अनि ऊ खाडी गयो !

जनयुद्ध लडेका मनहरू आज एउटै विचार, भूगोल र दलमा छैनन् । विपरीत ध्रुवमा विभाजित छन् । तिनका उद्देश्य र विचार देश–देशान्तर फिजिएका छन् ।अधिकांश जीविकाका लागि खाडी पुगेका छन् ।

फाल्गुन १, २०८२

लोमनकुमार सुनार

What you should know

काठमाडौँ — शिशिर ऋतुको चिसो याम, पहाडको नागबेली यात्रामा निस्कँदा कालिकाको अक्करे भिरमा भेडा चराउँदै गरेको वीर बहादुर कमरेड ‘चट्टान’ को दारुणिक कथाले मलाई तान्यो । २२ वर्षअघि छापामारहरूको हुलमा मिसेर त्यो भिरालो टाकुरोमाथि वीर बहादुरको सानो झुपडीमा म पनि ओत लागेको थिएँ ।

फेरि त्यही झुपडीमा फर्केर, जनयुद्धको ज्वारमा डुबेर, आतंक र आनन्दमय पलहरूको नोस्टाल्जियामा फन्को मारिरहेछु । र, एकटक हेरिरहेछु । छापामार बसेको तिनचुले पहाड, हरिया जङ्गलहरू, इन्द्रेणी फुल्ने द्वारी झरना, मात्तिँदै बगिरहेका स–साना खहरेहरू ! र ग्रामीण भू–दृश्यहरूले मन पुलकित । यदाकदा मान्छेहरूको अस्पष्ट आवाज र तार छिनेको सारङ्गीजस्तै गुन्जिरहेको पुरानो सङ्गीतले परिवेश झङ्कृत छ ।

सम्झनाको द्वारमा झल्किरहेछन् । केहरसिंह काका, जसले जनयुद्धमा प्रगति, पदम र अनुजा गुमाए । कालिका वरिपरि ६४ जना सहिद भए । २०५८ सालमा एकै घरका भूमिगत लालिसर बुढा मगर र जमुनाले कैलाली मसुरिया भिडन्तमा प्राण उत्सर्ग गरे । दैलेखका १ सय ७० भन्दा बढी सहिद र ब्याटलमा छुटेका कयौँ कमरेडहरू आँखा वरिपरि घुमिरहेछन् ।

आदिम यादहरूको अटालीमा वीर बहादुर लुसुक्क छिर्छ, र देखाउँछ भरभरे लेक ! जहाँ उसले र मैले जनसैन्य मार्च अभियानको दौरान एक महिने सैन्य तालिम र स्कुलिङ लिएका थियौँ । माक्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, जनवादी संस्कृति र सैन्य विज्ञान खुब रटेका थियौँ । युद्धका स्कुलिङहरूलाई वीर बहादुर माक्सवादी विश्वविद्यालय भन्थ्यो । विश्वविद्यालय नै जङ्गलभित्रको डार्क ग्रीनमा सजिएका क्यामोफ्लाज हलहरू थिए । सेल्टरहरू पालुवाले छाएका र निङ्गालोले घेरिएका थिए । खोल्साहरूमा पुत्ताइरहने माछाले भोक भर्थ्यो । अग्ला सेन्ट्री आर्कले सुरक्षा गर्थे । र, लामा सुरुङहरूमा ताता मनहरू शान्त हुन्थे ।

वीर बहादुर र मैले बाँचेको समय र यादहरू फेरिएका छन् । तर, प्रकृति र जीवनको दुर्गमता उस्तै छ । हामीले बारुद बोकेर हिँड्ने टिमुरेका साँघुरा गोरेटो र उत्तिसैनीका भिराला बाटाहरू माघको चिसोमा बरफले चर्केको सीसाजस्तै देखिएका छन् । चेप्टे र भित्रीखोलाका साना खोच र तालहरूमा पानी जमेको छ । अलि माथि हिउँ फुलेका चुलीहरू र तल बाँगिएका पातला बस्तीहरू शीतलहरले लपेटिएका छन् । सर्दिलो मौसममा टिमुर र नुन मिसाएको हिमाली चिया पिउँदै गफिँदै थियौँ । वीर बहादुर जीवनको अवसाद र जनयुद्धका झन्झावतहरूमा फर्क्यो ।

