३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोनाले बेखर्ची भएका विद्यार्थीलाई ऋण

पढाइ सकेर काम गर्न थालेपछि मात्र तिरे हुने यस्तो ऋण अमेरिका र अस्ट्रेलियाका गरी २१ नेपालीले लिइसके
प्रतिमा बाँसकोटा

क्यालिफोर्निया — अप्रिल पहिलो साता टेक्सास बस्ने एक नेपाली युवतीले फेसबुक पेजमा कोरोनाका कारण कोठाभाडा तिर्न नसकेको गुनासो लेखिन् । ‘नेप्लिज इन अमेरिका कन्फेसन पेज’मा उनले कोरोनाका कारण जागिर गएको भन्दै घरभाडा तिरिदिनेसँग ‘लिभिङ टुगेदर’ बस्ने र भविष्यमा आफूसँग बिहे नगरे पनि आपत्ति नहुने उल्लेख गरेकी छन् ।

कोरोनाले बेखर्ची भएका विद्यार्थीलाई ऋण

त्यस्तो पोस्ट देखेर क्यालिफोर्नियाको एप्पल कम्पनीका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनी आश्चर्यमा परे । उनले युवतीलाई भाडा तिर्न २ सय ५० डलर सहयोग गरे । अनि, फेसबुकमा उक्त पोस्टको ‘स्क्रिन सट’ राख्दै यसलाई अमेरिकामा रहेका नेपाली अर्गनाइजेसन्सका नेताहरूसम्म पुर्‍याउनुपर्ने ‘कमेन्ट’ लेखे ।

त्यसको भोलिपल्ट अर्की नेपाली विद्यार्थी समस्या परेको भन्दै लोहनीको सम्पर्कमा आइन् । तर, उनले आर्थिक सहयोग होइन, ऋण मागिन् । ‘अहिले महामारीका कारण मलाई समस्या परेको हो, चन्दा होइन, ऋण देऊ म तिर्छु भनिन्,’ लोहनीले कान्तिपुरसँग भने, ‘उनको कुरा सुनेपछि विद्यार्थीलाई चन्दा होइन, ऋण दिँदा नै राम्रो हुने लाग्यो ।’

उनले कोरोनाका कारण विद्यार्थीलाई खानभन्दा पनि भाडा तिर्न समस्या परिरहेको बताए । आफू एक जनाले मात्र सबैलाई सहयोग गर्न नसकिने भएपछि उनले सहयोगी मन भएका अरूलाई पनि आग्रह गरे । ‘यहाँ बसेर काम गरिरहेको व्यक्तिका लागि ३ सय डलर खासै ठूलो होइन,’ उनले भने ‘विद्यार्थीलाई त्यति सहयोगले महिना कटाउन सजिलो हुन्छ ।’

विद्यार्थी प्रायः साथीहरूसँग सेयर गरेर बस्ने हुँदा धेरैमा ३ सय डलर ऋण दिने गरिएको छ । उनीहरूले कलेज सकेर काम गर्न थालेपछि मात्र रकम तिरे हुने व्यवस्था मिलाइएको छ । ‘तिर्न सके पहिला नै तिरे भयो, होइन भने कलेज सकेर काम गरेपछिचाहिँ तिर्नै पर्‍यो,’ लोहनीले भने । उनले समस्या परेका विद्यार्थीलाई मद्दत गर्न नेपाली समुदायमा आग्रह गरिरहेका छन् ।

लोहनीको मध्यस्थतामा अमेरिकामा १३ र अस्ट्रेलियामा आठ गरी २१ विद्यार्थीले ऋण पाइसकेका छन् । अमेरिकाभन्दा अस्ट्रेलियामा रहेका विद्यार्थीलाई भाडा तिर्न गाह्रो परेको उनको बुझाइ छ । ‘अमेरिकामा मासिक रूपमा भाडा तिर्ने हो तर अस्ट्रेलियामा महिनाको दुईपटक तिर्नुपर्ने रहेछ,’ उनले भने, ‘यसले अस्ट्रेलिया पुगेका नयाँ विद्यार्थीलाई एकदमै समस्यामा पारेको छ ।’ अस्ट्रेलियाका विद्यार्थीलाई केही त्यहीँबाट र केही अमेरिकाबाट पे–पल र एप्पल पेमार्फत रकम पठाइएको उनले बताए ।

ऋण लिन चाहनेले आफू विद्यार्थी भएको, बैंक खातामा रकम नभएको प्रमाण दिनुका साथै कोठा सेयर गरेर बस्ने व्यक्तिसँग कुरा गराउनुपर्नेछ । ‘यो मैले व्यक्तिगत रूपमा प्रमाणित गर्ने कोसिस गरेको हुँ, रकम दिनेले थप केही कुरा बुझ्न चाहे त्यसमा समस्या छैन,’ उनले भने ।

उनले फेसबुकमार्फत ऋण दिन इच्छुक व्यक्ति र लिने विद्यार्थीबीच सम्पर्क गराइदिने गरेका छन् । सहयोग गर्नेहरूको विवरण ‘क्रिन्जल डटकम’मा राखिदिएका छन् । ‘कसले सहयोग गर्‍यो र कसले पायो भनेर सबैले हेर्न मिल्छ,’ उनले भने, ‘अहिले पैसा दिनु वा उठाउनु मात्र ठूलो होइन, दिएको रकम कसले कहाँ प्रयोग गर्‍यो भन्ने पनि थाहा पाउन जरुरी छ ।’ उनलाई दुबई बस्ने गौरव पाण्डेले हिसाबकिताब पारदर्शी बनाउन मद्दत गरेका छन् ।

क्याम्पसभित्रै बसेर पढिरहेका धेरैजसो विद्यार्थी कोरोनाका कारण बाहिर बस्नुपरेकाले समेत उनीहरूलाई आर्थिक भार धेरै परेको छ । ‘युनिभर्सिटीको होस्टलमा धेरै खर्च हुँदैन, बाहिर आएपछि दोब्बर खर्च हुन्छ,’ एक विद्यार्थीले भने । धेरैजसो विद्यार्थी काम गर्दै पढ्ने हुन्छन् । भाइरसका कारण धेरै साना व्यवसाय बन्द भएकाले उनीहरू बेरोजगार भएका छन् ।

प्रकाशित : वैशाख २८, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?