जेन–जीको नाममा दबाब दिएपछि ४५ मेगावाटको भोटेकोशीको उत्पादन चार दिनदेखि बन्द, सेनाको जिम्मा लगाएर सबै कर्मचारीले आयोजनास्थल छाडे 

भाद्र २९, २०८२

काठमाडौं– जेन्सी ग्रुपको नाममा पत्र लेखेर शेयर मागेर दबाब दिएपछि सिन्धुपाल्चोकमा अवस्थित अमेरिकी लगानीमा बनेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् कम्पनीको उत्पादन चार दिनदेखि पूर्ण रुपमा बन्द गरिएको छ । 

तत्कालै १० प्रतिशत शेयर नदिएसम्म आफूहरुले नछाड्ने अडान राखेर शुक्रबारदेखि केही स्थानीय कम्पनीको पावर हाउसभित्रै सुतिरहेका छन् । स्थानीयबाट असुरक्षा हुनसक्ने भन्दै कर्मचारीले उत्पादन बन्द गरेर काठमाडौं फर्केपछि विद्युत आयोजनालाई अहिले सेनाको सुरक्षामा राखिएको छ ।

भोटेकोशी कम्पनीले आगामी असोज ३ गते वार्तामा बस्न आग्रह गर्दै जेन–जी ग्रुपको नाममा पत्राचार गरेको छ । राजनीतिक दलका नेताहरुको लिखित सहमतिमा स्थानीयलाई ६ प्रतिशत शेयर दिने निर्णय २०७१ मा भएको थियो । उक्त निर्णय कार्यान्वयन नभएको भन्दै अहिले जेन–जी ग्रुपको नाममा पत्राचार गरेर थप ४ प्रतिशतसमेत १० प्रतिशत शेयर माग गरिएको छ ।

nn 

nnजेन–जी ग्रुपको नाममा उनीहले बिहीबार आयोजनाको १० प्रतिशत शेयर निःशुल्क दिनुपर्ने भन्दै पत्र थमाएका थिए । आयोजनाले उक्त विषयमा छलफल गर्न सकिने बताएको थियो । विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने भन्दै आयोजना प्रभावित सबै परिवारलाई शेयर दिनुपर्ने अडान राखेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो । 

तर उनीहरुले तत्काल नै स्थानीयलाई निःशुल्क शेयर दिने निर्णय गर्नुपर्ने दबाब दिएपछि कम्पनीले आफ्ना सबै कर्मचारी असुरक्षित भएको भन्दै  काठमाडौं फर्काएको थियो । ‘दबाब सिर्जना गरेपछि आयोजना उत्पादन बन्द गरेर कर्मचारी काठमाडौं बोलाएका हौं,’ आयोजना स्रोतले भन्यो । अहिले उक्त आयोजना नेपाली सेनाको सुरक्षामा रहेको छ । 

आयोजनाका कुनै पनि कर्मचारी बसेका छैनन् । आयोजनाका एक इन्जिनियरले भने, ‘दबाब आउनेबितिक्कै बाँधको ढोका खोलेर उत्पादन बन्द गरेका थियौं ।’ जेन–जी समूहले भने शेयरको सुनिश्चितता नभएसम्म विद्युत् उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए । जेन–जी ग्रुपको नाम दिएपनि शेयरको माग गर्दै पत्राचार गर्नेहरु राजनीतिक दल आवद्ध कार्यकर्ता रहेका छन् ।

भोटेकोशी कम्पनीका अनुसार भोटेकोशी गाउँपालिकाका पदमबहादुर श्रेष्ठ, वीरबहादुर तामाङ, अमृत श्रेष्ठ, मेवाङ शेर्पा, टसी शेर्पा, अर्जुन कार्की, ङासाङ्बु शेर्पा, काल्देन शेर्पालगायतको समूहले शनिबार मध्यान्ह २ बजेसम्म शेयर दिने निर्णय नगरेमा भोटेकोशी कम्पनीमा हुन जाने क्षतिको जवाफदेहिता जेन–जी ग्रुपले नलिने चेतावनी पत्रमार्फत दिइएको छ । 

पत्रमा जेन–जी समूह लेखिए पनि उक्त समूहको नेतृत्व कसले गरेको छ त्यो भने थाहा छैन । शेयर पाउने सूचनाले स्थानीय पनि आयोजनास्थलमा आएका थिए । कर्मचारी एकजना पनि नबसी हिँडेका बेला स्थानीय १५ जना भन्दा बढी शुक्रबारदेखि पावर हाउसमा सुतिरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 