गरिबीको पीडा

आठ कक्षा पढ्दापढ्दै काला पहाड छिर्‍यो वीर बहादुर । परिवार पाल्ने झिनो आशामा सिम्लाका पहाडहरू चहार्‍यो । स्याउ टिप्यो । मनालीका पहाडहरूमा बोझा बोक्यो । नैनीतालका ढाबाहरूमा भाँडा माझ्यो । धेरै गल्लीहरू चहार्‍यो । चौकीदारी गर्‍यो । तर पुग्दो तलब पाएन ।

२०५४ को गर्मीमा कालापहाड जानेहरूको लर्कोमा मिसियो वीर बहादुर पनि । भगी, बुदे र रणे लगाएत दर्जन साथीहरूसँग बाङ्गेको बगरैबगर नौमुले झर्‍यो । काँडाचौरबाट बस चढ्यो । रोजगारीको खोजीमा भौतारिँदै कालापहाड पुग्यो ।

तीन वर्षअघि कुल्लू गएका उसका ठूला दाइले मनालीमा सडक बनाउने काम पाए । दुई वर्ष पसिना बगाए । भिरालो बाटो खने । चट्टानी पहाडहरू फोडे । सडक किनारको टेन्टमा बास थियो । त्यही पकाउँथे, खान्थे र सुत्थे । सडक खन्दै गर्दा पहिरोले दाइलाई पुर्‍यो । दाइसँगै परिवारको आशा र सपनाहरू पहिरोमा पुरिए ।

आँखा रसाउँदै वीर बहादुरले भन्यो — पढाइ राम्रो थियो । कक्षामा अब्बल थिएँ । आकाशे रङको सर्ट, निलो पाइन्ट र दिदीले बुनेको छिर्केमिर्के झोला छड्के भिरेर स्कुल जान्थेँ । दाइले पठाएको नरिवलको तेल मेरो शरीर र कपालमा खुबै मगमगाउँथ्यो ।

आँखाले साउती गर्नु, मन परेको केटीलाई लभ लेटर लेख्नु, एकान्तमा लाइन मार्नु, मुस्कानहरू बाँड्नु — ती दिनहरू कम्ता रोचक थिएटिनेजको सुखद र भावनात्मक क्षणले स्कुलमा साथीहरूसँग समय बितेको पत्तै हुँदैनथ्यो । हाफटाइममा सतरञ्ज खेल्थ्यौँ । स्कुलछेउको खोला किनारमा टहलिन्थ्यौँ । पढ्दापढ्दै साथीहरू जिस्कन्थे । इन्जिन नभएको कागजको जहाजमा कक्षाकोठाभरि हामी उडान भर्थ्यौँ ।

आँखाले साउती गर्नु, मन परेको केटीलाई लभ लेटर लेख्नु, एकान्तमा लाइन मार्नु, मुस्कानहरू बाँड्नु — ती दिनहरू कम्ता रोचक थिएनन् । त्यो सब समय र उमेरको खेल थियो । दुर्भाग्य, मेरो स्कुले जीवन सकिएकै थिएन कि दाइको मृत्यु भयो । किशोर वयमा अङ्कुराउँदै गरेका मेरा सुनौला सपनाहरू समाप्त भए । मैले कापी, कलम र छड्के झोला होइन, त्यसको सट्टा परिवार पाल्न कालापहाड पुगेँ ।

घर छोड्दा आमा खुब रोइन् । भाइले आधा बाटोसम्म हातै छोडेन । बाले गला अवरुद्ध गर्दै भने — “बीरे, तेरै भरमा छौँ । बुढेसकालको सहारा तैँ होस् ! ज्यानको ख्याल गर । राम्रो नोकरी गर्नु । घर खर्च र भाइलाई कापीकिताब किन्न पैसा पठाइदिनु ।” सत्तरी काटेका बाको अनुहारभरि चिन्ताको सागर बगिरहेको थियो । आँखाका आँसु भुइँसम्म तप्किँदै थिए । हेर्दाहेर्दै बाङ्गेको घुम्तीले बाबा र मेरो दूरीलाई गायब गर्‍यो । दुःख र परिस्थितिले म मुग्लानी भएँ ।

रोजगारीको स्थायी थलो नहुँदा वीर बहादुरले पनि दाइले चालेका सिम्ला, मनाली र गढवाल पहाडहरू चहार्‍यो । धेरैचोटि नैनीतालहरूमा फन्को मार्‍यो । कुल्लूमा उसको यात्रा रोकियो । वृद्ध बा–आमा, दिदी र भाइ सम्झ्यो । भावनाको लहरमा लहरिएर आफूले बाँचेका लेकबेँसीहरूमा दुई वर्षपछि फर्क्यो ।

