चिनियाँ जहाजमा धेरै त्रुटि

कान्तिपुर संवाददाता

काठमाडौं — चिनियाँ जहाज एमए–६० को टेस्ट उडान नगरी ‘नेपाली आकाश सुहाउँदो छ’ भनी दिइएको प्रतिवेदनमा थुप्रै त्रुटि भेटिएका छन् ।

चिनियाँ जहाजमा धेरै त्रुटि
चिनियाँ जहाजको समस्याबारे अध्ययन गरिरहेको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको टोलीले ‘प्राविधिक अध्ययनबिनै चिनियाँ जहाज नेपाली हवाई आकाशका लागि ठिक रहेको भनी दिएको प्रतिवेदनमा त्रुटि फेला पारेको हो ।
‘अध्ययन सकिसकेका छैनौं, प्रारम्भिक चरणमा थुप्रै फल्टहरू देखापरेका छन्,’ चिनियाँ वायुयान समस्या समाधान समितिका संयोजक सहसचिव सुरेश आचार्यले भने । पर्यटन मन्त्रालयका सहसचिव आचार्यको संयोजकत्वमा एक महिनाअघि गठन भएको समितिले मंगलबार नेपाल वायु सेवा निगममा पुगी प्राविधिक प्रतिवेदनहरू अध्ययन गरेको थियो ।
७ सदस्यीय टोलीले तत्कालीन नायब महाप्रबन्धक गणेश ठाकुरले जहाज खरिद गर्न सकिने भनी बुझाएको प्रतिवेदनमा थुप्रै प्राविधिक कमजोरी रहेको औंल्याएको छ ।
‘अध्ययन सुरु गरेका छौं, निष्कर्षमा पुगिसकेका छैनौं तर तत्कालीन निगमका नायब महाप्रबन्धक ठाकुरको प्रतिवदेन नै गलत छ,’ सहसचिव सुरेश आचार्यले भने । एक वर्षअघि ल्याइएको एमए–६० विमान ५६ यात्रुसहित पोखरा विमानस्थलमा अवतरण/उडान गर्न नसक्ने, काठमाडौंबाट ५६ यात्रु बोकेर तराईका विमानस्थलमा अवतरण गर्न सके पनि तराईबाट ५६ जना यात्रु बोकेर फर्किन सक्दैन ।
‘काठमाडौंबाट पूरै यात्रु बोकेर गए पनि भद्रपुरबाट ३६, विराटनगरबाट ४०, धनगढीबाट ४५ जना यात्रु मात्रै बोकेर फर्किन सक्ने रहेछ तर प्रतिवेदनले यो विषयको अध्ययन नै नगरी सकारात्मक राय दिएको भेटियो,’ सहसचिव आचार्यले भने । उनका अनुसार पेलोड, तापक्रम, धावनमार्गको आकार, उच्च भूभागबारे अध्ययन नै नगरी जहाज स्वीकार गरिएको छ । यसैबीच समितिले यो जहाज अनुदानमा उपलब्ध गराउने चिनियाँ कम्पनी एभिक इन्टरनेसनले दिएको प्रतिवेदनमाथि पनि शंका व्यक्त गरेको छ ।
‘एभिकको छाप, हस्ताक्षर केही छैन । उल्टै उसले बुझाएको प्रतिवेदनबाट धेरै कुरा कटपेस्ट गरी ठाकुरको प्रतिवेदनमा राखिएको छ,’ सहसचिव आचार्यले भने । उनले तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले दिएको सुझावलाई पनि बेवास्ता गरिएको बताए । मानन्धरले पहिले नेपालका एयरपोर्टको अध्ययन गरेर मात्रै चिनियाँ जहाज ल्याउन भनेका थिए । निगमसँग यतिबेला दुइटा चिनियाँ जहाज छन् । चीन सरकारले दुइटा अनुदानमा र बाँकी चार वटा सहुलियत ऋणमा उपलब्ध गराउने नेपाल सरकारसँग सम्झौता गरेको छ । चार वटा जहाज आउन बाँकी छन् ।

प्रकाशित : श्रावण १३, २०७२ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?