काठमाडौं — बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले नयाँ सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताएको छ ।
जेनजीको अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेसा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि परिसंघले सरकारलाई आग्रह गरेको छ । साथै नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा पनि सिबिफिन विश्वस्त रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ ।
गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्त्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रूपमा रहेका सबल र जिम्मेवार रहेको पनि परिसंघले भनेको छ ।
‘सुशासनको प्रत्याभूतिका लागि हाम्रा कलिला युवाहरूको पछिल्लो पुस्ता जेनजी अभियन्ताको आह्वानमा भएको आन्दोलनको क्रममा उत्पन्न कठिन एवं भयावह अवस्थाले अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको छ र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट बिस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहित आह्वान भएको छ । आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिनले भनेको छ ।
