सिन्धुली — मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोज १० मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका सञ्चालक वीरेन्द्र पोखरेलले बताए ।
१० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट सञ्चालन गरिएको हो । सुरुमा यो रिसोर्ट २०७८ चैत २ बाट सञ्चालनमा आएको थियो । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायत जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने गन्तव्य बनाउने गरेका छन् । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सुरुको लगानी ३० करोड रुपैयाँ हो ।
‘रिसोर्ट मात्र होइन, सिंगो मूलकोट बजार नै डुबानमा परेर ठूलो क्षति भएको थियो,’ सञ्चालक पोखरेलले भने, ‘सबैको साथ सहयोग लिएर काम गरी पुनः रिसोर्ट सञ्चालनमा ल्याउन सफल भयौं ।’ बीपी राजमार्ग भएर संघीय राजधानी काठमाडौं आउजाउ गर्दा मूलकोटबाट उकालो–ओरालो गर्दै सुनकोशी किनारमा पहिला जसरी रिसोर्टले आकर्षित गर्थ्यो, अहिले पनि त्यसैगरी आकर्षित गर्छ । पुनः सञ्चालनमा आएको पहिलो दिन नै ३५ जना पाहुनालाई स्वागत गर्न पाएको रिसोर्टले जनाएको छ ।
‘बाढीले डुबानमा परेपछि धेरैले फोन र सामाजिक सञ्जालमार्फत निकै चासो राख्नुभयो,’ उनले भने, ‘धेरैको प्रश्न हुन्थ्यो रिसोर्ट कहिलेबाट सञ्चालनमा आउँछ ?’ अब रिसोर्ट सञ्चालनमा आएकाले कुनै समस्या नरहेको उनले सुनाए ।
सुनकोशीमा बाढी आउँदा सहजै डुबानमा नपरोस् भनेर अहिले १० फिटभन्दा बढी उचाइको छेकबार गरिएको अर्का सञ्चालक राजेश श्रेष्ठले बताए । ‘डुबानमा परेर रिसोर्टभित्र थुप्रिएको बालुवा र क्षतिले पुनः सञ्चालनमा ल्याउन गाह्रो हुन्छ कि भन्ने लागेको थियो,’ उनले भने, ‘यस्तो प्रकोप सधैं नआइरहने हुनाले थप सुरक्षित बनाई सञ्चालनमा ल्याएका छौं ।’
