धेरैलाई लाग्छ, खेलकुद भनेको शारीरिक बल, पसिना र पुरुषहरूको मात्र एकाधिकार भएको क्षेत्र हो । तर, यो उनीहरूको सतही र पूर्वाग्रही सोच मात्र हो । खेलकुद भनेको शारीरिक बल मात्र होइन, यो त रणनीति, सूक्ष्म बुझाइ, धैर्य र सौन्दर्यको अद्भुत संगम हो ।
What you should know
अछाम — भर्खरै फिफा फुटबल विश्वकपको महासंग्राम सकिएको छ र मेरो मन अझै पनि मैदानको बलको प्रहारसँगै दौडिरहेको छ । अछामको यो कठिन भूगोल, यहाँको मौसमी प्रतिकूलता र मध्यरातमा झ्याप्प झ्याप्प जाने बत्ती र इन्टरनेटको सिग्नल टुट्ने समस्यासँग जुध्दै खेल हेर्नुपर्ने संघर्ष मेरा लागि सामान्य नै भयो । जाडो महिनाको कठ्याग्रिँदो चिसो होस् वा वर्षायामको बिजुलीको झ्याप्प–झ्याप्प लुकामारी, यी सबै प्राकृतिक तथा भौतिक बाधालाई चिर्दै स्क्रिनमा हेर्नु नै मेरा लागि खेलप्रतिको प्रेम हो ।
जब नेपाली महिला फुटबलकी चम्किलो तारा सावित्रा भण्डारी (साम्बा)ले विपक्षीको पोस्टमा गोलको वर्षा गर्छिन्, जब क्रिकेटकी उदाउँदी प्रतिभाशाली खेलाडी पूजा महतोले क्रिजमा उभिएर टिमको नेतृत्व सम्हाल्छिन्, म आफूलाई मैदानभित्रै उत्रिएर खेलिरहेको महसुस गर्छु ।
यो सोखलाई हामी हुर्किएको समाजले कति सहज रूपमा लिन्छ वा लिँदैन भन्ने कुराको अनगिन्ती अनुभव मसँग छन् । हाम्रो गाउँठाउँको परिवेश, मेलापातको बोझ र चुलोचौकोको चार किल्लाभित्र मात्रै छोरीमान्छेको दुनियाँ सीमित गरिदिने सामाजिक साँघुरा परिधिहरू अझै पनि पूर्ण रूपमा फेरिएका छैनन् । पुरुषहरू जति सहजताका साथ खुला रूपमा राति बाहिर निस्किएर ठूला पर्दामा हुल बाँधेर खेलको आनन्द लिन सक्छन्, महिलाहरूका लागि त्यो वातावरणको कल्पना गर्न पनि निकै कठिन छ । छोरी अर्थात् महिलाहरूका लागि पुरुषसरह खेल खेल्ने, राति अबेरसम्म बाहिर बसेर त्यसको रमाइलो लिने स्वतन्त्रता सहजै प्राप्त छैन । असहजताका सीमाहरू छन् भन्दैमा हामीले खेल हेरेर बुझ्दैनौं, जान्दैनौं र त्यसको गहिराइ महसुस गर्न सक्दैनौं भन्ने सोचाइ नै साँघुरो हो ।
क्रिकेटको वर्ल्ड कप होस् अथवा फुटबलको महाकुम्भ, नेपालकै बहुप्रतीक्षित एनपीएलको क्रेज होस् तथा भारतको आईपीएलको रमझम, विश्वका चर्चित क्लबहरू म्यान्चेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड, लिभरपुलका रोमाञ्चक भिडन्तहरू— म प्रायः सबै खेल रुचिसाथ हेरिरहेकी हुन्छु । जब खेल चलिरहन्छ, मैदानभित्रको रणनीतिको हलचलले मेरो मनलाई पनि तरंगित बनाइरहेको हुन्छ । त्यसपछि म सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्ने गर्छु । तर, अचम्मको कुरा त के छ भने जब एउटी केटीमान्छेले खेलका बारेमा स्टाटस लेख्छे या बोल्छे, समाजका धेरै साथीहरू र पुरुष वर्गको नजरमाथि एउटा अदृश्य अविश्वासको तुवाँलो तेर्सिन्छ ।
उनीहरूभित्रको यही पुरुषवादी सोचले गर्दा उनीहरू ज्ञानको परीक्षा लिन खोज्छन् । खेलको हर पल र नियममा मलाई क्रस–चेक गर्न खोज्छन् । उनीहरू प्रश्न तेर्स्याउँछन्— फुटबलको अफसाइड भनेको के हो ? फ्रि किक र पेनाल्टी कसरी पाइन्छ ? रेड कार्ड पाएपछि मैदानमा के हुन्छ ? अझ क्रिकेटका नियम सोध्नेहरूको त लामो फेहरिस्त नै हुन्छ— वाइड बल, नो बल, क्याच आउट, बोल्ड, ओभर, स्पिनर र फास्ट बलर भनेको खासमा के हो भन्दै क्षमता मापन गर्न खोज्छन् ।
