काठमाडौँ — नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव नहुने जनाएको छ । शुक्रबार विभिन्न नाकाबाट २ सय १० बुलेट ग्यास भन्सार जाँचपास भई बजारमा भित्रिएकाले तत्काल अभाव नहुने संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताए ।
घिमिरेका अनुसार सबै भन्दा बढी वीरगन्ज नाकाबाट ११५ बुलेट, भैरहवाबाट ३७ बुलेट, नेपालगन्जबाट २० बुलेट, धनगढीबाट ७ बुलेट, झापाबाट ४ बुलेट र विराटनगर नाकाबाट २७ बुलेट जाँचपास भइ छुटेको छ । एउटा ग्यास बुलेटमा औषत करिब १२६० सिलिन्डर ग्यास हुन्छ । ‘२१० ग्यास बुलेटबाट २ लाख ६४ हजार ग्यास सिलिन्डर भर्न सकिन्छ । आईओसीको रिफाइनरीमा थप ग्यास लोड भइराखेकै छ,’ संघका अध्यक्ष घिमिरेले भने, ‘ढुवानीमा आन्तरिक सुरक्षा भए अब अभाव हुँदैन ।’ शुक्रबार आईओसीको पारादिप रिफाइनेरीमा ३८ बुलेट, मथुरामा २७ बुलेट, दुर्गापुरमा १६ बुलेट र हल्दियामा ५ बुलेट ग्यास लोड भएको संघले जनाएको छ । शुक्रबार नै बरौनी रिफाइनेरीमा १५ बुलेट लोड भएको छ । बिहीबार पारादिप रिफाइनेरीमा ६४ बुलेट ग्यास लोड भएको संघका अध्यक्ष घिमिरेले बताए । त्यस्तै, मथुरामा २५ बुलेट, दुर्गापुरमा ११ बुलेट, हल्दियामा ३ बुलेट ग्यास लोड भएको जनाएको छ । ‘बरौनी रिफाइनेरी नजिकै छ । आज लोड भएको ग्यास बुलेट भोली नै नेपाल पुग्छ । अन्य रिफाइनेरीको हकमा २/३ दिन देखी एक हप्तासम्म लाग्छ,’ घिमिरेले भने, ‘आइओसीले बरौनी रिफाइनेरी मर्मतका लागि बन्द गरेको थियो, शुक्रबारदेखि लोड सुरु भएको छ । अब सहज हुन्छ ।’ जेनजीको प्रदर्शन, नेपाली सेनाको कर्फ्यु, निषेधाज्ञा र भन्सार कार्यालयको सिस्टम डाउन भएपछि आपूर्तिमा समस्या भई बजारमा ग्यास अभाव भएको थियो । शुक्रबारदेखि ग्यास बुलेट आउन थालेकाले अब अभाव नहुने संघको भनाई छ । ‘सेनाले ग्यासलाई अत्यावश्यक सुचीमा इन्धनलाई मात्रै राख्दा ग्यास आउन पाएन । आन्दोलनको क्रममा केही भन्सार पनि जले, जसले गर्दा आपूर्तिमा कठिनाइ भएको थियो,’ अध्यक्ष घिमिरेले भने, ‘अब बिस्तारै सहज हुन्छ, चाडपर्वमा ग्यास अभाव हुँदैन ।’ नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाली सेनाको कर्फ्यु, निषेधाज्ञाले ढुवानीमा केही समस्या भएपनि अभाव नै नभएको बताए । शनिबारदेखी कर्फ्यु, निषेधाज्ञा हटेकाले अब बजारमा समस्या नहुने जनाए ।
nnशुक्रबार कुन नाकाबाट कति बुलेट आए :
nnवीरगन्ज – ११५ बुलेट
nnभैरहवा – ३७ बुलेट
nnनेपालगन्ज – २० बुलेट
nnधनगढी – ७ बुलेट
nnझापा – ४
nnबुलेट विराटनगर – २७ बुलेट
