अब ‘नाई नभन्नु ल ४’

भाद्र १९, २०७२

काठमाडौं — सांगीतिक प्रेमकथामा आधारित ‘नाई नभन्नु ल’ सिरिजका फिल्म बनाएर चर्चामा रहेका निर्देशक विकास आचार्यले शनिबार नयाँ फिल्मको घोषणा गरेका छन् ।

विकासले कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा फिल्म ‘नाई नभन्नु ल ४’ को शुभ मुहुर्त निकाले ।

त्रिकोणात्मक प्रेमकथा रहने फिल्ममा यसपटक विकासले पल शाह, बर्षा राउत र आँचल शर्मालाई मुख्य भुमिकामा खेलाउन लागेका हुन् । एउटै शीर्षक लिएर लगातार फिल्म बनाईरहेका विकासले यसपाली पनि भिन्न स्वादको प्रेमकथा दर्शकलाई पस्कन लागेको जिकिर गरे । भने, ‘पहिलो र दोस्रो ‘नाई नभन्नु ल’ मा कनेक्सन नभए जस्तै दुई र तीनमा पनि थिएन । र, अहिले पनि छैन । तर मेरा सबै फिल्मले प्रेमको परिभाषालाई विभिन्न कोणबाट दिने प्रयास भने गर्नेछन् ।’ पटकथा लेखनमा समेत सामिप्यराज तिमिल्सिनाको सहयोग लिएका विकासले थपे, ‘‘नाई नभन्नु ल ४’ यसअघिका फिल्म भन्दा परिमार्जित रुप हो ।’

यसअघि संगीतकै कारण फिल्मको हाइप निर्माण गर्न सफल बसन्त सापकोटा नै यसपटक पनि संगीतकारका रुपमा दोहोरिएका छन् भने ‘नाई नभन्नु ल २’ मा ‘मर्ने कसैलाई रहर हुँदैन’ गाएर वाहवाही बटुलेका साना गायक प्रेम परियारलाई बसन्तले यसपटक दोहोर्‍याएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्म सोमबारदेखि फ्लोरमा जाने बताइएको छ । चितवन र काठमाडौंमा खिचिने फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्नेछन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । फिल्ममा पल, वर्षा र आँचलसहित सरोज खनाल, प्रीयंका कार्की, अनुभव रेग्मी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) लगायतको पनि अभिनय रहनेछ ।

Link copied successfully