के केटी मान्छेलाई खेलका नियम सोधेर कत्तिको बुझेकी छ भनेर सोधिने प्रश्नको पात्र न म एक्लो हो न पहिलो । मजस्तै धेरै दिदीबहिनीले यो सामाजिक प्रश्नको सामना गरिरहेका छन् । सायद यस्ता प्रश्नको सिकार म मात्र होइन, खेलकुदलाई प्रेम गर्ने धेरै ग्रामीण महिलाहरू भइरहेका छन् ।
समाजले महिलाको बौद्धिकता र शारीरिक क्षमतालाई सधैं घरको चार किल्ला, मेलापात र चुलोचौकोभित्र मात्रै सीमित गर्न खोजेकै छ । समाजको यो संकुचित बुझाइलाई खेलकुदको मैदानसँग जोडेर हेर्दा यसको कुरूप तस्बिर प्रस्ट हुन्छ । धेरैलाई लाग्छ, खेलकुद भनेको शारीरिक बल, पसिना र पुरुषहरूको मात्र एकाधिकार भएको क्षेत्र हो । तर, यो उनीहरूको सतही र पूर्वाग्रही सोच मात्र हो । खेलकुद भनेको शारीरिक बल मात्र होइन, यो त रणनीति, सूक्ष्म बुझाइ, धैर्य र सौन्दर्यको अद्भुत संगम हो ।
फुटबलको मैदानमा बनाइने पासिङ रणनीतिको नक्साङ्कन होस् वा क्रिकेटको पिचमा ब्याट्सम्यान र बलरबीचको मानसिक चेस, यसका लागि शारीरिक तागतभन्दा बौद्धिक क्षमता र खेलको ज्ञान आवश्यक पर्छ । मैदानमा दौडिने ठूल्ठूला रेफ्री र विज्ञहरू नै नियमको विश्लेषणमा कन्फ्युज भइरहेका बेला, टीभीको पर्दाअगाडि बसेर खेलको आत्मा महसुस गर्ने मजस्ता हजारौं महिलाको ज्ञानमा प्रश्न उठाउने अधिकार कसैलाई छैन ।
प्रविधि र इन्टरनेटको यो डिजिटल युगले ग्रामीण भेगका महिलाहरूको जीवनमा एउटा सानो क्रान्ति नै ल्याइदिएको छ । पहिले घरको चार किल्लाभित्र थुनिएका महिलालाई प्रविधिले बाहिरी दुनियाँसँग जोडेको छ । सुदूरपश्चिम र कर्णालीका ग्रामीण बस्तीहरूमा खेल हेर्ने र खुलेर त्यसको उत्सव मनाउने महिलाहरूको संख्या तुलनात्मक रूपमा निकै कम हुनुका पछाडि इन्टरनेटको पहुँचको असमानता, जरा गाडेर बसेको पितृसत्तात्मक सोच र कसिलो सामाजिक बन्धन जिम्मेवार छन् ।
एउटा छोरामान्छेको हुर्काइ खेलकुद, स्वतन्त्रता र मैदानको धूलोसँग खेल्दै सुरु हुन्छ भने छोरीको हुर्काइ घरभित्रको अदृश्य काम, जिम्मेवारी र मेलापातको भारीबाट सुरु हुन्छ । बाल्यकालदेखि नै पाइने यो असमान हुर्काइले मानिसको रुचिलाई समेत दबाउने र फुलाउने काम गर्छ ।
हरेक ठूला फाइनल खेलहरू हुँदा बाहिर ठूला पर्दामा जम्मा भएर सामूहिक रूपमा हेर्ने चलन भए पनि, विश्वकपजस्ता ठूला खेलहरू नेपालको समयअनुसार प्रायः मध्यरातमा पर्छन् । त्यो मध्यरातको अन्धकारमा, हुलसँगै बाहिर निस्किएर रातभर खेल हेर्न महिलालाई सजिलो पक्कै छैन, र म त्यस्तो वातावरणमा आफूलाई सुरक्षित पनि महसुस गर्दिनँ । जब असुरक्षाको महसुस हुन्छ, म आफैं पछि हट्छु र आफ्नै कोठाको चार किल्लाभित्र बस्छु । बाहिर हुलमा गएर चिच्याएर खेल हेर्न नपाए पनि, कोठामा बसेर मोबाइल, ल्यापटपको सानो स्क्रिनमा हेर्दै मध्यरातमा गोल हुँदा भित्रभित्रै खुसीले उफ्रिने मेरो स्वायत्ततालाई कसले खोस्न सक्छ र ?
अछामको यो एक गाउँको एउटा कोठामा, मध्यरातमा, बेलाबेला जाने बत्ती र कमजोर नेटको समस्यासँग संघर्ष गर्दै संसारको अर्को छेउमा भइरहेको खेललाई महसुस गर्नु मेरो छुट्टै आनन्द र खुसी हो । प्रविधिले हामीलाई दिएको यही डिजिटल पहुँचले हाम्रा यी व्यक्तिगत खुसी र स्वतन्त्रताका दायराहरूलाई अझ फराकिलो बनाइदिएको छ । मलाई थाहा छ, एक महिलाको यो रुचि र खेलप्रतिको प्रेमलाई समाजका संकुचित आँखाहरूले अनौठो मान्न सक्छन । तर खेलप्रतिको प्रेम कुनै पनि सामाजिक बन्धन, पुरुषवादी सोचको परिधिभित्र खुम्चिने छैन । खेल सबैको हो, भावना सबैको साझा हो र मध्यरातमा जागेर खेलको धड्कन महसुस गर्ने अधिकार जति अरू कसैको छ, मेरो पनि त्यत्ति नै हो... ।
