धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसँग जोडिँदै

तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइनेछ ।

फाल्गुन २८, २०८२

विनोद घिमिरे

Election police in Dhankuta are being linked with enterprises

धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीलाई धनकुटामा आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सीपमूलक तालिम दिने योजना अघि सारिएको छ । धनकुटामा खटिएका ९ सय ८९ जना निर्वाचन सुरक्षा प्रहरीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र घरेलु तथा साना उद्योग कार्यालय, धनकुटासँगको समन्वयमा सीपमूलक तालिम दिने  योजना अघि सारिएको हो ।

म्यादी प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जनाए । उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको हो ।

तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइनेछ । बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त म्यादी प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी गरिएको खड्काले बताए । 

इच्छुक म्यादी प्रहरीलाई उनीहरूको छनोटका आधारमा तालिम प्रदान गरिने खड्काको भनाइ छ । ‘सानो कामबाट पनि छिटो आम्दानी गर्न सकिने अवसरबारे जानकारी गराउँदै उनीहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्य छ,’ खड्काले भने, ‘पाँच सय जनाले मात्रै तालिम लिए भने पनि करिब २ हजार ५ सय परिवारका लागि सानोतिनो आम्दानीको बाटो खुल्न सक्छ ।’ 

उत्तरपानीस्थित प्राविधिक शिक्षालय र घरेलु कार्यालयसँग समन्वय गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको खड्काले जनाए । मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक काममा पनि तालिम दिने विषयमा छलफल भइरहेको प्रशासनले बताएको छ । कम पढाइ–लेखाइ भएका व्यक्तिले समेत तालिमपछि घरमै वा गाउँमै सुरु गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully