मौरीपालनमा कृषकको बढ्दो आकर्षण

मह उत्पादन र मौरीका घार बिक्रीबाट रामेछापका किसानहरूले वार्षिक लाखौं रुपैयाँ कमाउँदै, कृषि व्यवसायमा नयाँ आशा र सम्भावना देखाएका छन्।

पुस १, २०८२

नवराज श्रेष्ठ

Farmers' growing interest in beekeeping

What you should know

रामेछाप — रामेछापमा पछिल्लो समय मौरीपालनतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ। धेरै दुःख र मेहनत गर्न नपर्ने, आम्दानी राम्रो हुने र बजारको समस्या नदेखिने भएकाले मौरीपालन कृषकका लागि आकर्षक व्यवसाय बन्दै गएको हो।

सुनापति गाउँपालिका–५ लिङ्गेडाँडाका कृषक लालबहादुर मानन्धरले मौरीपालन कम मेहनतमा राम्रो आम्दानी दिने व्यवसाय भएको बताए। उनी रुपाकोट मौरीपालन कृषक समूहमा आबद्ध भई विगत एक दशकभन्दा बढी समयदेखि मौरीपालन गर्दै आएका छन्। हाल उनले व्यक्तिगत रूपमा सुनापति मौरीपालन फार्म दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका छन्।

मानन्धरका अनुसार उनी अगुवा कृषक रहेको उक्त समूहमा हाल करिब १ हजार ५ सय घार मौरी रहेका छन्। समूहका सदस्यहरूले २० देखि ५० घारसम्म मौरी पालेका छन्।

समूहमा सेराना र मेलिफेरा जातका मौरी पालिँदै आएको छ। सुनापति गाउँपालिका–५ खनियाँपानी क्षेत्रलाई मौरीपालन पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए।

व्यक्तिगत फार्ममा मानन्धरले हाल सेराना र मेलिफेरा जातका गरी ६० घार मौरी पालेका छन्। परम्परागत शैलीमा मौरीपालन गर्दै आएका उनीजस्ता धेरै कृषकले विभिन्न संघसंस्थाबाट आधुनिक मौरीपालन तालिम लिएका छन् । यसले व्यवसायलाई आधुनिक बनाउन सहयोग पुगेको मानन्धरले बताए।

उनका अनुसार मह उत्पादन गर्ने मुख्य सिजन असार र कार्तिक महिना हुन्। गत वर्ष दुई पटकमा उनले १३० केजी मह काढेका थिए। चालु वर्षको असारमा ७० केजी मह उत्पादन भएको छ। कार्तिकमा १५० केजी मह उत्पादनको अनुमान गरिएको भए पनि अरिंगालले क्षति गरिदिएपछि ३५ केजी मात्र उत्पादन भएको मानन्धरले बताए।

उत्पादन भएको मह काढेकै स्थानबाट प्रतिकेजी १ हजार २ सय रुपैयाँमा सहजै बिक्री हुने गरेको छ। मौरीपालनले आम्दानीसँगै आत्मनिर्भर बन्ने अवसर दिएको कृषकहरू बताउँछन्।

मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर आछामीले पनि घर वरिपरि मौरीपालन गर्दै आएका छन्। मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक रहेका आछामीले विद्यालयको समयबाहेक खाली समय सदुपयोग गर्दै मौरीपालन र कृषिमा भविष्य खोजिरहेका छन्।

Farmers' growing interest in beekeeping

कम मेहनतमा राम्रो आम्दानी हुने, बजारको समस्या नहुने र अन्य कृषि पेसासँग सजिलै जोड्न सकिने भएकाले उनले फलफूल खेतीसँगै मौरीपालन सुरु गरेको बताए।

आछामीका अनुसार पछिल्लो समय गाउँमा मौरी पाल्ने कृषकहरूको संख्या बढ्दै गएको छ। उत्पादन भएको मह बिक्री गर्न समस्या नरहेको र मूल्य पनि सन्तोषजनक रहेको उनले बताए।

उनले भने, 'अहिले गाउँमा मौरी पाल्ने कृषक धेरै छन्। उत्पादन भएको मह बेच्न समस्या छैन। महको मूल्य पनि ठिकै छ। मैले पनि घर वरिपरि नै मौरीका घार राखेको छु। सुरुवाती चरणमा भएकाले ठुलो मात्रामा भने मौरी छैन।'

मन्थली नगरपालिका–१, मन्थलीका चन्द्रबहादुर मानन्धर विगत डेढ दशकदेखि मौरीपालन व्यवसायमा सक्रिय छन्। सदरमुकाम मन्थलीसहित आसपासका विभिन्न स्थानमा उनले मौरीपालन गर्दै आएका छन्।

मानन्धरका अनुसार पछिल्लो एक दशकयता रामेछाप जिल्लाको सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा मौरीपालन गर्ने कृषकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। 'पछिल्लो समयमा मौरीपालनतर्फ आकर्षण बढेको छ,' उनले भने, 'विशेष गरी सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा मौरी पाल्ने कृषकको संख्या बढी देखिन्छ।'

गत वर्ष उनले ३ सय किलोभन्दा बढी मह उत्पादन गरेका थिए भने मौरीका घार बिक्रीबाट मात्र २ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो। चालु वर्षमा अहिलेसम्म नै २ लाख रुपैयाँभन्दा बढीको मौरी बिक्री भइसकेको र मह उत्पादन तथा घार बिक्रीसमेत गरी कुल आम्दानी १० लाख रुपैयाँभन्दा बढी हुने अनुमान रहेको मानन्धरले बताए।

कम लगानी, राम्रो बजार र निरन्तर आम्दानीको सम्भावना भएकाले मौरीपालन व्यवसाय रामेछापका कृषकहरूका लागि आकर्षक विकल्प बन्दै गएको उनी बताउँछन्।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully