

छायाँछविले डिजिटल प्रविधिमा निर्मित फिल्मको वर्षेनी विधागत उत्कृष्टता छान्दै आएकोमा अनपेक्षित रुपमा 'नोभेम्बर रेन' हाबी देखियो । यसै फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ दुवैले अवार्ड पाए भने निर्देशक दिनेश रावत र सहअभिनेत्री छुल्ठिम डोल्मा गुरुङ पनि भाग्यमानी रहे । राजेश श्रेष्ठलाई छायांकन र सामिप्यराज तिमिल्सिनालाई संवादमा पनि 'नोभेम्बर रेन' ले नै अवार्ड दिलायो । त्यसैगरी पटकथाको विधामा रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई अवार्ड दिइए पनि फिल्म 'कबड्डी' बाट ध्वनी मिश्रणका लागि उत्तम न्यौपानेलाई बाहेक अरुलाई उत्कृष्टको दाबेदार ठानिएन । बरु दिइएका तीन क्रिटिक्स अवार्डमा 'कबड्डी' बाट निर्देशक रामबाबु गुरुङ र नायक दयाहाङ राईलाई अवार्ड थाप्न बोलाइयो । नायिकाको क्रिटिक्स अवार्ड भने प्रियंका कार्कीले फिल्म 'सुन्तली' का लागि जितिन् । अवार्ड समारोहमा पि्रयंका र नम्रता दुवै अनुपस्थित रहे ।

नयाँ पुराना फिल्मकर्मीको बाक्लो उपस्थितीमा वितरण गरिएको डिसिने अवार्डमा कथाका लागि रामशरण पाठकलाई अवार्ड दिलाएकै 'वल्र्डकप इन नेपाल' ले नै सम्पादनमा राजु भण्डारीलाई पनि उत्कृष्टताको प्रमाणपत्र थमायो । सहअभिनेतातर्फ गजित विष्ट (पूनर्जन्म) ले अवार्ड जित्दा चरित्र अभिनेतामा सविन बास्तोला (सुनपानी) भाग्यमानी ठहरिए । चरित्र अभिनेत्रीमा भने सूर्यमाला खनाल (सुन्तली), खलपात्र अनुपविक्रम शाही (हँसिया) ले अवार्ड पाए भने नवनिर्देशकको डिसिने अवार्ड 'नाई नभन्नु ल ३' बाट मुस्कान ढकाललाई दिइयो । नवनायक र नायिकामा भने क्रमशः सुदर्शन थापा (अझै पनि) र शिल्पा पोखरेल (लज्जा) बाट अवार्ड थाप्न बोलाइए । अवार्ड पाएपछि आँशु थाम्न नसकेकी शिल्पाले भनिन्, 'झन्डै मैले हार खाईसकेकी थिएँ । तर यो अवार्डले मलाई पुनः बचाएको छ ।' संगीततर्फका विधामा भने मिश्रित नतिजा देखियो । संगीतकारको अवार्ड अर्जुन पोखरेलले 'स्टुपिड मन' बाट पाएपनि गायकको अवार्ड भने 'नोभेम्बर रेन' कै लागि युवराज चौलागाईलाई गयो । गायिकातर्फ भने 'हवल्दार सुन्तली' मा गाउने सहिमा श्रेष्ठले अवार्ड जितिन् ।

बालकलाकारको अवार्ड 'लभ यु बाबा' की मुख्य पात्र संगम विष्टलाई दिइयो । उनले यसअघि पनि राष्ट्रपतीका हातबाट सोही फिल्मका लागि अभिनेत्रीतर्फको राष्ट्रिय चलचित्र पुरस्कार नै थापेकी थिइन् । गीतकारमा कृष्णहरी बराल, नृत्य निर्देशकमा गम्भिर विष्ट, द्वन्द्व चन्द्र पन्त र एनिमेशन ग्राफिक्समा अच्यूत गजुरेलले अवार्ड जिते । 'टलकजंग भर्सेस टुल्के' ले भने एकमात्र अवार्ड श्रृंगारका लागि अमृत मरहठ्ठालाई दिलायो ।

अवार्डमा फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ र अभिनेत्री गौरी मल्ललाई रजत सम्मान गरिएको थियो भने पत्रकारिता पुरस्कार डब्बु क्षेत्रीलाई प्रदान गरियो । अवार्डमा प्रोत्साहन पुरस्कार भन्दै 'हवल्दार सुन्तली' नायक सविन श्रेष्ठ, उत्कृष्ट छनौटमा फिल्म 'कोहिनूर', विशेष फिल्म भन्दै 'सुनपानी' र जुरी अवार्ड भन्दै 'भीमदत्त' लाई अवार्ड भागबन्डा गरियो ।

अवार्डलाई रोचक र भव्य बनाउने प्रयासस्वरुप कलाकारहरुले आकर्षक नृत्य पस्किनुका अलावा दिपाश्री निरौलाको पुरुष अवतारमा गरेको नाचले सबैलाई चकित पारेको थियो । त्यसैगरी दिपकराज गिरी र जितु नेपालको जोडीले पनि केही फिल्मक्षेत्र सम्बन्धमा रहेर हास्यव्यंग प्रस्तुत गरेका थिए ।

प्रकाशित : पुस ६, २०७२ २३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x