उनले वार्ताको प्रयास भइरहेको र विद्युत् आयोजनालाई सेनाले सुरक्षा दिइरहेको बताए । स्थानीय भने दुई दिनदेखि राति पनि त्यहिं सुतेका छन् । उनीहरुले जेन्जी ग्रुपको नाममा बिहीबार भोटेकोशी पावर कम्पनीलाई चार बुँदे पत्र पठाएका थिए । पत्रमा १० प्रतिशत शेर दिनुपर्ने, स्थानीयलाई दिएको रोजगारीको अभिलेख देखाउनुपर्ने, शेयरको नाममा नेताहरुले लिएको पैसाको अभिलेख सार्वजनिक गर्नुपर्ने तथा शनिबार मध्यान्हसम्म जेन–जी ग्रुपसँग वार्तामा आउनुपर्ने मागसहितको पत्र उनीहरुले भोटेकोशीलाई दिएका थिए ।

उनीहरुले शनिबार फेरि अर्को पत्र लेखेर वार्तामा सेनाबाहेक अरु कोही हुन नहुने जानकारी दिएका छन् । जेन–जी ग्रुपको हवाला दिएर स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि वार्तास्थलमा बस्न नहुने पत्र कम्पनीलाई लेखेका छन् ।

nn 

nnकम्पनीले शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाई पत्राचार गरेर समन्वय गरिदिन आग्रह गरेको छ । कम्पनीले २०७१ मंसिरमा ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो । त्यतिबेला काठमाडौंको एभरेष्ट होटलमा कम्पनी र दलका नेताहरुनीच लिखित सहमति भएको थियो । 

स्थानीयले नेताहरुले भोटेकोशीबाट मोटो रकम लिएर त्योबेलाको निर्णय कार्यान्वयन नगर्न खोजेकाले आन्दोलनमा उत्रेको बताएका छन् । कम्पनीले भने त्यतिबेला ६ प्रतिशत शेयर स्थानीयलाई दिन गरिएको सहमति कार्यान्वयन गर्न आफूहरु अहिले पनि तयार रहेको बताउँदै आएको छ । तर निजी कम्पनी भएकाले कानुनी झन्झटका कारण निर्णय कार्यान्वयन गर्न प्रक्रिया मिलाउनुपर्ने स्रोतको भनाइ छ ।

नेताहरुले त्यतिबेला कम्पनीबाट आफूहरुले व्यक्तिगत फाइदा लिएर प्रभावितलाई शेयर दिलाउने मुद्दा छाडेको आरोप स्थानीयले लगाउँदै आएका छन् । निजी क्षेत्रको लगानीमा २०५७ मा विद्युत् उत्पादन गरिएको उक्त आयोजनामा अहिले पनि ५ प्रतिशत अमेरिकी लगानी रहेको छ । अन्य शेयर नेपालीको रहेको छ ।

सुरुमा भने अधिकांश शेयर अमेरिकाको पाण्डा इनर्जी र हार्जा इन्जिनियरिङ कम्पनीको थियो । उक्त आयोजनाको विद्युत् खरिद सम्झौता भने अमेरिकी डलरमा भएको थियो । यो विदेशी मात्रको निजी लगानीमा बनेको मुलुककै पहिलो आयोजना हो । भूकम्प र बाढीपहिरोलगायतका कारणले यस अवधिमा आयोजनाले नियमित रुपमा विद्युत् उत्पादन गर्न नसकेको प्राविधिहरु बताउँछन् । भूकम्पका बेला निकै ठूलो क्षति भएको थियो । 

nnत्यसपछि बाढीले महिनौं बन्द भएको थियो । आयोजनाले यस बीचमा ठूलो नोक्सानी बेहोरेको थियो । त्यतिबेला अमेरिकी डलरमा पीपीए भएकाले नाफाको अनुपात तुलनात्मक रुपमा धेरै हुने भएकाले नोक्सानी विस्तारै कभर हुने कम्पनीको भनाइ छ । कम्पनीले विद्युत् उत्पादन गरेको २५ वर्ष पूरा हुन लागेको छ । 

चीनसँग सीमा जोडएको भोटेकोशी गाउँपालिकाको तातोपानी दशकिलो भन्ने स्थानमा बाँध तथा झिर्पु भन्ने स्थानमा पावर हाउस रहेको उक्त आयोजनाले सुरुमा ३६ मेगावाट र पछि ९ मेगावाट विद्युत् उत्पादन गरेको थियो । यो आयोजना केही समय पछि सरकारलाई हस्तान्तरण हुँदै छ ।

Link copied successfully