पढाइपछि जागिर पाइएला नि है?

फोटोहरूले झन् भ्रम बढाउँछन्—हिउँ, सफा सडक, सुन्दर लाइब्रेरी। तर फोटोले थकान देखाउँदैन, बेरोजगारी देखाउँदैन, रातभर जागिर खोजेर थाकेको मन देखाउँदैन।

माघ ११, २०८२

सुधन सुवेदी

Will you get a job after studying?

What you should know

काठमाडौँ — एक हूल नेपाली जेन–जीहरू नेपाल स्ट्यान्डमा आए। परबाट नेपाल देखेपछि उनीहरूलाई नआई भएन। घरमा हुँदा देश के हो बुझेनन् वा बुझ्न खोजेनन्। दाइ, तपाईंहरू नेपालीमा गफ गरेको सुन्दा पनि आनन्द लाग्छ। उनीहरूका कुरा रोकिएकै थिएनन्।

उनिहरुलाइ कलेजले फिनल्याण्ड, हेलसिन्कीमा आयोजित पर्यटन मेलामा सहभागी गराउन ल्याएको रहेछ। देशको झण्डा बोकेर फर्कन पाउँदा उनीहरू फुरुङ्ग थिए। देश छातीमै थियो, छ। उता देशमा भगुवा जे भनिए पनि विदेशमा संघर्ष गर्ने कसैले घर बिर्सेको चाहिँ हुँदैन रहेछ।

केही दिनमा नेपाल फर्कने र नेपालबाटै आएको भन्दै उनीहरू टोलाइरहेका थिए। सायद घर जाने दिन कहिले आउला भन्ने सोचले मात्रै पनि उनीहरू भारी भएका थिए। अनायास एक बहिनीले सोधिन्, ‘हाम्रो पढाइ सकिएपछि जागिर त पाइएला नि है?’

धेरै ठूलो स्वरमा होइन, तर धेरै गहिरो अर्थ बोकेर। दिउँसोको उज्यालो बिस्तारै हराउँदै थियो। वरिपरि विद्यार्थीहरू हिँडिरहेका थिए—कसैको हातमा कफी, कसैको कानमा हेडफोन। तर हाम्रो कुराकानी यहीं अड्किएको थियो।

म केही बोल्न नपाउँदै अर्को भाइले भन्यो, ‘अगाडि त सजिलो थियो।’
अर्कोले थप्यो, ‘अहिले त मान्छे नै धेरै आए।’

फिनल्यान्डमा नेपाली संघर्ष असफलताको कथा होइन। यो समय, संख्या, अपेक्षा र सुस्त अर्थतन्त्रबीचको यथार्थ हो। सायद हाम्रो असली शिक्षा कक्षाकोठामा होइन—यिनै अधुरा संवादहरूमा छ, जसले हामीलाई डिग्रीभन्दा धेरै बदलिदिन्छ।

पछिल्ला केही वर्षमा फिनल्यान्ड नेपाली विद्यार्थीका लागि आकस्मिक रूपमा लोकप्रिय गन्तव्य बनेको छ। यो लोकप्रियता फिनल्यान्ड असाधारण अवसरको देश भएर होइन, बरु अरू परम्परागत अध्ययन गन्तव्यहरू क्रमशः बन्द हुँदै जानुका कारण पैदा भएको हो। पहिले नेपाली विद्यार्थीका लागि बेलायत र अष्ट्रेलिया नै मुख्य गन्तव्य थिए। तर भिसा कडा भयो। ढोका साँघुरो हुँदै गयो। अनि त्यही बेला फिनल्यान्ड एउटा विकल्प बनेर आयो—शान्त, सफा, सुरक्षित, पढाइ राम्रो भन्ने सुनियो।

विशेषतः अष्ट्रेलियाले पढाइमा ग्याप भएका विद्यार्थीलाई कडाइ गर्न थालेपछि धेरै नेपालीका लागि विकल्पको सूची छोटिँदै गयो। यही सन्दर्भमा फिनल्यान्ड एउटा खुला ढोका जस्तो देखियो—जहाँ शैक्षिक पृष्ठभूमि जस्तोसुकै भए पनि भिसा पाइने सम्भावना, तुलनात्मक रूपमा कमाएर तिर्न सकिने कलेज शुल्क र डिपेन्डेन्ट ल्याउन पाउने व्यवस्था मुख्य आकर्षण थिए।

यी संवाद अब नयाँ छैनन्। क्याम्पसको क्यान्टिन, भान्सा, बस स्टप, ट्राम, रेलभित्र—सबैतिर यिनै प्रश्नहरू घुमिरहेका छन्।

यस्तै कुराले धेरैलाई यहाँसम्म ल्यायो। धेरैजसो दम्पती आए। कसैले बिहे छिटो गरे, कसैले फिनल्यान्ड गन्तव्य बनाउन योजना फेरे। नेपालमा हिसाब गरियो—दुई जनालाई पचास लाख रुपैयाँ जति खर्च। जमिन बेचियो, ऋण लिइयो, सुन राखियो। सबैको एउटै आशा—‘युरोप पुगेपछि केही न केही त हुन्छ।’

यहाँ आएपछि अर्को कथा सुरु भयो। क्याम्पसमा पढाइ त चलिरहेकै छ। तर पढाइसँगै अर्को संघर्ष पनि चलिरहेको छ—काम खोज्ने।

‘मैले २० वटा ठाउँमा जागिरका लागि इमेल गरेँ,’ एकले भन्यो।
‘जवाफ आयो?’
‘अहँ।’

आज फिनल्यान्डमा करिब ११ प्रतिशत बेरोजगारी छ, जुन सेन्जेन देशहरूमध्ये सबैभन्दा बढी मानिन्छ। सबैसँग यस्तै अनुभव छ। कसैलाई काम मिलेको छ, तर त्यो डिग्रीसँग सम्बन्धित छैन। कसैले सरसफाइ, भाँडा माझ्ने काम गरिरहेका छन्। कोही अझै खोजीमै छन्। बेरोजगार भत्ता बुझ्नेको अर्को डर सुरु भएको छ—देश निकाला गरिदिन्छन् कि भन्ने। सुरुमा त पाएको भत्ता पनि राहत जस्तो लाग्छ, तर काम नपाएपछि त्यो पनि अपुग हुन्छ।

भाषा अर्को ठूलो पर्खाल हो। यो अब काम नदिइने बहाना मात्र होइन, वास्तविकता हो। फिनिस भाषा नआएसम्म धेरै ढोका खुल्दैनन्। डिग्री छ, तर भाषा छैन भने काम टाढा हुन्छ। अनुभव बिना अवसर छैन, अवसर बिना अनुभव हुँदैन—यही चक्रमा धेरै अल्झिएका छन्।

फिनल्यान्डको रोजगार प्रणाली निष्पक्ष छ, तर सजिलो छैन। यहाँ कसैलाई दया गरेर काम दिइँदैन। अनुभव चाहिन्छ, भाषा चाहिन्छ, धैर्य चाहिन्छ। फिनल्यान्डमा देखिएको आर्थिक मन्दीले अवस्था झन् कडा बनाइदिएको छ। काम कम, जागिर खोज्ने धेरै।

आज फिनल्यान्डमा करिब ११ प्रतिशत बेरोजगारी छ, जुन सेन्जेन देशहरूमध्ये सबैभन्दा बढी मानिन्छ। रोजगारीको बजार बढ्दो छैन, घट्दो छ। अर्थतन्त्र सुस्ताएको छ। पहिले सामाजिक सुरक्षाको उदाहरण मानिने फिनल्यान्डको सामाजिक सुरक्षा पनि हालका दिनहरूमा कमजोर बन्दै गएको छ। बेरोजगारलाई दिइने राज्य सहयोग पुनरावलोकन हुँदैछ, नियमहरू कडा बन्दै गएका छन्। यसले विदेशी मात्र होइन, स्थानीय फिनिस नागरिकलाई पनि असहज बनाएको छ। यस्तो अवस्थामा पढाइसँगै काम गर्ने, अनि डिपेन्डेन्टले रोजगारी पाएर परिवार धान्ने कल्पना झन् टाढिँदै गएको छ।

पछिल्ला तीन वर्षमा मात्र करिब पाँच हजार नेपाली फिनल्यान्ड आएका छन्। यससँगै यहाँको कुल नेपाली संख्या करिब पन्ध्र हजार हाराहारी पुगेको छ। धेरैजसो नेपाली रेस्टुरेन्टमा काम गर्छन्। यी क्षेत्र पहिले नै भरिएका छन्। काम सीमित छ, प्रतिस्पर्धा चर्को।

बेलुका फेरि कुरा चल्छ।

‘पढाइपछि के गर्ने?’
‘यतै बस्ने कि अर्को देश जाने?’
‘नेपाल फर्किने?’

यी प्रश्नहरू नेपालमा कसैले सुन्दैनन्।

नेपालबाट साथीहरूको म्यासेज आउँछ।
‘तिमीहरू त भाग्यमानी हौ।’
‘युरोपमा जीवन सेट भयो होला।’

फोटोहरूले झन् भ्रम बढाउँछन्—हिउँ, सफा सडक, सुन्दर लाइब्रेरी। तर फोटोले थकान देखाउँदैन, बेरोजगारी देखाउँदैन, रातभर जागिर खोजेर थाकेको मन देखाउँदैन।

अचम्म के छ भने, जब कोही नेपाल फर्किन्छ—केही दिनका लागि मात्र—त्यहाँ अर्को प्रतिक्रिया आउँछ।

‘किन छिट्टै फर्क्यौ?’
‘अझै बस्नुपर्थ्यो नि।’
‘युरोप गएर पनि टिक्न नसक्ने?’

यहाँ हुँदा भाग्यमानी, फर्किँदा मूर्ख—यही दुई ध्रुवको बीचमा नेपाली विद्यार्थीको वास्तविकता छ।

फिनल्यान्डले धेरै कुरा दिन्छ—शिक्षा, सुरक्षा, सम्मान, शान्ति। तर एउटा कुरा दिँदैन—ग्यारेन्टी। पढाइपछि जागिर पाउने ग्यारेन्टी छैन। मेहनत गरे पनि समय लाग्छ। कहिलेकाहीँ समयभन्दा बढी चाहिन्छ।

त्यही बहिनी फेरि सोध्छे, ‘पढाइपछि जागिर पाइन्छ नि?’

यसपटक म भन्छु, ‘कसैलाई पाइन्छ, कसैलाई गाह्रो हुन्छ। सजिलो चाहिँ छैन।’

यो उत्तर अधुरो लाग्न सक्छ। तर यही हाम्रो यथार्थ हो। फिनल्यान्डमा नेपाली विद्यार्थीको संघर्ष कुनै नौलो होइन, कुनै सफलता कथा मात्र पनि होइन। यो प्रश्न, संवाद र निर्णयहरूको यात्रा हो।

सायद यहाँको सबैभन्दा ठूलो पाठ यही हो—जीवनले कहिलेकाहीँ उत्तर होइन, अनुभव दिन्छ। अनि त्यही अनुभव नै हाम्रो असली डिग्री बन्छ।

सुधन

Link copied successfully