१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मलेसियामा कार्यरत नेपालीको अनुभव : 'ड्युटी जारी छ, तर सुरक्षित छौं'

अहिलेसम्म नेपाली कामदारलाई संक्रमण भएको कतैबाट सूचना आएको छैन। हामीलाई जस्तै अरु कम्पनीमा सुरक्षाको प्रबन्ध गरिएको छ भने त संक्रमणबाट जोगिन सकिएला।
बलेन्द्र सुनार

काठमाडौँ — पाँच वर्षदेखि मलेसियाको मलाका अलोरगाजास्थित एक बिस्कुट उद्योगमा काम गर्दै आइरहेको छु। म बस्ने अलोरगाजा एउटा औद्योगिक क्षेत्र हो। यहाँ उद्योग र कामदारका लागि बस्ने क्याम्पमात्रै राखिएको छ। यहाँबाट सहर पुग्न आधा घन्टा लाग्छ। राजधानी क्वालालम्पुर पुग्न भने गाडीमा दुई घन्टा। 

मलेसियामा कार्यरत नेपालीको अनुभव : 'ड्युटी जारी छ, तर सुरक्षित छौं'


उद्योगमा झन्डै १२ हजार कामदार काम गर्छन्। करिब ५ हजार त नेपाली नै होलान्। कोरोना भाइरस मलेसियामा देखिएपछि कम्पनीले मलेसियन नागरिकलाई बिदा दिएको छ। उनीहरु घरघरबाटै काममा आउँथे। हामी भने उद्योगकै नजिकको क्याम्पमा बस्छौं। बाहिर बस्नेलाई काम गर्न आउन दिइएको छैन।

उद्योगले झन्डै ५० प्रतिशत कामदारलाई बिदामा राखेको छ। कतिपय नेपाली साथी पनि बिदा लिएर क्याम्पमै बसेका छन्। बिदामा बस्ने कि काम गर्ने भनेर विदेशी कामदारलाई छनोट गर्न दिइएको छ। स्थानीय नागरिकलाई छनोट गर्ने अवसर छैन। अनिवार्य बिदामा बस्नैपर्छ। हामी हिँडेर नै काम गर्न जान्छौं। ५ मिनेटमै उद्योगमा पुगिन्छ।


बिदामा बस्नेलाई न्यूनतम तलब मात्रै दिइएको छ भने काम गर्नेलाई न्यूनतम तलबको झन्डै ५० प्रतिशत बढी पैसा दिइएको छ। म नियमित काम गरिरहेको छु। पहिलोपटक २०१५ मा आउँदा न्यूनतम तलब ९ सय रिंगेट थियो। अहिले १४ सय रिंगेट पाउँछु। ओभरटाइमको छुट्टै छ। नयाँलाई भने १२ सय रिंगेट दिइरहेको छ।


हामीलाई काम गर्न जानका लागि एउटा अनुमतिपत्र बनाइदिएको छ। प्रहरी चेक गर्न आउँदा त्यो नै देखाउने गरेका छौं। कम्पनीले कोरोना भाइरसबाट कामदारलाई संक्रमण हुन नदिन पूरै सुरक्षा प्रबन्ध मिलाएको छ। हामी ड्युटीका लागि जाने बला गेटमै स्प्रे गर्छ। ज्वरोको मापन लिइन्छ। सुपरभाइजरले नियमित यसबारे सचेत गराउँछन्। मास्क, ग्लोब र सेनिटाइजर दिइएको छ। यहाँ पहिलेजस्तो कामदार छैनन्। कामदारलाई टाढाटाढा नै राखेर काममा लगाइएको छ। एउटै सामान १० जनाले छुने हुँदा ग्लोब र मास्क ४/४ घन्टामा परिवर्तन गरिरहेका हुन्छौं।


ड्युटीमा एक छाक कम्पनीले नै खुवाउँछ। त्यो खाना पनि परीक्षण गरेर ल्याइएको हुन्छ। पहिला खाने खाने टेबुलमा १० जना बस्थ्यौं। अहिले ४/५ जना मात्रै बसेर खान्छौं। नजिकै बस्न दिइँदैन। क्याम्पमा भने आफै बनाएर खान्छौं। क्याम्पमा पनि कोरोना भाइरसको संक्रमणबाट जोगाउन उचित प्रबन्ध मिलाइएको छ। हामी कोठामा ६ जना बस्छौं। तर सँगै हुँदैनौं किनकि आलोपालो ड्युटी हुन्छ।


कोरोना भाइरसबाट जानकारी दिन कम्पनीले भाइबर र ह्वाट्सएप ग्रुप बनाएको छ। त्यसमा सूचनाहरु अपडेट भइरहेको हुन्छ। मलेसिया सरकारले रोकथामका लागि चालेको कदमबारे जानकारी दिइएको हुन्छ। यहाँ हालसम्म ३५ हजार जनाको कोरोना भाइरसको परीक्षण गरिसकेको छ। हालसम्म २४ सय ७० जनामा संक्रमण देखिएको छ। जसमध्ये २ हजार ४७ जनाको उपचार भइरहेको छ। ३ सय ८८ लाई निको भयो भने ३५ जनाको मृत्यु भइसकेको छ।


अहिलेसम्म नेपाली कामदारलाई संक्रमण भएको कतैबाट सूचना आएको छैन। हामीलाई जस्तै सुरक्षाको प्रबन्ध गरिएको छ भने त भाइरसको संक्रमणबाट जोगिएला।


हामी एकै ठाउँमा झन्डै १२ हजार बस्ने भएर पनि होला कम्पनीले निकै सचेतता अपनाएको छ। हामीलाई भित्रै बस्ने साथीसँग पनि हात मिलाउन दिइएको छैन। क्याम्प र उद्योगमा काम गर्दा मास्क अनिवार्य गरिएको छ। ड्युटीबाट छुटिने बेला पनि तापक्रम नाप्ने र स्प्रे छर्केर मात्रै क्याम्पमा पठाउँछ। क्याम्पबाहिर कसैलाई भेट्न जाने छुट छैन। बाहिरको मान्छेलाई पनि भित्र आउन कडा प्रतिबन्ध लगाइएको छ।


अहिलेको अवस्थामा कम्पनीले मात्रै सुरक्षाको प्रबन्ध गरेर पुग्दैन रहेछ। हामी आफैले पनि सक्दो सुरक्षामा ध्यान दिनुपर्छ। जुन आफ्नै हातमा छ।


(बागलुङको निसिखोला गाउँपालिका घर भएका सुनारसँग होम कार्कीले गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?