हार नमान्न आह्वान गर्दै चन्द्र ढकालले भने : हामी फेरि उठ्छौं, पुनर्निर्माण गर्छौं

'अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति हुँदा आँसु झार्न मन लाग्छ तर त्यो गर्न छुट छैन'

भाद्र २८, २०८२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालैको आन्दोलनका क्रममा उद्योग व्यवसायमा भएको तोडफोड र क्षतिले आफूलाई गहिरो पीडा दिएको भन्दै उद्योगी व्यवसायीलाई नआत्तिन, हार नमान्न र फेरि उठ्न आह्वान गरेका छन् ।

'म शून्यबाट सुरु गरेको मान्छे हुँ । पुँजी थिएन, तर सपना थियो, हुटहुटी थियो । आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने अठोट थियो । त्यही अठोटले चार दशकमा व्यावसायिक गोरेटोबाट आज फराकिलो राजमार्ग बनाएको छ,' ढकालले भावुक हुँदै  फेसबुमार्फत भनेका छन् । तर हालैको घटनाले उनलाई मन भारी बनाएको छ । 'अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति हुँदा आँसु झार्न मन लाग्छ । तर त्यो गर्न मलाई छुट छैन । किनभने मसँगै २० हजारभन्दा बढी नेपाली दाजुभाइ-दिदीबहिनीको रोजीरोटी जोडिएको छ,' उनले भने । 

भूकम्प, नाकाबन्दी, द्वन्द्व र कोभिड महामारीजस्ता कठिन घडी सम्झिँदै उनले भनेका छन्, 'त्यसबेला पनि मैले धुलो टकटक्याएर उठौँ भनेको थिएँ । आज फेरि खरानी टकटक्याएरै उठ्नुपर्नेछ । हाम्रो मन र आत्मबललाई दरो बनाउनुपर्नेछ ।'

ढकालले प्रदर्शनमा भएको हिंसात्मक गतिविधिले हजारौंको रोजगारी संकटमा परेको र अर्बौंको संरचना खरानी भएको उल्लेख गरेका छन् । 'विदेशी लगानी भित्र्याउने, लगानीमैत्री वातावरण बनाउने प्रयासमै छु तर आफ्नै व्यवसाय सुरक्षित नहुँदा मन अमिलो भएको छ । तर पनि, निराश भएर बस्ने विकल्प छैन । हामी फेरि उठ्छौँ, पुनर्निर्माण गर्छौं,' उनले लेखेका छन् । 

उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको 'इन्जिन' भन्दै समृद्ध नेपालको मार्गचित्र कोर्ने जिम्मेवारी यही क्षेत्रको काँधमा रहेको बताएका छन् । '८१ प्रतिशतभन्दा बढी योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको विकास सम्भव छैन,' ढकालले भनेका छन् ।

व्यवसायीका सपना खरानी भएको पीडा बुझ्दै उनले सन्देश दिएका छन्, 'इँटा र काठ जले पनि हाम्रो आत्मबल कहिल्यै जल्दैन । हामीसँग धैर्य, संघर्ष गर्ने क्षमता र मेहनत छ। यही नै हाम्रो वास्तविक सम्पत्ति हो ।'

उनले अन्तिममा सबै उद्योगी व्यवसायीलाई एकता हुन आग्रह गर्दै थपेका छन्, 'आउनुहोस्, फेरि उठौँ, अघि बढौँ र सुनौलो नेपालको मार्गचित्र कोर्ने साहस देखाऔँ । विश्वास गरौँ, भोलि सुनौलो बिहानी आउने नै छ ।'

Link copied successfully