काठमाडौं — मंगलबार भएको प्रदर्शनका क्रममा विभिन्न स्थानमा टायर, दाउरा, गाडी जलाउँदा कालोपत्र सडकमा केही सामान्य क्षति भएको सडक विभागले दाबी गरेको छ ।
विभागका अनुसार त्यस्तो सडक खण्डको पहिचान गर्ने काम भइरहेको र क्षति भएको खण्डमा पुनर्निमाण गरिने छ ।
विभागका महानिर्देशक विजय जैसीका अनुसार ठूलो क्षति नभएको र आगोले बिग्रिएको ठाउँमा कालोपत्र भत्काएर पहिलेजस्तै नयाँ बनाइने छ ।
‘आगलागीबाट कालोपत्रे गरिएको सडकमा ठूलो क्षति छैन, फेरि बिटुमिन कडा हुन्छ, हतपत बिग्रँदैन,’ उनले भने, ‘जहाँ–जहाँ क्षति भएको छ, त्यो बनाउँछौँ ।’
उनका अनुसार उपत्यका भित्र र बाहिर कहाँ कति क्षति भएको छ भनेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
