कम्युनिस्टहरूका लागि नक्सलबाडी आन्दोलनको केन्द्रबिन्दु हुन सक्छ । तर, मेरा लागि नक्सलबाडी एक फरक संसार हो । व्यक्तिगत स्मृतिको, यात्राको, बाल्यकालको र सीमा पार सम्बन्धको ।
काठमाडौँ — नेपालका कम्युनिस्टहरू फेरि एकपटक टुटफुटका गतिविधिमा फसेका बेला म अचानक पुगेँ, भारतीय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उद्गमस्थल नक्सलबाडी । सन् १९६० को दशकमा चारु मजुम्दार, कानु सन्याल र जंगल सन्थालहरूले उठाएको आन्दोलनले रक्तिम इतिहास रचेको भूमिमा उभिँदा, नक्सलबाडी नामले उठाउने राजनीतिक हलचलभन्दा पर मेरा यादहरूको सन्दुक खोलियो ।
भारतमा अहिले पनि सशस्त्र आन्दोलनमा संलग्नहरूलाई ‘नक्सली’ भनिनुको कारण यही हो, यहीँबाट सुरु भएको विद्रोही चेतनाको परम्परा ।
१९६७ मा भाकपा (मार्क्सवादी)बाट अलग भएका चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालले नक्सलबाडीमा ‘सिलिगुडी किसान सभा’ गठन गरेपछि नक्सलबाडी आन्दोलनको औपचारिक सुरुआत भयो । सुरुआतमा अपेक्षाकृत शान्त र संगठित रूपमा अघि बढेको यो आन्दोलन एक वर्षपछि भने ‘वर्ग शत्रु खत्तम’ नारासहित हिंसात्मक रूपतर्फ उन्मुख भयो ।
वि.सं. २०२८ को उत्तरार्धतिर नक्सलबाडी आन्दोलनबाट प्रभावित भई नेपाली कम्युनिस्टहरूले झापा जिल्लामा ‘वर्गशत्रु खतम अभियान’ सञ्चालन गरे । यस अभियानका क्रममा कम्युनिस्ट कार्यकर्ताहरूले सामन्त भएको आरोप लगाएर केही सर्वसाधारणको हत्या गरे । त्यो विद्रोहमा राज्य र विद्रोही दुवैतर्फ क्षति भयो । यो घटनाक्रम नै पछि नेपालको राजनीतिक इतिहासमा ‘झापा काण्ड’का नामले चिनियो ।
कम्युनिस्टहरूका लागि नक्सलबाडी आन्दोलनको केन्द्रबिन्दु हुन सक्छ । तर, मेरा लागि नक्सलबाडी एक फरक संसार हो । व्यक्तिगत स्मृतिको, यात्राको, बाल्यकालको र सीमा पार सम्बन्धको ।
पूर्वी नेपालको इलाम, झापा र आसपासका बस्तीहरूका लागि नक्सलबाडी साप्ताहिक हाट थियो । शनिबार र मंगलबार यहाँ हाट भर्नेहरूको घुइँचो हुन्थ्यो । त्यो घुइँचोमा म पनि कैयौं पटक सामेल भएको छु । कहिले बाआमाको हात समातेर, कहिले दाजुभाइको साथ लागेर त कहिले साथीसंगीको लहैलहैमा ।
इलामको सलकपुर, सुलुवुङ, बाहुनडाँगी, नकलबन्दा, काँकडभिट्टा, धुलावारी जस्ता ठाउँका मानिसको दिनचर्या नक्सलबाडीसँग जोडिएको थियो । किनमेल, उपचार, सिनेमा, चियापान, मेलमिलाप सबैको सम्झनामा नक्सलबाडी गाढा बनेर बसेको छ ।
नक्सलबाडी नजिकै हुँदा पनि वर्षौंदेखि पुग्न सकेको थिइनँ । काम विशेषले सिलिगुडी जाँदा धेरै पटक नक्सलबाडी छेउैवाट गुज्रिएँ । तर, यहाँ पाइला नटेकेको धेरै भएको थियो । अहिले त एसियन हाइवेको भव्य बाइपासबाटै सिधा यात्रा हुने भएकाले नक्सलबाडी पुग्ने बाध्यता पनि घट्दै गएको थियो । यस ठाउँप्रतिको बेवास्ता स्वयम् अनायासै जन्मिएको रहेछ । तर, शनिबार, धेरै वर्षपछि नक्सलबाडीमा पाइला राख्दा लाग्यो, अब यो विगतमा जस्तो तन्नेरी रहेन, बूढो र थाकेको जस्तो भएछ ।
बजार उही, गल्ली उही, पुरानै सिद्रा बजारको गन्ध, माछा बजारको कोलाहल, फाटा कम्पनीको बिस्कुन सबै उही–उस्तै । पुरानो घुँगुनी पसल (चना, मटरको तरकारीमा चिउरा मिलाएको खाजा) को स्वरूप उस्तै । तर, स्वाद बदलिएछ । तातो घुँगुनीको त्यो मिठास, मसालाको सुगन्ध अब थिएन ।
नक्सलबाडी हाम्रा लागि सिर्फ बजार मात्रै थिएन, स्वास्थ्योपचारको भरोसा पनि थियो । सीमावर्ती धेरै नेपालीहरूको जन्म नक्सलबाडीकै अस्पतालमा भएको हो । त्यो पुरानो अस्पताल देख्दा लाग्यो समय गुज्रिए पनि यसको अस्तित्व र स्वरूप अझै उही पहिचान बोकेर उभिएको छ । ट्याम्पो (अटो) स्टेसन, पानीघट्टा मोड, बसपार्क र पुरानो भिडियो हल सबै पुरानै ठाउँमा भेटिए तर बिल्कुल भिन्न स्वरूपमा ।
विद्यार्थी हुँदा हामी भिडियो हलमा फिल्म हेर्न नक्सलबाडी पुग्थ्यौं । कहिले पैदल, कहिले साइकलमा सरर । रिक्सा चढ्ने हैसियत थिएन । त्यो यात्राको स्वतन्त्रता, सहजता, उदासीनता सम्झिँदा अहिले पनि रोमाञ्चित हुन्छु ।
बिरामी हुँदा त ट्याम्पो लिएर बंगाली भैया घरैसम्म आइपुग्थे । त्यो आत्मीयता, त्यो खुलापन, त्यो विश्वास अहिलेको सिमानापारि सम्बन्धमा विरलै भेटिन्छ ।
अहिले समय फेरियो । नाका पार गर्न अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्छ । भारत र नेपाल दुवैतर्फ तैनाथ सुरक्षा फौजले हरेक आगन्तुकलाई सन्देहको दृष्टिले हेर्छन् । सीमा सुरक्षाको आवश्यकता समयसापेक्ष होला, तर खुला सीमा संस्कृतिमा बसी बढेकाहरूका लागि यो कडा सुरक्षा नेपाल–भारतबीचको समुदाय स्तरको सम्बन्धमै दूरी बनेर आएको छ ।
विगतमा यस्तो केही थिएन । हामी खुलेआम नक्सलबाडी पस्थ्यौं, उताबाट मानिसहरू पनि सहजताापूर्वक नेपाल आउँथे । बिहेवारी हुन्थ्यो । सामाजिक सम्बन्धहरू बलियो थिए । त्यो समय कति आनन्ददायी, कति सहज थियो । सीमा भन्नु रेखाको कुरा थियो, मानिसको सम्बन्धमा कुनै छेकबार थिएन ।
आज त्यो समय सम्झँदा कति न्यानो लाग्छ । कति आत्मीय अनि जीवन्त । नक्सलबाडी मेरो स्मृतिपटमा सधैं उसैगरी बाँचिरहनेछ ।
