आमा–बुबासँगको अविस्मरणीय पञ्चकोशी तीर्थयात्रा

पञ्चकोशी यात्रा मेरो लागि पहिलो पटक नभए पनि, यसपटकको यात्रा भने मनदेखि नै फरक थियो । सपरिवार तीर्थयात्रा गर्दा मन अनौठो ढंगले प्रफुल्लित भइरहेको थियो ।

पुस ६, २०८२

भरतबन्धु थापा

An unforgettable Panchakoshi pilgrimage with parents

What you should know

काठमाडौँ — दैलेख खस सभ्यता, शैव परम्परा र पुरातन आस्थाको केन्द्र । यही जिल्लाको काखमा अवस्थित पञ्चकोशी तीर्थ क्षेत्र केवल धार्मिक गन्तव्य मात्र होइन, आत्मिक शान्ति र जीवनबोधको यात्रा पनि हो । पञ्चकोशी अन्तर्गत पर्ने प्रत्येक स्थल भगवान शिवका विभिन्न अङ्गसँग सम्बन्धित मानिन्छन् । परिवारसागै गरिएको यो यात्रा मेरो जीवनको स्मरणीय अध्याय बन्यो ।

घरमा कहिलेकाहिँ पारिवारिक कुराकानी भइरहँदा बुबा (प्रेमबहादुर थापा) ले आफ्ना माता–पितालाई पञ्चकोशी तीर्थ यात्रा गराएको स्मरण गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘सके काशी लैजानु, नसके आफ्ना आमा–बुबालाई पञ्चकोशी तिर्थ गराउनु पनि काशी सरह नै पुण्य हुन्छ ।’

बुबाले यो कुरा गर्दा मेरा मनमा पनि एकदिन आमा–बुबासँगै पञ्चकोशी तीर्थयात्रा गर्ने गहिरो चाहना पलाउँदै थियो । त्यो चाहना मनमै सीमित रहला जस्तो लागेका बेला, संयोगवश मंसिर महिनाको अन्तिम हप्ता बुबा, आमा, भाइ, फुपु र ठूलीबमासँगै पञ्चकोशी यात्रा गर्ने अवसर जुर्‍यो ।

बिहान करिब सात बजेको थियो । घरबाट निस्कँदा मनमा उत्साह थियो धार्मिक यात्रा, त्यो पनि परिवारसँग । बुबा, आमा, भाइ र ठूलीआमासँगै हिँड्नुको अनुभूति नै अलग थियो । दैलेख सदरमुकामबाट मध्यपहाडी सडक हुँदै पञ्चकोशी यात्रा तय गर्दा हरियाली वन, परम्परागत बस्ती र खोल्साखाल्सीले यात्रालाई झन् रमणीय बनाइरहेका थिए । पञ्चकोशी यात्रा मेरो लागि पहिलो पटक नभए पनि, यसपटकको यात्रा भने मनदेखि नै फरक थियो । सपरिवार तीर्थयात्रा गर्दा मन अनौठो ढंगले प्रफुल्लित भइरहेको थियो ।

An unforgettable Panchakoshi pilgrimage with parents

यात्राको क्रममा बुबा कहिले अत्यन्त उत्साहित देखिनुहुन्थ्यो, त कहिले अचानक गम्भीर । त्यो गम्भीरता शब्दमा व्यक्त नभए पनि हामी सबैले महशुस गरिरहेका थियौं । जब–जब उहाँ आफ्ना माता–पितालाई पञ्चकोशी तीर्थ गराएको स्मृतिमा डुब्नुहुन्थ्यो, उहाँको अनुहारमा भावनाको छाया स्पष्ट देखिन्थ्यो ।

उहाँका ती मौन क्षणहरूले मलाई धेरै कुरा सिकाइरहेका थिए, तीर्थयात्रा केवल मन्दिर–दर्शन होइन रहेछ, यो त स्मृति, कर्तव्य, कृतज्ञता र पुस्तान्तरणको यात्रा रहेछ । पञ्चकोशी तीर्थको सुरुवात शिरस्थान दर्शनतर्फ जाँदै गर्दा बुबाले भन्नुभयो, ‘२०२६ सालको पुष महिनामा मैले मेरो माता पितालाई पञ्चकोशी तिर्थ लगेको थिएँ । त्यस समय पञ्चकोशी तीर्थ यात्रा पूरा गर्न झन्डै एक हप्ता लागेको थियो । तर आज हामी एक दिनमै पञ्चकोशी यात्रा गर्दै छौं ।’

पञ्चकोशी  शिरस्थान, नाभिस्थान, धुलेश्वर, सिद्धेश्वर महादेव (तल्लो डुगेंश्वर), यी सबै स्थलमा पुग्दा केवल पूजा मात्र भएन, मनभित्र गहिरो संवाद चलिरहृयो। यो पञ्चकोशी तीर्थयात्रा मेरो जीवनको अविस्मरणीय अध्याय बन्यो । यो यात्रा केवल धार्मिक कर्मकाण्ड थिएन, यो बुबाको स्मृति, हजुरबुबा–हजुरआमाप्रतिको श्रद्धा, र परिवारबीचको आत्मीयताको यात्रा थियो ।

An unforgettable Panchakoshi pilgrimage with parents

पञ्चकोशी तीर्थ क्षेत्रको परिचय र धार्मिक महत्व

पञ्चकोशी तीर्थ क्षेत्र दैलेख जिल्लाका पाँच प्रमुख धार्मिक स्थलहरूको समष्टि हो । ‘पञ्च’ अर्थात् पाँच र ‘कोशी’ अर्थात् तीर्थ क्षेत्र । हिन्दू धार्मिक मान्यताअनुसार यी पाँच स्थानको दर्शन र स्नान गरेमा जीवनका पाप नाश भई मोक्ष प्राप्त हुने विश्वास छ ।

पञ्चकोशी अन्तर्गत पर्ने प्रमुख स्थलहरू

शिरस्थान 

शिरस्थान पञ्चकोशी तीर्थयात्राको प्रमुख तथा प्रारम्भिक स्थल हो । धार्मिक मान्यताअनुसार यहाँ भगवान शिवको शिर अवस्थित रहेको विश्वास गरिन्छ । यही कारण पञ्चकोशी यात्रा शिरस्थानबाट सुरु गर्ने परम्परा छ । प्राकृतिक रूपमा शान्त, हरियालीले घेरिएको यो स्थल आध्यात्मिक अनुभूतिको केन्द्र हो । शिवरात्रि, श्रावण महिना र पञ्चकोशी यात्राका बेला यहाँ विशेष पूजा–आराधना गरिन्छ । शिरस्थानलाई पितृमोक्ष स्थलका रूपमा पनि मानिन्छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण यस तीर्थस्थलले दैलेखको धार्मिक पहिचानलाई मजबुत बनाएको छ । 

An unforgettable Panchakoshi pilgrimage with parents

नाभिस्थान 

नाभिस्थान पञ्चकोशी तीर्थअन्तर्गतको धार्मिक मान्यताअनुसार यो भगवान शिवको नाभि (नाभी) अवस्थित रहेको पवित्र स्थान मानिन्छ । शिरस्थानपछि पञ्चकोशी यात्राको दोस्रो प्रमुख गन्तव्यका रूपमा नाभिस्थानमा दर्शन गर्ने परम्परा छ । शान्त वातावरण, प्राकृतिक सौन्दर्य र आध्यात्मिक ऊर्जा यस स्थलको विशेषता हो । यहाँ श्रद्धालुहरूले जल, फूल र बेलपत्र अर्पण गरी पूजा–आराधना गर्छन् । 

पितृकार्य र मनोकामना पूरा हुने विश्वासका कारण यहाँ वर्षैभर भक्तजनको आगमन रहन्छ । नाभिस्थान धार्मिक आस्थासँगै दैलेखको सांस्कृतिक सम्पदाको प्रतीक पनि हो ।

An unforgettable Panchakoshi pilgrimage with parents

धुलेश्वर 

धुलेश्वर पञ्चकोशी तीर्थअन्तर्गतको धार्मिक विश्वासअनुसार शिरस्थान र नाभिस्थानपछि पञ्चकोशी यात्राको तेस्रो चरणका रूपमा धुलेश्वरमा दर्शन गर्ने परम्परा छ । यो स्थल प्राकृतिक रूपमा शान्त र आध्यात्मिक वातावरणले भरिपूर्ण हुनुका साथै बस्ती भन्दा अलिकती टाकुरामा अवस्थित छ । धुलेश्वरमा विशेषगरी शिवरात्रि, श्रावण महिना तथा पञ्चकोशी यात्राका अवसरमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ । यहाँ गरिने पूजा–आराधनाले मनको शान्ति प्राप्त हुने र रोग–व्याधि हट्ने जनविश्वास छ । 

पादुका स्थान 

पादुका स्थान पञ्चकोशी तीर्थयात्राअन्तर्गत पर्ने महत्त्वपूर्ण धार्मिक स्थल हो । धार्मिक मान्यताअनुसार यहाँ भगवान शिवको पादुका अर्थात् चरणचिन्ह अवस्थित रहेको विश्वास गरिन्छ । शिरस्थान,नाभिस्थान र धुलेश्वरपछि पञ्चकोशी यात्राको चौथो गन्तव्यका रूपमा यस स्थानमा दर्शन गर्ने परम्परा छ । शान्त र पवित्र वातावरणले भरिएको यो स्थल श्रद्धालुहरूको गहिरो आस्थाको केन्द्र हो । यहाँ दर्शन गर्दा यात्रा सफल हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

विशेष पर्व, शिवरात्रि तथा पञ्चकोशी यात्राको समयमा यहाँ भक्तजनको उल्लेखनीय उपस्थिति देखिन्छ । पादुका स्थान धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

सिद्धेश्वर महादेव (तल्लो ढुगेंश्वर)

कर्णाली नदी र लोहोरे खोलाको दोभानमा अवस्थित सिद्धेश्वर महादेव, जसलाई तल्लो ढुगेश्वर पनि भनिन्छ, दैलेख जिल्लाको पञ्चकोशी तीर्थयात्राअन्तर्गत पर्ने अन्तिम तथा अत्यन्त पवित्र स्थल हो । धार्मिक विश्वासअनुसार यहाँ भगवान शिवको चरण भाग अवस्थित रहेको मानिन्छ ।

पादुका स्थानपछि यस स्थलमा दर्शन गरी पञ्चकोशी यात्रा सम्पन्न गरिन्छ । प्राकृतिक रूपमा शान्त र आध्यात्मिक ऊर्जा भरिएको यो मन्दिर श्रद्धालुहरूको आस्थाको केन्द्र हो । शिवरात्रि, श्रावण महिना तथा पञ्चकोशी यात्राको समयमा यहाा विशेष पूजा–आराधना हुन्छ । सिद्धेश्वर महादेवमा दर्शन गरेपछि तीर्थयात्रा पूर्ण भएको अनुभूति हुने जनविश्वास छ ।

पञ्चकोशी तीर्थ क्षेत्र पश्चिम नेपालको धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो । यहाँ भक्तजनहरू विशेष गरी पञ्चकोशी मन्दिर दर्शनका लागि आउने गर्छन् । मात्र धार्मिक महत्त्व नभई, यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणले पनि पर्यटकहरूलाई आकर्षित गर्छ । पञ्चकोशी भ्रमणले आध्यात्मिक अनुभवका साथै स्थानीय संस्कार र परम्पराको अध्ययनको अवसर पनि दिन्छ ।

तर वर्तमानमा यस क्षेत्रको पूर्वाधार पूर्णरूपमा विकसित छैन । सडक संरचना प्रायः कठिनयुक्त भएकाले यात्रुरुहरूलाई सहज पहुँचमा कठिनाइ हुन्छ । यसले न केवल धार्मिक यात्रालाई असर गर्छ, तर बाहृय पर्यटकको आकर्षणमा पनि बाधा पुर्‍याउँछ । पर्याप्त सूचना बोर्डको अभावले पर्यटक र श्रद्धालुलाई मार्ग र तीर्थस्थलको ऐतिहासिक तथा धार्मिक महत्त्व बुझ्न कठिनाइ पार्छ ।

विश्रामस्थल र सरसफाइको अवस्था पनि सुधार आवश्यक छ । तीर्थयात्री लामो यात्रापछि विश्रामको अपेक्षा गर्छन् । पर्याप्त आराम स्थल, चिसो पानी र सफा शौचालयको व्यवस्था हुनु आवश्यक छ । सरसफाइ मात्र स्वास्थ्य र सुविधा सुनिश्चित गर्दैन, यसले तीर्थस्थलको धार्मिक माहोललाई पनि सुन्दर बनाउँछ ।

An unforgettable Panchakoshi pilgrimage with parents

यदि यी आधारभूत पूर्वाधारमा सुधार गरियो भने पञ्चकोशी क्षेत्र आन्तरिक र बाहृय धार्मिक पर्यटन प्रवर्द्धनका लागि अत्यन्त प्रभावकारी बन्न सक्छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान दिने मात्र होइन, क्षेत्रीय सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

पञ्चकोशी तीर्थ क्षेत्र धार्मिक पर्यटनको दृष्टिले ठूलो सम्भावनायुक्त गन्तव्य हो । सडक सुधार, सूचना बोर्ड, विश्रामस्थल र सरसफाइमा ध्यान दिएर यहाँको विकास गरिएको खण्डमा श्रद्धालु र पर्यटकको अनुभव मात्र सुधार्ने छैन, क्षेत्रको सांस्कृतिक पहिचान र पर्यटन आयमा पनि उल्लेखनीय योगदान पुर्‍याउनेछ ।

भरतबन्धु

Link copied successfully