२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने

एजेन्सी

काठमाडौँ — च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले नियुक्त्त गर्ने भएको छ । शुक्रबार ओपेनएआईको बोर्डले वक्तव्य जारी गर्दै सो कम्पनी चलाउन अल्टम्यान सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको जानकारी दिएको थियो ।

ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने

अल्टम्यानसँगै ओपेनएआईका सहसंस्थापक ग्रेग ब्रोक्यानले पनि कम्पनीले छोडेको घोषणा गरेका थिए । प्रविधिका सम्बन्धमा समाचार लेख्ने द भर्जका अनुसार अल्टम्यान कम्पनीमा फिर्ता हुनेबारे सप्ताहन्तमा केही पहल भए पनि अल्टम्यान र ब्रोक्म्यान दुवै माइक्रोसफ्टमा आबद्ध हुने तय भएको छ । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले नै पूर्वओपेनएआईकर्मीद्वय माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च समूहमा जोडिने पुष्टि गरेका छन् ।

‘साम अल्टम्यान र ग्रेग ब्रोकम्यानसहित उनीहरूका सहकर्मीहरू माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च टीममा जोडिनेबारे जानकारी दिन पाउँदा हामी निकै हर्षित छौं,’ नडेलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूको सफलताका लागि आवश्यक स्रोतसाधन जुटाउन हामी तत्पर छौं ।’

अल्टम्यानले पनि ‘लक्ष्य जारी छ’ भन्दै नडेलाको पोस्ट सदर गरेका छन् ।

भिडियो गेम स्ट्रिमिङका लागि प्रख्यात ट्वीच कम्पनीका पूर्वसीईओ एवं सह-संस्थापक इम्मेट शियरलाई ओपेनएआईले कार्यवाहक सीईओ तोकेको छ । यही बेला माइक्रोसफ्टले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी रिसर्चका लागि छुट्टै विभाग गठन गरेको हो । त्यसको नेतृत्त्व अल्टम्यान र ब्रोकम्यानले गर्न लागेका हुन् । अघिल्लो हप्ता मात्रै माइक्रोसफ्टले आफ्नै एआई चीप उत्पादन गर्ने घोषणासमेत गरेको थियो ।

ओपेनएआईमै माइक्रोसफ्टको अनुमानित १० अर्ब डलर लगानी छ । ओपेनएआईका लागि माइक्रोसफ्ट विशेष क्लाउड साझेदार पनि हो । ओपेनएआईले विकास गरेको चर्चित एआई बट च्याटजीपीटी निर्माण र सावर्जनिक गर्न अल्टम्यानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई बर्खास्त गरेको खबरले धेरैलाई आश्चर्यमा पारेको थियो ।

प्रकाशित : मंसिर ४, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?