जनयुद्धको लहर

देश भीषण युद्धको चपेटामा थियो, वीर बहादुर घर फर्कँदा । माओवादीले नौमुले इलाका प्रहरी कार्यालय २०५७ चैत्र २४ मा रेड गरिसकेको थियो । ३१ जना प्रहरी र ७ जना जनमुक्ति सेनाको सहादत भयो । प्रहरीबाट कब्जा गरिएको ५८ थान राइफलले युद्ध झन् मजबुत हुँदै गयो । चेप्टे, द्वारी, भित्रीखोला, भाँडे र नौमुलेमा जनसत्ता र जनकम्युनहरू हुर्किए । माओवादी उभार थेगी नसक्नु थियो । एक घर एक डब्लुटीको लहरमा नौमुले वरिपरिका गाउँहरू ताते । त्यही लहरमा मिसियो वीर बहादुर ।

क्रान्तिको लहरमा मिसिँदा जीवन र समाज बदलिन्छ । गरिबी, अन्याय, असमानता र अत्याचारका पर्खालहरू भत्किन्छन् । वर्ग, जाति, क्षेत्र, लिङ्ग अर्थात् मान्छेले मान्छेमाथि गर्ने विभेदहरू अन्त्य हुन्छन् । यस्तै रुमानी सपनाहरूले तानेको थियो वीर बहादुरलाई जनयुद्धमा । र, उसले जीवनको एक्लोपन, निराशा र पीडाहरूलाई भविष्यको आशा र आक्रोशको बारुदमा बदल्यो ।

माओवादीले कालिकाको भित्री गाउँ, अछाम मंगलसेन आक्रमण तयारी गरिरहेको थियो । त्यो तयारीमा थियो वीर बहादुर । पार्टीले जहाँ पठायो, त्यही खट्थ्यो । युद्धका असजिला दिनहरूमा उसले र मैले लामो सहकार्य गर्‍यौँ । दैलेख, सुर्खेत, सल्यान हुँदै हामीले बाँके र बर्दिया नाकाबाट बारुद, विस्फोट पदार्थ, ग्रिनेड र हतियारहरू कयौँ पटक आधार इलाकामा सप्लाइ गर्‍यौँ । जाजरकोटको चट्टानी गुफा र दैलेखको घनाघोर जङ्गलमा कयौँ रातहरू कटायौँ । बँदेलको सुकुटी र आटोका डल्ला मिठो मानेर खान्थ्यौँ । पाइपभित्र जमेको बरफ पगालेर चिया पिउँथ्यौँ । अग्ला पहाड र लेकहरू चढ्दा भातको बोरा, सुकुटी, चिउरा, सातु र चाउचाउसँगै बोकेर हिँड्थ्यौँ ।

लडाइँका मोर्चाहरू 

छापामार हमलादेखि सुरु भएको जनयुद्ध रोल्पा, रुकुम, जाजरकोट, सल्यान, कालिकोट, दैलेख र सुदूरपश्चिम फन्को मारेर पूर्वी नेपाल हुँदै काठमाडौं थानकोटसम्म फैलियो । युद्धले रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणका कहालीलाग्दा चरणहरू पार गर्‍यो । तीनै चरणहरूमा वीर बहादुरले मोर्चाबन्दी र चलायमान युद्धहरू लड्यो । दाङ, स्याङ्जा, सोलुखुम्बु, अछाम, रोल्पा, डोल्पा, अर्घाखाँची, बेनी, खारा हुँदै पिलीसम्म दर्जनौँ युद्धहरू !

कालिकोट पिलीबाट फर्किँदा वीर बहादुर कम्पनी कमान्ड भइसकेको थियो । दैलेख आउने ब्रिगेडको अग्रपङ्क्तिमा देखियो । हामीले भव्य स्वागत गर्‍यौँ । घाँटीमा माला, हातमा M-16, र कम्ब्याटमा ठाटिएको थियो । यस्तो लागिरहेको थियो कि सिकन्दर र नेपोलियनजस्तै—विश्वविजयको अभियानबाट फर्केको छ ।

