पाँच रुपैयाँ किलोमा बेच्दा लागत समेत नउठेपछि छथर जोरपाटीका किसानले बारीमै मूला नष्ट गर्न थालेका छन् ।
What you should know
धनकुटा — कोशी प्रदेशकै ‘तरकारीको राजधानी’ भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मूला उत्पादक किसान यतिबेला उत्पादनले भाउ नपाएपछि समस्यामा परेका छन् ।
बजारमा उचित मूल्य नपाएपछि नयाँ बाली लगाउने समयसम्म पनि बारीमा रहेको मूला बिक्री हुन सकेको छैन । उत्पादन लागत नै नउठ्दा यहाँका किसानले उत्पादन गरेको मूला बारीमै कुहिन थालेको छ ।
कतिपयले उत्पादन लागतसमेत नउठ्ने देखेपछि रासायनिक विषादी छर्किएर, यान्त्रिक हलो चलाएर मूला नष्ट गर्न थालेका छन् ।
छथर जोरपाटी गाउँपालिकाको जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे, रोटेआहाललगायत क्षेत्रमा व्यावसायिक रूपमा मूला खेती हुँदै आएको छ। तर यतिबेला किसानले प्रतिकिलो ५ देखि ६ रुपैयाँमै मूला बिक्री गर्न बाध्य छन्। यो मूल्यले उत्पादन लागतसमेत नउठ्ने उनीहरूको गुनासो छ।
गुराँसेका किसान इन्द्रसारु मगरका अनुसार पाँच रुपैयाँ किलोमा मूला बेच्दा मल, बीउ, विषादी, बारी तयारी र मजदुरीको खर्चसमेत उठ्दैन। 'मूला उखेलेर बजार पठाउन खेतालालाई दिनुपर्ने ज्याला पनि उठ्दैन। त्यसैले बारीमै नष्ट गर्नुपरेको छ,' उनले भने। यहाँका धेरै किसानले मूला नउखेली बारीमै कुहिन दिएका छन् । केहीले गोरु र यान्त्रिक हलो लगाएर मूला मास्दै नयाँ बालीका लागि जमिन तयार गर्न थालेका छन्।
मगरका अनुसार सुरुमा प्रतिकिलो २० रुपैयाँसम्म बिक्री भएको मूला एकैपटक धेरै बजारमा आएपछि मूल्य ५ रुपैयाँमा झरेको हो। अहिले मूला कुहिएर बारीमा दुर्गन्ध फैलिन थालेको उनले बताए। किसानको यस्तो अवस्था हुँदा पनि सरकारबाट बजार व्यवस्थापन वा राहतका लागि कुनै पहल नभएको उनको गुनासो छ।
मूलाले मूल्य नपाउँदा छथर जोरपाटीका करिब ३ हजार किसान परिवार प्रभावित भएका छन्। छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा स्वयं पनि व्यावसायिक किसान हुन्। उनले आफ्नै करिब २० रोपनी क्षेत्रफलमा लगाएको मूला बारीमै नष्ट गर्नुपरेको बताए। '५ रुपैयाँ किलोमा बेचेर लागत उठ्दैन। त्यसैले कतै उखेलेर फालिएको छ, कतै काटेर छाडिएको छ भने कतै विषादी छर्किएर कुहाउन थालिएको छ,' उनले भने।
स्थानीय सरकारको नेतृत्वमा रहे पनि बजार नियन्त्रण गर्ने अधिकार स्थानीय तहसँग नभएकाले किसानलाई राहत दिन नसकेको उनको भनाइ छ। 'हामीले उत्पादन बढायौं, तर बजार हाम्रो नियन्त्रणमा छैन। किसानको उत्पादन बिक्री हुने सुनिश्चितता संघ र प्रदेश सरकारले गर्नुपर्छ,' उनले भने।
अध्यक्ष सुब्बाका अनुसार यस वर्ष मात्रै मूला ले मूल्य नपाउँदा छथर जोरपाटीका किसानले दुई करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोरेका छन्। अहिले धेरै किसानले मूला हटाएर बन्दाकोपी र काउली खेतीको तयारी गरिरहेका छन्।
छथर जोरपाटी क्षेत्र मूला , आलु, बन्दाकोपी, काउली, भेडेखुर्सानी, स्कुस, मटरकोसा लगायत व्यावसायिक तरकारी उत्पादनका लागि कोशी प्रदेशमै परिचित छ। तर हरेक वर्ष दोहोरिने बजार व्यवस्थापनको समस्याका कारण किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।
किसानले प्रतिकिलो ५–६ रुपैयाँमा बेच्न नसकेको मूला धनकुटा सदरमुकामको बजारमा भने ३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर छथर जोरपाटी क्षेत्रमा उत्पादन भएको मूला स्थानीय बजारमा बिक्री भइसक्दैन । ठूला बजारसम्म पुर्याउने संयन्त्र छैन । भारत निकासीमा अवरोध हुने बित्तिकै स्थानीय तरकारीले मूल्य नपाउने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा बताउँछन् । किसानहरूले सरकारले कृषि उपजको न्यूनतम समर्थन मूल्य, संकलन केन्द्र, शीतभण्डार, ढुवानी अनुदान, बजार व्यवस्थापन तथा उत्पादन–बजार समन्वयका प्रभावकारी कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन्।
