निर्वाध रूपमा पेसा व्यवसाय गर्न आवश्यक सुरक्षा सामान अभाव हुन नदिन प्रयत्नशील रहन सदस्यहरूमा आग्रह
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। क्षतिबारे महासंघले थप विवरण संकलन गरिरहेको भए तापनि क्षतिको कारण राजस्व र कुल घरेलु उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरेको समेत जनाएको छ।
'पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराउन चाहन्छ।'
निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने महासंघले जनाएको छ। 'त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रूपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।
निषेधाज्ञा एवं कर्फ्युका समयमा पनि अत्यावश्यक सेवा तथा पेसाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार–पसार सहजीकरणका लागि समेत महासंघले आग्रह गरेको छ।
सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले चासो देखाएको र यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ।
'देशको समुन्नतिका लागि अन्यौल अन्त्य भई सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ। नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति–सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ,' महासंघले भनेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि अधिकांश भन्सार नाका बन्द रहेको भन्दै महासंघले अत्यावश्यक सामग्रीसहितका सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ। 'नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौं,' महासंघले भनेको छ।