जनयुद्धले विजय र पराजयका प्रचुर अनुभवहरूबाट फ्युजनको राजनीति र सैन्य कार्यदिशा तय गर्‍यो । दीर्घकालीन जनयुद्धको चिनियाँ मोडेलमा टेकेर रुसी मोडलबाट शिखर चुम्ने उद्देश्य लियो । प्रचण्ड र थिंक ट्याङ्कहरूले आधार इलाकाबाट प्रत्याक्रमणको घोषणा गरे । युद्धका मोर्चाहरू तराई, गण्डक र अन्ततः काठमाडौंतिर सोझिए । जनयुद्ध प्रत्याक्रमणको उत्कर्षमा पुग्यो । ढाडमा टेकेर टाउकोमा हान्ने ।

प्रत्याक्रमण चरणसम्म सेना र प्रहरीका बेस क्याम्प अनि ब्यारेकहरू गाउँबाट खाली भएर बीस प्रतिशत भूभागमा खुम्चिएका थिए । युद्धको रणनीति तराई र सहरमा केन्द्रित थियो । पूर्व–पश्चिम राजमार्गको दक्षिण भाग लडाइँको मुख्य केन्द्र थियो । झापादेखि कञ्चनपुरसम्मका हाईवेहरूमा जनमुक्ति सेनाले एम्बुस कारबाहीलाई तीव्रता दियो ।

स्वचालित हतियारसँगको पहिलो लडाइँ दाङ घोराही हो । पूर्व डिभिजन सहकमाण्डर दीपकका अनुसार, त्यो सेनामाथिको सरप्राइज अट्याक थियो । मंगलसेन, अर्घाखाँची, गाम र पिली सफल किल्लाबन्दी आक्रमण हुन् । यद्यपि जुम्ला र रुकुम खारा डिफेन्स गर्न नसक्दा पराजित हुनु पर्‍यो ।

युद्धमा बन्दुकभन्दा ठूलो विश्वास र मनोबल हुन्छ । २०५६ मा कमाण्डो ग्रुपले सुर्खेत ओलचिङ प्रहरी चौकीमा आक्रमण गर्‍यो । अग्रपङ्क्तिमा थिए दीपक । रिभल्बर फायरिङ गरे । सँगै चारैतिर सकेट र बमहरू बर्सिए । चौकी छिनमै तहसनहस भयो ।

लडाइँको मोर्चामा दीपकलाई मर्छु भन्ने कहिल्यै लागेन । औलचिङदेखि तौलिहवासम्म अनवरत लडे । तर बर्दिया गणेशपुरमा जीतको सहादतले दीपक झस्किए । जीत सहभागी लडाइँहरू हार्ने कल्पना पनि गरिँदैनथ्यो । जीत लडाइँमा आगो ओकाल्थे । मनोबलको केन्द्र र ब्याटलको टप फाइटर हुन् । जीतको विचार, भावना, साहस र एकताको रसायनले धेरै ब्याटलहरू जितियो ।

युद्ध जित्न र दुश्मनलाई भौतिक र मनोवैज्ञानिक रूपमा तहसनहस गर्न भौतिक शक्ति मात्र होइन, निर्णायक हुन्छ — विचार, हतियार, तालिम, प्रविधि, मनोबल, व्यवस्थापन र युनिफाइड कमान्ड । होलेरीको छापामार युद्धदेखि खारा र पिलिका किल्लाबन्दी युद्धहरू यिनै कुराका साक्षी हुन् । र, हुन् ती विचार, रणनीति र फौजी कार्यनीतिका योजनाबद्ध श्रृङ्खलाहरू !

जनयुद्धको देन

माओवादी जनयुद्ध मूलतः राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि भएको हो । यसमा मालेमावादी विचार, द्वन्द्वात्मक भौतिकवादी दर्शन, स्पष्ट राजनीतिक दिशा र नयाँ जनवादी कार्यक्रम समावेश थिए । जनयुद्धले समाजमा पारेको प्रभाव र जनतामा ल्याएको जागरण निकै स्मरणीय र अभूतपूर्व छ ।

जनयुद्धमा भूइँमान्छेहरूले भविष्य देखे । मृत्यु भित्र पनि मुक्ति रोजे । अभावमा परेको वर्गले नै सबैभन्दा बढी बन्दुक बोक्यो । बन्दुकको नालमा अमिलो बारुद भरेर त्यही वर्गले सामन्तका किल्ला र अखाडाहरू फोड्यो । दब्बिएका आवाजहरू बारुदको धुवाँभित्र झन् झन् विस्फोट भए ।

जनयुद्धको लहरले दलित, महिला, जनजाति, थारु, कमैयाहरू जागे । सीमान्तकृत र मधेसीहरू पनि एकसाथ ब्युँझिए । आवाजमा वञ्चित, अक्षरमा वञ्चित र अधिकारमा वञ्चितहरूले बमको धमाकाभित्र गणतन्त्रको आवाज घन्काए । राजा नै सर्वेसर्वा हुने, जनताले चुन्नु नपर्ने, वंशानुगत पुस्तान्तरण भइरहने परम्परालाई फालिदिए । तिनै उत्पीडितहरूको त्याग र बलिदानबाट जन्मियो संघीय लोकतान्त्रिक गणतन्त्र ।

जनयुद्धको बलमा गणतन्त्र आयो । भूइँमान्छेहरूले त्यसलाई पूर्णतः भोग गर्न पाएनन् । सत्ता, सरकार, संसद, शक्ति, पहुँच, आर्थिक हैसियत र सुविधा केही वर्ग फेरिएकाहरूले पाए । अधुरो क्रान्ति र अस्थिर राजनीतिले कोपभाजित जनयुद्ध लडेका र नयाँ पुस्तामा अति निराशा, नेतृत्वप्रति अविश्वास र बेरोजगारीले विदेश पलायन युद्धस्तरमै निम्त्याइरहेको छ । अधुरो क्रान्तिलाई उदयमान पुस्ताले सुनौलो भविष्यतिर डोर्‍याउन सक्ला त ? यी प्रश्न, सपना, आशा र अज्ञात भविष्यको त्रासले नयाँ पुस्ता र हरकोहीलाई डसिरहेको छ ।

फिजिएका मनहरू

सानै छँदा कैलालीका प्रेम बयकले छयालीसको जनआन्दोलन भोगे । पञ्च, मुखिया र सामन्तीहरूको जाली र फर्जी तमसुक च्यात्न क्रान्तिकारीको हुलमा मिसिए । किसान संगठनमा हुँदा कमैया, कमलरी र मोही किसानहरू सङ्गठित गर्दै तराईका गर्मिला फाँटहरूमा खुब कुद्थे ।

२०५४ को क्याम्पस राजनीतिले उनीभित्र विद्रोही चेतना भर्‍यो । गाउँमा माओवादीले गराएको सैन्य तालिममा प्रथम हुँदा जनयुद्धको आकर्षणले तान्यो । लडाकु दल, छापामार, मिलिसिया हुँदै जनमुक्ति सेना पश्चिम कमान्ड अर्बान ग्रुपमा रहेर युद्ध मोर्चाहरू लडे । अछाम मंगलसेन लडाइँमा उनको कम्ब्याट छेडेर गोली भाग्यो, संयोगले बचे । तर रोल्पा गाम भिडन्तमा टाउकोमा गोली लाग्यो, घाइते भए । घाइते हुँदा पनि २०५९ कार्तिक २८ गते जुम्लाको खलंगा आक्रमणमा एसाल्ट ग्रुपमा जमेरै लडे ।

रेन्जर बटालियनसँग २०६१ फागुन १४ मा कैलाली मसुरिया बडैपुरमा भएको भिडन्तमा उनको मेरुदण्डलाई गोलीले छेड्यो । नेपालमा उपचार पाएनन् । उपचारक्रममा दिल्ली पुगे । अस्पतालमै गिरफ्तार परे । यातना गृहमा कष्टकर दिनहरू झेलिरहेका बयक १२ बुँदे सम्झदारीपछि नेपाल फर्के । तर उपचार अभावले उनका दुवै खुट्टा चल्न बन्द भइसकेका थिए ।

ब्याटलको अग्र मोर्चामा लडेका बयक ब्यालेटको राजनीतिमा अयोग्य भए । अनमिनको प्रमाणीकरणमा परेनन् । घाइते शरीर समालेर ब्यारेकबाट निस्के । कम्मरमा बेल्ट, दुवै खुट्टामा क्यालिपर र वाकरको सहारामा जिन्दगी धकेलिरहेका प्रेम बयकले माघको चिसो साँझ धरहराको पटाङ्गिनीमा जनयुद्धको आतंक र आनन्दमय क्षणहरू धेरै बेर सम्झिरहे ।

भेरीको छालमा कान्तिपुरका पानाहरू पल्टाउँदै गरेकी खुमा सुवेदी ‘डोल्पा माओवादी कमान्डर पक्राउ’ शीर्षक समाचारले झस्किइन् । २०५५ वैशाख १४ मा जाजरकोट रावत गाउँबाट प्रहरीले डोल्पा सेक्रेटरी नन्द न्यौपाने ‘प्रभात’ पक्राउ गर्‍यो । खुमा चार महिने छोरालाई दूध चुसाउँदै थिइन् । जनताको घर र जङ्गलको सेल्टरमा लुकिछिपी बस्थिन् । गर्भवती अवस्थामा पनि दस महिना भइसकेको थियो प्रभातसँग भेट नभएको । आँसु लुकाएर हाँस्नुपर्ने बाध्यता थियो । २०५५ वैशाख २१ मा सल्यानमा प्रभातको सहादतको खबरले खुमाको संसार उजाडियो ।

जनयुद्धको गाढा प्रेम र सम्बन्धले खुमा र प्रभातलाई २०५३ मै जनवादी बिहेमा बाँध्यो । बिहेको हप्तादिनमै पार्टी कामले आ–आफ्नो कार्यक्षेत्र लागे । दूर कार्यक्षेत्रले सहजीवन सहज थिएन । अप्ठ्याराहरूमा साथ दिने बाचा सहित छुटेका थियौँ । खुमा भन्छिन्, फेरि प्रभात र मेरो कहिल्यै भेट भएन । त्यसो त जनयुद्ध लडेका, चोट खपेका, घाइते, अपाङ्ग (१५ सय), सहिद (८ हजार) र वेपत्ता (२ हजार) परिवारहरू हृदयभित्र दर्द लुकाएर बाँचेका छन् ।

प्रभातको सहादतमा आँसु लुकाएर बाँचेकी खुमाले भावना, आक्रोश र पीडालाई युद्धका धम्कामा मिसाइन् । पिठ्युँमा बच्चा र काँधमा बन्दुक बोकेर हिँडिन् । कयौँ पटक बच्चासँग दुश्मनको घेरामा परिन् र तोडिन् । बच्चासँग छुटेका पीरहरू छन् । र, छन् कमरेडहरू रगतमा लत्पतिएर ढल्दाका आक्रोशहरू । दुश्मनको जङ्गली अप्रेसन र घेरा तोड्दा बालबाल मृत्यु छलेका दुर्बोध्य पलहरू छन् । रोल्पामा दुश्मनको घेरा तोड्दा उनको काखबाट बच्चा छुट्यो । कमरेडले बाह्र घण्टापछि बच्चा बुझाइन् । उनीभित्र मरेका आशाहरू पलाए । आजभोलि उनी सहिदको सपना र अधुरो क्रान्ति कसरी पूरा गर्ने भन्ने पीरहरूको भुँवरीमा बाँचिरहेकी छन् ।

शान्ति प्रक्रिया आरम्भ हुँदा सल्यानका चन्द्र बहादुर खड्का जनमुक्ति सेनाबाट YCL आए । २०५२ मा भूमिगत भएको एक वर्षमै गिरफ्तार परे । राज्यको क्रूर यातना झेले । प्रहरी दमन उत्कर्षमा थियो । यातनाका घाउहरू सुकेकै थिएनन् । घरमा सुतिरहेका बुबा माघु खड्कालाई प्रहरीले गोली हान्यो । कहिल्यै नउठ्ने गरी ढले ।

स्क्वाडर कमान्डरदेखि विभिन्न सैन्य फर्मेसनको कमान्ड समालेर झन्डै पाँच दर्जन लडाइँ लडेका चन्द्र घाइते छन् । जनयुद्ध, शान्ति प्रक्रिया र विप्लवले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा पटक–पटक गिरफ्तार परेका खड्का ११ महिने जेल बसे । भूमिगत र प्रतिबन्धित राजनीतिबाट खुला राजनीतिमा आएसँगै विप्लवले सुरु गरेको कृषि क्रान्तिमा सरिक छन् । कपिलवस्तु शिवगढीको गुलजार फाँटमा थरीथरीका बाली फलाइरहेका छन् । चन्द्रले कृषि क्रान्तिमार्फत जनतालाई आत्मनिर्भर र देशलाई समृद्धि बनाउने सपनाहरू फलाइरहेका छन् ।

म्यादीका डाइमन सीले जनयुद्धमा देखेका सपना अधुरै रहे । सपनाको आधीमा लपेटिएर रुस पुगे । हाल युक्रेनविरुद्धको युद्धमा रुसी सेनाका सर्जेन्ट र अग्र मोर्चामा लडिरहेका छन् । १६ वर्षमै जनयुद्धमा सहभागी डाइमण्डका सपना सेलाएका छैनन् । लेनिनको देशबाट भनिरहेका छन् — युक्रेनविरुद्धको भीषण युद्धबाट बाँचेँ भने नेपालमा समाजवादका लागि हुने निर्णायक संघर्षमा सहभागी हुनेछु ।

त्यसो त दुश्मनको ब्यारेक र बङ्कर फोडेको वीर बहादुरले सेनाबाट अवकाश लिएसँगै आफ्नै जीविकाको बङ्कर फोर्न थाल्यो । उसका धेरै साथीहरू अनमिनको प्रमाणीकरणमा परेनन् । २०६८ मा जनमुक्ति सेना र नेपाली सेना समायोजन हुँदा केही जागिरे भए । धेरै पार्टी काममा फर्के । केहीले दर्जाअनुसार ४–५ लाखको चेकमा आफ्नो भविष्य साटे । त्यो बाध्यता थियो ।

जनयुद्ध लडेका मनहरू आज एउटै विचार, भूगोल र दलमा छैनन् । विपरीत ध्रुवमा विभाजित छन् । तिनका उद्देश्य र विचार देश–देशान्तर फिजिएका छन् । कोहीले सत्ता र सरकारको स्वाद लिरहेका छन् । केही परिवार र कृषिमा फर्केका छन् । अधिकांश जीविकाका लागि खाडी पुगेका छन् ।

सपनाको यात्री

दुःख र अभावमा हुर्केको वीर बहादुर बाले छोडेको बाँझो भूमिलाई जोतिरहेछ । घुरेन र करेसाबारीमा लहलह तरकारी फलाइरहेछ । उसलाई माटोको सुगन्ध थाहा छ । त्योभन्दा बढी अभाव र गरिबी थाहा छ । त्यसैले त ऊ हरेक दिन अभावको छाक टार्न पसिनाले माटो भिजाउँछ । हातहरूमा ठेला उठाउँछ । दुःखका पहाडहरूमा पाइला खियाउँछ ।

पहाडमा राम्रो बाली छैन । पिछडिएको कृषि र टुक्रे उत्पादन प्रणालीले वीर बहादुरलाई परिवार धान्न हम्मे पर्छ । मीठो खान, राम्रो लगाउन चाडपर्व कुर्नुपर्छ । दुःखको अन्तहीन शृङ्खला र अनुत्तरित प्रश्नहरू ओसिला पहाडहरूमा कतै हराइरहेका छन् । हिउँले हिउँदे बाली पुर्छ, वर्षाले खोरिया बगाउँछ । तारा देखिने झुपडीबाट वीर बहादुर हरेक रात आकाश हेर्दाहेर्दै निदाउँछ । प्रकृतिको क्रूर झट्का र राज्यको नजरबाट हराएको कालिका र कयौँ वीर बहादुरहरू बाध्यताको विकल्प खाडी रोजिरहेका छन् । न टेक्ने ठाउँ छ, न समाउने हाँगो नै ।

पीरहरूको भुँवरीमा डुबेको वीर बहादुरसँग उत्साह र उदासीका अनुभूतिहरू छन् । क्रान्तिको प्रवेगमा छुटेका युद्धभूमिका स्मृतिहरू छन् । रगतले भिजेका कथाहरू छन् । लासको पहाडमाथि युद्ध लड्दाका आततायी क्षणहरू छन् । र मनै फाट्ने युद्धका धमाका र दुन्दुभिहरू छन्, जसले उसको हृदयमा हलचल ल्याइदिन्छ ।

ऊ आफैले लडेको युद्धका डोबहरूमा मलम भर्छ । तर रगतका टाटा उस्तै छन् । गाउँ र सहरका भित्ताहरूमा बुलेटका खतहरू छन् । बमले खोलेका खाल्डाहरू छन् । सम्झिरहेछ — गणेशपुरबाट बमको झोला नासो दिएर गएका जीत र ब्याटलहरूमा हातको राइफल जिम्मा दिएर गएका साहसी कमरेडहरूलाई । उसका आँखा वरिपरि घुमिरहन्छन् । रोल्पा र रुकुममा खेत जोत्दा जोत्दै ढलेका बाबुहरू, माझफाल र भवाङमा मारिएका छोरीचेलीहरू, मझेरीमा रोटी हाल्दा हाल्दै ढलेका निर्दोष आमाहरू । ऊ भन्छ — बलिदान नभएको कुनै गाउँ छैन, बेपत्ता नभएको कुनै ठाउँ छैन ।

कालिकाबाट फर्कँदै थिए । वीर बहादुरले पुरानो सन्दुकबाट कम्ब्याट निकाल्यो । सफा चम्किलो थियो । जतनले राखिएको रहेछ । उसले मुस्कुराउँदै भन्यो — 'कमरेड, शान्ति प्रक्रियापछि यही एक थान कम्ब्याट त बाँकी रह्यो । अरू सबै परिस्थितिसँगै मेटिएर गए ।'

वीर बहादुरको जीवनमा सजिला दिनहरू थोरै रहे भने असजिला दिनहरूले कहिल्यै साथ छोडेनन् । उसलाई घामले डढायो, बादलले उडायो, पानीले भिजायो । असिनाले चुट्यो । र युद्धका गल्छिनाहरूमा चट्याङ पर्‍यो । युद्ध गजब हुँदोरहेछ — हाँस्दा हाँस्दै रुनुपर्ने, रुँदा रुँदै हाँस्नुपर्ने । उसको जीवन र युद्ध एउटै धाराजस्तै — कतै शान्ति, कतै अशान्ति ।

सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरूको मृत्यु हुनु ।- कवि पाशप्राचीन कालदेखि वर्गीय समाजले न्याय र अन्यायपूर्ण युद्धका विभीषिकाहरू झेलिरह्यो । स्पार्टाकसको दास विद्रोहदेखि लेनिन र माओको समाजवादी क्रान्तिसम्म, विश्वयुद्धदेखि डिजिटल वारसम्म शोषकले शोषित दमन गर्नु र शोषितले न्यायका लागि लड्नु अनिवार्य बन्यो ।

फिडेल क्यास्ट्रो, चे ग्वेभारा, हो चि मिन्ह र गोन्जालोले सर्वहारा वर्गको पक्षमा न्यायपूर्ण युद्ध लडे । ती नायकहरूको हृदयमा क्रान्तिको लाभा कहिल्यै निभेन, बलिरह्यो । सर्वहारा क्रान्ति काराकोरम, एण्डिजदेखि चिङकाङसाङ हुँदै चोमोलुङ्मासम्म फैलिरह्यो । यद्यपि पुँजीवादको दुनियाँमा क्रान्ति रक्षात्मक देखिन्छ । कहिले खुम्चिन्छ, कहिले फैलिरहन्छ । क्रान्ति खरानीभित्रको गोलाजस्तो छ । हरेक फिजिएका विचार र सपनाहरू क्रान्तिको मुटु हालेरै बाँचिरहेका छन् ।

कवि पाशले भनेझैँ — 'सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरूको मृत्यु हुनु ।' बारुदको यात्रादेखि गृहस्थीसम्म वीर बहादुरका सपना मरेका छैनन् । बरु अलपत्र छन् । रिक्त, उदास र निराशाको घडीमा ऊ भविष्य सम्झेर बाँचिरहेको छ । उसका अधुरा सपनाहरू भविष्यको सम्भावना हुन् । सार्थक सपनाहरू निदाएर होइन, जागै देख्नुपर्छ । जहाँ गए पनि, जहाँ भए पनि निरन्तर क्रान्ति । ऊ भन्छ — क्रान्तिभित्र नै समाज र मान्छेको भविष्य छ । कमरेड वीर बहादुर अर्थात् चट्टानको हृदयमा क्रान्ति अझै जीवित छ । ऊ स्वप्नद्रष्टा हो ।

वीर बहादुरले भोगेको जीवन, समय र सपनाको स्वाद एउटै छैनन् । फरक–फरक छन् । किशोर छँदा प्रेमको सपना, युद्धमा बन्दुक र क्रान्तिको सपना, नेता हुँदा देश र जनताको सपना, गृहस्थी जीवनमा परिवारको सपना । सबैभन्दा खतरनाक हुनेरहेछ — अभावको सपना ! जनयुद्ध लडेको र राज्यको नजरबाट हराएको वीर बहादुर यिनै सपनाहरूको भारले थलिएर खाडी गएको छ । अरूहरू पनि ...! 

लोमनकुमार

Link copied successfully