आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

शीतल हावा, हरियाली, हिमशृंखला र रमणीय दृश्यले खाँचीकोट हिल स्टेसन परिवार, युवा र प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य बनेको छ।

असार १६, २०८३

वीरेन्द्र केसी

Khanchikot Hill Station is becoming an attractive destination

What you should know

अर्घाखाँची — पहाडको टुप्पोमा उभिएर चारैतिर फैलिएका हरियाली वनपाखा, टाढासम्म देखिने डाँडाकाँडा र मनोरम भू–दृश्य नियाल्दा मन स्वतः शान्त हुन्छ। यही अनुभूति दिलाउने गन्तव्य हो अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन। पछिल्लो समय प्राकृतिक सौन्दर्य, शीतल मौसम र आकर्षक दृश्यका कारण यहाँ आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

समुद्री सतहबाट करिब एक हजार नौ सय मिटर उचाइमा रहेको खाँचीकोट हिल स्टेसन यतिबेला जिल्लाकै लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गएको छ। सिरसिरे बतास, छिनमै कुहिरोले ढाक्ने र फेरि खुल्ने मौसम, घना हरियाली जंगल, चराचुरुङ्गीको मधुर स्वर र चारैतिर फैलिएको प्राकृतिक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गर्छ।

मौसम सफा भएका दिन यहाँबाट धौलागिरि, अन्नपूर्ण र माछापुछ्रेसहितका हिमशृंखला स्पष्ट देखिन्छन्। हिल स्टेसनबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको दुई हजार मिटर उचाइको मसिना लेकले पनि पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। मसिना लेक आसपासको वन क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, वनस्पति र वन्यजन्तु पाइने भएकाले प्रकृतिप्रेमी र अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र उपयुक्त गन्तव्य बनेको छ।

सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत नरपानीबाट करिब चार किलोमिटर दूरीमा हिल स्टेसन पुगिन्छ। सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट गाउँबाट करिब डेढ घण्टा उकालो पैदल यात्रा गरेपछि हिल स्टेसन पुग्न सकिन्छ।

सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीका अनुसार वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको अभाव नहोस् भनेर क्षेत्रमा पोखरीसमेत निर्माण गरिएको छ। 'यहाँबाट पहाडका धेरै डाँडाकाँडा, सदरमुकाम सन्धिखर्क र तराईका केही भूभागसमेत देखिन्छन्,' उनले भने, 'सुपा देउरालीमा दर्शन गर्न आउने तीर्थयात्री प्रसाद ग्रहण गर्न नरपानी पुग्छन्। पछिल्लो समय सडक र पदमार्ग निर्माण भएपछि उनीहरूमध्ये धेरै हिल स्टेसनसम्म पनि पुग्ने गरेका छन्।'

तराई तथा भारतीय सीमावर्ती क्षेत्रबाट गर्मी छल्न आउने पर्यटक नरपानीका रिसोर्टमा बस्ने र हिल स्टेसन पुगेर प्रकृतिसँग रमाउने क्रम बढ्दै गएको उनले बताए। उनका अनुसार सुपा देउराली मन्दिरमा वार्षिक करिब १० लाख तीर्थयात्री आउने गर्छन्। तीमध्ये केही तीर्थयात्री तथा गर्मी छल्न आउने पर्यटकका कारण हिल स्टेसनमा वार्षिक एक लाखभन्दा बढी आगन्तुक पुग्ने गरेका छन्।

प्रकृतिप्रेमी, फोटोग्राफीका पारखी, परिवारसहित घुम्न निस्कने समूह तथा नयाँ गन्तव्य खोज्ने युवाको आकर्षण बढ्दो छ। विशेषगरी बिदाका दिन कर्मचारी, शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति हुने गरेको स्थानीय बताउँछन्। यहाँ पुग्ने धेरैले विभिन्न दृश्यमा टिकटक, रिल्स र फोटो खिच्ने गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रचार बढेपछि पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको वडाध्यक्ष केसीको भनाइ छ।

हिल स्टेसनबाट नरपानीस्थित नर्तनाञ्जल पर्वत पनि सहजै अवलोकन गर्न सकिन्छ। नरपानीका पर्यटन व्यवसायी पदम केसी सुपा देउराली–नरपानी–खाँचीकोट हिल स्टेसन–मसिना लेकलाई एउटै पर्यटन प्याकेजका रूपमा विकास गर्न सकिने बताउँछन्। 'यहाँको जैविक विविधता, हरियाली वन, स्वच्छ वातावरण र ग्रामीण जीवनशैलीलाई जोडेर इको–टुरिजमको राम्रो सम्भावना छ,' उनले भने।

सोमबार नवलपरासीबाट घुम्न पुगेका प्रितम पौडेलले मोबाइलमा सयभन्दा बढी तस्बिर र भिडियो खिचे। जंगलमा पाकेका वनफलको स्वाद लिँदै टिकटक भिडियोसमेत बनाए। 'चारैतिरको दृश्यले मन नै लोभ्यायो,' उनले भने, 'हिमशृंखला, डाँडापाखा, चिसो हावा र चराचुरुङ्गीको स्वरले यति आनन्द दियो कि अर्को पटक परिवारसहित दिनभर घुम्न आउने योजना बनाएको छु।'

सदरमुकाम सन्धिखर्कबाट पनि स्थानीय बासिन्दा दैनिकजसो हिल स्टेसन पुग्ने गरेका छन्। सोमबार सन्धिखर्ककी महिना नेत्री नेतृत्वको समूहले असार १५ को अवसरमा हिल स्टेसनमै दही–चिउरा खाएर दिनभर प्रकृतिसँग रमाउँदै पर्व मनायो।

शिक्षक लक्ष्मी खनालका अनुसार हरियाली वन, शीतल हावा, कलकल बग्ने खोला र चराचुरुङ्गीको मधुर स्वरले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ। 'ठाडो उकालो पैदल यात्रा गर्दै टुप्पोमा पुगेर प्रकृतिको आनन्द लिनु आफैंमा फरक अनुभव रहेछ,' उनले भनिन्, 'असार १५ को दिन यहाँ बिताउँदा जीवन झन् सुन्दर भएको अनुभूति भयो।'

प्राकृतिक सौन्दर्य, सहज पदयात्रा, जैविक विविधता र धार्मिक पर्यटनसँग जोडिएको सम्भावनाका कारण खाँचीकोट हिल स्टेसन अर्घाखाँचीको उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully