अनि बाघ बाटोमा आयो...

जीवनमा पहिलो पटक त्यो पनि एउटै बाघलाई तीन पटकसम्म मजैले हेरियो । बाघ बस्ने जंगलमा बाघ देख्न कति मुश्किल छ त्यसको उदाहरण हाम्रै कथा हो । तर बाघ हेर्नका लागि पथप्रदर्शक कति अनुभवी हुनु पर्दछ त्यो डीबी चौधरीको सुझबुझ र निर्देशनले देखायो ।

पुस ११, २०८२

रमेशकुमार पौडेल

And then a tiger came along the way...

What you should know

चितवन — त्यो निकै सुन्दर दृश्य थियो । तीनवटा भाले मयुर एउटै लहरमा थिए । मयुरभन्दा अलि पर मृग प्रजातिका लगुना र चित्तल आफ्नै धुनमा चर्दै थिए । सानो घोलको आडैमा एकै ठाउँ रमाएका यी जीवहरू भेट्दा निकै रमाइलो लागेको थियो । त्यही बेला आकासमा धनेस चरा उडेको देखियो ।

जंगल सफारीको जिपमा बसेकाहरूले धनेस गन्न थाले, १, २, ३, ४... । संरक्षणकर्मी तथा नेचर गाइड डीबी चौधरीले भने, ‘ल है ल, यसअघि २६ वटासम्म धनेस एकै पटकमा गनेको हो । अब रेकर्ड ब्रेक होला जस्तो छ ।’ नभन्दै रेकर्ड ब्रेक भयो । हामी माथिबाट उड्दै पार हुने धनेसको संख्या ३० नाघ्यो । आकासमा धनेस, धरतीमा मयुर । जंगलको हरियाली र मृगहरूको आफ्नै धुन । प्रकृतिको यो अनुपम दृश्यले मन निकै प्रफुल्लित थियो ।

हामीलाई योभन्दा पनि अद्भुत क्षणले प्रतीक्षा गरिरहेको रहेछ । दंग परेर मयुरको फोटो खिच्दै थियौं, ठ्याक्कै त्यही बेला एउटा आवाज सुनियो । डीबीले भने ‘साम्बर डियर करायो है ।’ त्यसपछि उनले जे भने त्यसले मन रोमाञ्चित नहुने कुरै थिएन । हामी थियौं नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकाअन्तर्गत रहेको नमुना मध्यवर्ती सामुदायिक वनको घाँसे मैदाननजिक ।

समुदायले व्यवस्थित गरेको चितवन राष्ट्रिय निकुञ्जआडैको यो मध्यवर्ती वनको घाँसे मैदनामा मृग प्रजातिका चित्तलको बथानसँगै मिसिएर लगुना चर्छन् । अलि ठूलो ज्यान हुने साम्बर डियर अर्थात जरायो पनि त्यहाँ छ । जब यो जरायो करायो तीनवटै मयुरले जवाफ फर्काए । चित्तल र लगुना सर्तक भएझैँ गरेर झाडीतिर लागे । डीबीको अनुहार भने तेजिलो देखियो ।

And then a tiger came along the way...

‘साम्बर डियरले आवाज दिनु भनेको बाघ यतैयतै हुनु हो । लौ, आज बाघ देख्ने चान्स अत्याधिक छ,’ एकदम निर्धक्क भएर डिबीले यो भन्दै गर्दा मेरो मनमा खैलाबैला मच्चिन सुरु भयो । जीवनमा अहिलेसम्म बाघ नदेखेको व्यक्ति हो म । म मात्रै हो र मेरो आडमा बसी रहेका बीबीसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी दाइले पनि यो उमेरसम्म जंगलमा बाघ देखेका छैनन् ।

चितवन निकुञ्जभित्र जान थालेको २५ वर्षभन्दा बढी भयो । त्यहाँ बस्ने साना-ठूला धेरै जीवजनावरहरू देख्यौँ तर बाघ अहँ, अझैसम्म हाम्रा आँखा अगाडि झुलुक्क पनि आएन । बाघ हेर्ने भनेर निकुञ्जको सुदूर क्षेत्र पश्चिममा देवीतालसम्म घण्टौं कुरेर बसियो । त्यहाँभन्दा पनि अगाडि गइयो । टाइगर टप्स एरियामा पनि डुलियो, पर्खेर बसियो । बाघ देख्न सकिने मध्यवर्ती सामुदायिक वन पनि निकै घुमियो ।

चितवन निकुञ्जको पूर्व-पश्चिम धेरै ठाउँ नगएको हैन । सौराहा माडी र कसरा माडी हुँदै निकुञ्जलाई उत्तर दक्षिणबाट नछिचोलेको पनि हैन । नेपालमा पछिल्लो गणना अनुसार ३ सय ५५ बाघ छन् । सबैभन्दा धेरै १ सय २८ बाघ चितवन निकुञ्ज आसपासका क्षेत्रमा छन् । तर हामी तीन सय पटक जति निकुञ्ज डुल्दा पनि बाघ देख्दै देखेका छैनौं भन्नु पर्ने अवस्थामा छौं । यो जस्तो विडम्बना अरु के हुनु । 

घाइते भएर बस्ती छिरेका, अचानक बस्तीमा आएर अलमलिएका बाघलाई लठ्याएर उद्धार गरेको त पटक पटक देखेको हो । तर बाघलाई उसकै बासस्थल जंगलमा उसकै धुनमा बसेका बेला भेटाउने धोको मनभरी थियो । 

And then a tiger came along the way...डीबीले जस्तो बाघ देख्न पाइन्छ है भनेर धेरैले धेरै पटक नभनेका पनि हैनन् । तर अन्तिममा उही ‘बाघले हामीलाई देख्यो, हामीले देख्न पाइएन’ भन्दै मन मार्नु पर्ने अवस्था आयो । बाघ लजालु हुन्छ, मान्छेको संकेत पाउनासाथ लुक्छ भन्ने गरिन्छ । त्यसैले हामीलाई देखेर बाघ लुक्यो भन्दै चित्त बुझाइयो । 

साम्बरले ‘अलार्म’ बजाएपछि डीबीले बाघ हेर्नका लागि पालना गर्नु पर्ने आचारसंहिता अगाडि सारे । ‘ऊ त्यता गएर कुरेर सुनौं केही न केही प्रस्ट संकेत आउँछ । हल्ला पटक्कै गर्ने हैन,’ डीबीले सतर्क गराए । अनि सफारीको हाम्रो जिप पूर्व लाग्यो र थोरै पर पुगेपछि दाहिने मोडियो । त्यहाँभन्दा पर चार पाँच सय मिटरमै होला नारायणी नदी । नदीपारि चितवन निकुञ्ज छ । 

जिप थोरै दक्षिण लागेर रोकियो । केही बेरपछि डीबीले बाघ कराइराखेको छ चुपचुप भन्ने संकेत गरे । तर खै मैले भने बाघ कराएको मेसो पाइन । अलि बेरमा त मैले पनि सुन्ने गरेरै गर्जियो बाघ । त्यसपछि डीबीले जिपलाई अगाडि बढ्न संकेत गरे । अलि तल गएपछि पूर्व लाग्ने बाटो आउँदो रहेछ । जिप त्यतैतिर मोडियो । केही पर गएपछि जिपलाई रोक्ने संकेत गरे । स्टार्ट पनि बन्द गर्न लगाए । 

देब्रेतिर नमुना मध्यवर्ती सामुदायिक वनको फराकिलो घाँसे मैदान छ । सानो खाले खर सुकेर बाघकै जस्तो रंगको भएको छ । त्यहाँभित्र हिँडेको चलेको केही संकेत पाइँदैन । जति उभिएर हेरे पनि मान्छेको लगभग कम्मरसम्म आउने घाँस भएको ठाउँमा बाघ देख्ने कुरो भएन । कसरी हेर्ने होला त बाघ ? मनमा खुलदुली बढ्न थाल्यो । यस्सो पश्चिम हेरेको घाम निकै मधुरो भइसकेछ । 

कतै आज पनि बाघ नदेखि घाम डुब्ने त हैन भन्ने चिन्ता थपियो । तर त्यही बेला मनै थर्कने गरेर बाघ गर्जियो । तत्कालै  डीबीले जिप चालकलाई हातैले इसारा गरे ‘छिटोछिटो ब्याक गर ब्याक गर ।’ जिप वर आएर बस्यो । डीबीले सुस्तरी भने अगाडि हेर्नु केही बेरपछि बाघ यो बाटो हुँदै तल लाग्छ ।’ हामीले यस्सो कुरेका मात्रै थियौं हो त बाघ घाँसे मैदनाबाट बाटो तिर निस्कियो । 

मेरो आँखामा बाघ ठोक्कियो । जीवनमा पहिलो पटक यति नजिकबाट, उसकै बासस्थलमा ऊ पूरै आफ्नो धुनमा रहेको बेलामा बाघ देख्न पाइयो । यो जुनीमा २०८२ सालको पुस १० गते घाम डुब्न लाग्दै गर्दा जंगलमा पहिलो पटक बाघ देख्न पाइयो । जुन क्षणको प्रतीक्षा वर्षौंदेखि भइरहेको थियो । घाँसको रंग र बाघको रंग एकै थियो । तर बाटोको धुलोमा पश्चिमबाट आएको प्रकाश मिसिएको थियो र त्यो प्रकास ज्यानमा ठोक्किएकाले बाघ उजेलिएको थियो । बाघ अलि बेर बाटबाटै हिँड्यो । पहिलो पटक आँखा अगाडी परेको बाघ आँखा जुधाउन यस्सो मोडियो ।

And then a tiger came along the way...यो बेला मन ढक्क भयो । बाघ बाटो काटेर तल लाग्यो । डीबीले फेरि सुस्तरी भने ‘एक छिम कुरौं बाघ फर्कन्छ ।’ हामी जिपलाई थोरै अगाडि लगाएर कुर्‍यौं । बाटो तल पनि थोरै घाँस भएको ठाउँ थियो । घाँसभित्र बाघ देखियो । अलि बेरपछि बाघ फेरि तल्लो पाटोबाट निस्केर बाटोमा आयो र लमक-लमक गर्दै अगाडि गयो । थोरै हिँडेर उत्तरतर्फको मुख्य घाँसे मैदान इलाकामा घुस्यो ।

धित मर्ने गरेर बाघ हेर्न पाइयो । हामीले डीबीलाई धन्यवाद दियौं । उनले थपे ‘अझै फेरि एक पटक हेर्ने त ?’ घाम डुब्न लागेको थियो त्यसैले जति देख्यौं त्यो पर्याप्त भयो भनेपछि जिपले स्वभाविक रफ्तार लियो । केही तल आएपछि घाँसे मैदानलाई चिरेर फायरलाइन (अग्नि रेखा ) गएको थियो ।

And then a tiger came along the way...हामी त्यहाँ पुग्दा बाघ ठ्याक्क फायरलाइनमै देखियो । जीवनमा पहिलो पटक त्यो पनि एउटै बाघलाई तीन पटकसम्म मजैले हेरियो । बाघ बस्ने जंगलमा बाघ देख्न कति मुश्किल छ त्यसको उदाहरण हाम्रै कथा हो । तर बाघ हेर्नका लागि पथप्रदर्शक कति अनुभवी हुनु पर्दछ त्यो डीबी चौधरीको सुझबुझ र निर्देशनले देखायो । हामीसँग डीबी चौधरी नभएको सायदै बाघ देख्न पाउने थियौं ।  

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully