माहुरीका गोला र घार बेचेरै घरबार

धनकुटामा वार्षिक २९ मेट्रिक टन मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

श्रावण ६, २०८३

विनोद घिमिरे

Selling Beehives and Honeycombs to Make a Living

What you should know

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-९ स्थित जंगलबीचको सानो गाउँ हो, मजुवा । वरिपरि जंगल र पहाडले ढाकिएको खोँचको यो बस्ती बसाइँसराइका कारण पातलिँदै गएको छ । अवसरको खोजीमा गाउँलेहरू घर खाली गरेर हिँडेका छन् ।

साथीभाइ र गाउँलेहरूले  साथ छोड्दै गए पनि ४५ वर्षीय सुक्र राई माहुरी, माछा, बाख्रा पालन र केरा खेतीमा व्यावसायिक भविष्य खोजिरहेका छन् । उनी बिहान उठेदेखि राती अबेरसम्म माहुरी, बाख्रा, माछा र केरा खतीको रेखदेखमै व्यस्त हुन्छन् । करिब आठ वर्ष मलेसियामा काम गरेर १५ वर्षअघि गाउँ फर्किएका राईले बसाइँसराइले खाली हुँदै गए पनि आफ्नै गाउँमा व्यावसायिक योजना बनाए । गाउँबाट भइरहेको बसाइँसराइलाई उनले अवसरका रूपमा सदुपयोग गर्ने दृढताले अहिले उनलाई सफलतातिर डोहोर्‍याइरहेको छ ।

गाउँ फर्केर माहुरी, बाख्रा र माछा पालन तथा केरा खेतीमा रमाइरहेका छन् उनी । मलेसियाबाट गाउँ फर्केर ताजा तरकारी उत्पादनमा लागेका उनी त्यसमा चाहिँ भनेजस्तो सफल हुन सकेनन् । ‘तरकारी उत्पादन राम्रो भए पनि बजार टाढा हुँदा बिक्रीको समस्या भयो,’ उनले भने, ‘मनग्गे फलाएर पनि सजिलोसँग बेच्न नसक्ने स्थिति देखेपछि तरकारी खेतीलाई बिट मारेर माहुरी पालनतिर लागेँ ।’

तरकारी बिक्रीका लागि उनको गाउँबाट नजिकको बजार हिले हो । जुन मजुवाबाट १० किलोमिटर माथि पर्छ । उकालो र कच्ची बाटोबाट दिनदिनै तरकारी बजार पुर्‍याउन नसक्ने देखेपछि शुक्रले बाबुबाजेले गर्दै आएको माहुरी पालन पेसालाई व्यावसायिकता दिने योजना बनाए । त्यसबेला उनीसँग परम्परागत काठेघारमा ६० घार माहुरी पुगिसकेका थिए । माहुरीपालनमा शुक्रको लगाव देखेर पाख्रिबास नगरपालिकाले २ वटा आधुनिक घार थपिदियो । त्यसपछि उनी परम्परागत घारबाट आधुनिक घारमा माहुरी पालन गर्न प्रेरित भए ।

वार्षिक  ५ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनी बताउँछन् । मह बिक्रीका लागि उनका आफ्नै ग्राहक छन्, बढी भएको स्थानीय बजारमा बिक्री गर्छन् । महदानीबाट निकालेको कुट र चाकाबिनाको मह १ हजार ५ सय र कुटचाकासहितको मह १ हजार २ सयमा बिक्री गरिरहेको उनले सुनाए । उनको आम्दानीको मुख्य पाटो महभन्दा पनि गोला र घार हो । उनले भने,  ‘अघिल्लो वर्ष ७ सय माहुरीका रित्ता घार र ३ सय बढी माहुरीका गोला सहितका घार बेचेँ, गएको वर्ष चुनाव भयो । सरकार फेरियो । स्थानीय तहका कार्यक्रम काटिए साह्रै धेरै गएन ।’ उनी माहुरीका घार र गोला स्थानीय तहमा पठाउने गरेको बताउँछन् ।Selling Beehives and Honeycombs to Make a Living

उनी मह उत्पादन र बिक्रीमा भन्दा गोला र घारमा बढी जोड दिएको बताउँछन् । शुक्रले ५ फ्रेम माहुरीसहितको आधुनिक एउटा घार १० देखि १२ हजार रुपैयँँमा बिक्री गरिरहेको बताए । माहुरी गोलाको मूल्य पनि सिजन अनुसार फरक-फरक हुने उनले सुनाए । ‘कार्तिक मंसिरमा ५ फ्रेमको एकगोला माहुरी र घारको १३ हजार रुपैयाँ पर्छ,’ उनले भने, 'चैत–वैशाखमा त्यही घार १२ हजार तथा बेसिजनमा १० हजारमै घारगोला बिक्री गर्नुपर्छ ।'

माहुरी घार बेचेरै आफ्नो घरबार चलेको उनले सुनाए । माहुरीको घार र गोला बिक्रीका लागि उनलाई धनकुटाका विभिन्न स्थानीय तह, किसान समूह तथा व्यक्तिबाट माग आउने गरेको छ । यसका अलावा तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ र उदयपुरसम्म पनि उनी अर्डरमा माहुरी गोला र घार पठाउँछन् । योजना र सुरुवाती लगानी जुटाउन सके गाउँघरमै आम्दानीको सम्भावना आफूले देखेको उनी बताउँछन् । छोराबुहारी छुट्टिएर बसेका छन् । उनी श्रीमतीसँग स्थानीय जातको एप्पिस सेरेम्ना माहुरी पालेर बसेका छन् ।

राईको माहुरीका आधुनिक घार बनाउने काममा गाउँका स्थानीय ८ जनाले रोजगारी पाएका छन् । उनी भन्छन्, ‘वर्षका १० महिना घार बनाउने र बिक्रीको काम चल्छ ।’ माहुरीले टुनीको काठको घार औधि बस्न मन पराउँछ । तर घार बनाउने टुनीको काठ हिजोआज पाउनै गाह्रो छ । नजिकै टुनीको काठ पाउन छाडेपछि धेरै टाढा धाएर जानु परेको उनको गुनासो छ । टुनीको काठ माहुरीको घार बनाउन विशेष रूपमा बढी प्रयोग हुन्छ । उनी भन्छन्, ‘अहिले टुनीको काठ पाइँदैन । निजीको सकिँदै गयो, सामुदायिक वनको काट्न पाइँदैन, काठ खोज्न पाख्रिबास, शहिदभूमि लगायत टाढाटाढासम्म जानु पर्छ ।’

माहुरीसँगै उनले ६५/७० वटा बाख्रा र खसी पालेका छन् । त्यसबाट पनि राम्रो आम्दानी रहेको उनले बताए । उता ६० रोपनी जमिनमध्ये ४० रोपनीमा केरा खेती र पोखरी बनाएर माछा पालन गरिरहेका छन् ।

मोरङको लालभिक्तिबाट ल्याएर पोखरीमा हालेका ७ हजार ग्रासकार्प माछा हुर्कदै गएका छन् । पानीको दिगो व्यवस्थापन गरेर माछा पालन विस्तारका लागि पोखरी थप्ने उनको योजना छ । ४० रोपनीमा गरिएको केरा खेतीबाट आम्दानी हुन थालेको छ । माछा बिक्रीका लागि पनि नियमित बजारको खोजी गरिरहेको उनले बताए । गायक पशुपति शर्माको गीत सम्झिँदै उनले भने, ‘मलाई जापान पनि यहीँ, कोरिया पनि यही भइरहेको छ ।’ 

मजुवामा शुक्रले जस्तै अन्य किसान पनि माहुरीपालनमा व्यावसायिकता खोजिरहेका छन् । धनकुटा नगरपालिका-१ हिले घर भएका दुर्गा दर्लामी मगर शुक्र राईकै घरबारीको साँध जोडिएको मजुवामै माहुरी पालन गर्छन् । दुर्गाले १ सय १० घार एप्पिस सेरेम्ना जातको माहुरी पालेका छन् । उनL पनि माहुरीका गोला बेच्छन् । दुर्गाले माहुरी पाल्न थालेको ११ वर्ष भयो । माहुरी पालन व्यवसाय सुरु गर्नुभन्दा पहिले पूर्वाधार व्यवस्थापन र प्राविधिक कुरा जान्नुपर्ने उनको अनुभव छ । भन्छन्, ‘त्यति कुरा जाने मान्छेले माहुरी पाल्ने होइन, माहुरीले मान्छे पाल्छ ।’ उनी थप्छन्, ‘थोरै जग्गामा पनि माहुरी पालन गर्न सकिन्छ, अर्काको बालीनाली खाला बिगार्ला भन्ने छैन, बरु माहुरीलाई बच्छियूँ, अरिगाँलजस्ता किरा र चराबाट भने जोगाउनु पर्छ, ती भने माहुरीका शत्रु हुन् ।’

माहुरीलाई बढी वर्षात हुने असार, साउन र भदौ महिनामा विशेष रेखदेख गर्नुपर्ने उनले जनाए । त्यसबेला ‘पानीले आहाराका लागि टाढा घुमफिर गर्न सक्दैन, फूल र आहाराको समेत कमी हुन्छ, त्यसबेला माहुरी रिसाउने र झर्को मान्ने हुन्छ ।’ माहुरीले मह बनाउन चिउरी, धुसुरे, पाती, तोरीको फूलबाट निस्कने रस मन पराउने उनले जनाए ।

दर्लामी सम्भावनायुक्त स्थानमा माहुरी पालनको व्यावसायिकताका लागि घार, गोला, मह उत्पादनसँगै माहुरीबाट हुने सह–उत्पादनमा पनि सरकार र निजी क्षेत्रले किसानलाई सघाउनु पर्ने बताउँछन् । भन्छन्, ‘माहुरीबाट हुने सह–उत्पादन पोलन, कुट, बी–भेनम जस्ता उत्पादनको अन्तर्राष्ट्रिय बजारमा विशेष मूल्य र माग छ । तर हामीले उत्पादन गर्न तालिम र प्राविधि पाएका छौनौं, हाम्रो क्षमताले मात्रै भ्याउँदैन । यसमा सरकार र निजी क्षेत्रले समेत हामीलाई सघाउनु जरुरी छ ।’

धनकुटामा वार्षिक २९ मेट्रिक टन मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । ज्ञानकेन्द्रले हरेक वर्ष प्रकाशन गर्ने प्रतिवेदनमा जिल्लमा ४ हजार ४ सय आधुनिक र  ७ हजार ५ सय माहुरीका परम्परागत घार छन् । माहुरीको गोला र महको वार्षिक ४ करोड रुपैयाँको कारोबार हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully