अरुण तेस्रोको ‘गह्रौँ’ निर्माण सामग्री तार्न तमोर नदीमा 'अन्डरपास'

मूलघाटको पक्की पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै भए पनि अरुण तेस्रो आयोजनाका १४० टन तौलका ट्रक सञ्चालनमा आएका छन्, जसले पुलमा क्षति पुग्ने जोखिम बढाएको छ।

पुस २, २०८२

विनोद घिमिरे

Underpass on Tamor River to transport 'heavy' construction materials for Arun III

What you should know

धनकुटा — संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो ।

कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै हो । तर आयोजनाका ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकको तौल १४० टनसम्म हुने आयोजनाका डीजीएम पंकज आनन्दले जानकारी दिए ।

उनका अनुसार तमोरमा अन्डरपास निर्माणका लागि सडक विभागबाट स्वीकृति लिइएको छ । ‘नेपाल सरकारको अनुमति पाएपछि अन्डरपास बनाउन सुरु गरेका हौँ,’ उनले भने । आयोजनाका बढी तौलका सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डर पास निर्माण थालिएको उनको भनाइ छ । उनले तमोर नदीमा पानी बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने बताए ।

धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै भएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए । उनका अनुसार कोशी राजमार्गको धरान–धनकुटा खण्डमा ४० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइँदैन ।

आयोजनाका गह्रौँ निर्माण सामग्री ओसार्दा पुलमा क्षति पुग्न सक्ने भन्दै अन्डरपास बनाइए पनि सडकको भारवहन क्षमताबारे ध्यान नदिइएको स्थानीयको गुनासो छ । डीजीएम पंकज आनन्दले भने परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिएको दाबी गरे ।

आयोजनाले धरान–धनकुटा सडकको भारवहन क्षमताभन्दा बढी भार ओसारपसार गरिरहेको विषयमा जिज्ञासा राख्दा धनकुटा र संखुवासभाका प्रमुख जिल्ला अधिकारीले यस विषयमा विभागस्तरमै सहमति भएको हुन सक्ने जनाए । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले सहमतिमार्फत ‘माथिबाटै’ सहजीकरण हुने गरेको बताए ।

यस्तै, संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सडकको भारवहन क्षमताबारे आफू अनभिज्ञ रहेको बताइन् । उनले अरुण तेस्रो आयोजनाले सामग्री ओसारपसारका लागि विभागबाटै अनुमति लिएको जानकारी आफूले पाएको बताइन् ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully