अस्ट्रेलियामा धेरै नेपाली यस्तो जीवन बाँच्छन्, जहाँ सबै सुविधा हुन्छ, तर ‘सन्तोष’ कम हुन्छ । जहाँ आफ्नो परिवार छ तर ‘पहिचान’ हराउँदै छ ।
अस्ट्रेलिया — मानिस स्वभावैले सम्भावनाको खोजी गरिरहन्छ । मानव विकासको इतिहास हेर्यो भने सम्भावनाको खोजी गर्दै पृथ्वीमा भौंतारिनु नै नियतिजस्तो थियो । आजको आधुनिक युगमा यो फरक तरिकाबाट चलिरहेकै छ ।
त्यसबाट नेपाल पनि अछुतो छैन र त्यसको एक हिस्सा हामी परदेशमा रहेका नेपाली समुदायहरू हौँ । सम्भावनाको देश खोज्दै हामी विश्वभर छरिएकै छौं । सुरक्षित व्यवस्था, सुशासन, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य प्रणाली, अनि पेसागत अवसरहरू । यिनै कुराले त धेरै नेपालीलाई अस्ट्रेलियाले तानेको । कोही विद्यार्थी भिसामा, कोही कामदारको हैसियतमा त कोही परिवारसहित स्थायी बसोबासका लागि अनुमति लिएर यहाँ बसिरहेका छन् ।
सबैसँग उस्तैउस्तै सपना छन् । श्रमको मूल्य पाइने ठाउँमा पुगेर आफ्नो र सन्तानको भविष्य उज्यालो बनाउने सपना । तर सपना पूरा गर्न सजिले छैन । फरक भाषा, फरक संस्कृति, कानुन र परिवेशमा आफूलाई ढाल्न त्यति सजिलो कहाँ छ र ?
सपना बोकेर यहाँ आएका केहीले आर्थिक रूपमा राम्रो गरेका छन् । सजिलै घर, गाडी खरिद गरेर जीवन सहज बनाएका छन् । तर धेरैजसो भने किस्ता किस्तामा सपना पूरा गर्न लागिपरेका छन् । अनि यिनै किस्ता बेलाबखत फन्दा पनि बनिरहेका छन् । घर किस्तामा, गाडी किस्तामा, मोबाइलदेखि फर्निचरसम्म सबै किस्तामा । जीवन नै बैंक र बिलहरूको चक्रव्यूहमा फसेको जस्तो । अस्ट्रेलियाका निम्ति यो सामान्य कुरा हो । जुन फेसबुक लगायतका सामजिक सञ्जालको भित्तामा देखिन्न ।
संघर्षको भारी बोकी आएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको पहिलो पुस्ता अझै संघर्षरत छ। अधिकतर नेपालीहरू हेल्थ केयर, एजकेयर, क्लिनिङ, ट्राफिक कन्ट्रोल, कन्स्ट्रक्सनजस्ता श्रमप्रधान क्षेत्रमा कार्यरत छन् । डबल सिफ्ट, सातामा ६-७ दिन काम गरेर महिनाको खर्च टार्नुपर्ने अवस्था छ । घर किन्ने सपना धेरैको छ, तर यो सपना सजिलो छैन । अस्ट्रेलियाको हाउजिङ बजारमा घर किनेपछि पनि ३ हजार डलर देखि ४ हजार डलर मासिक किस्ताले आर्थिक बोझ थप्छ । त्यसमा गाडीको लोन, क्रेडिट कार्ड, बालबच्चाको स्कुल खर्च, बीमा र ट्याक्स सबै जोडिँदा जीवन साँच्चिकै ‘किस्ता जिन्दगी’ बन्न पुग्छ । यसरी भौतिक प्रगति भएजस्तो देखिए पनि आत्मिक थकान, समयको अभाव, र सामाजिक अलगावले जीवनलाई एकोहोरो बनाइरहेको छ ।
पहिचानको द्वन्द्वमा हुर्किँदै अष्ट्रेलियामा जन्मिएका वा सानो उमेरमै आएका नेपाली बालबालिका फरक संस्कृति र वातावरणमा हुर्किरहेका छन् । उनीहरूको भाषा अंग्रेजी हो, तर घरमा उनीहरू नेपाली बुझ्न र बोल्न बाध्य छन् । सामाजिक रूपमा उनीहरू ‘अस्ट्रेलियन’ जीवनशैलीमा रमाउँछन् । स्कुल, खेलकुद, डिजिटल प्लेटफर्ममा उनीहरूको दिन बित्छ । तर अभिभावक चाहन्छन्, उनीहरूले नेपाली भाषा, धर्म, र संस्कार नबिर्सून् ।
पढाइ, करिअर र संस्कृतिको तानातानमा उनीहरूको पहिचान द्विविधामा पर्छ 'म नेपाली हुँ कि अस्ट्रेलियन?' यसले घरभित्र पुस्ताबीच दुरी बढाउने खतरा पनि बोकेको छ । संस्कार हस्तान्तरणमा अभिभावकहरूले निकै मेहनत गरे पनि सन्तानको मनोविज्ञान र सामाजिक परिवेश फरक भएकाले गहिरो संवाद कठिन हुन थालेको छ ।
पहिलो पुस्ता धेरैको नेपाल फर्कने चाहना देखिन्छ। तर फर्कने कि नफर्कने ? धेरै नेपालमा घर बनाएका छन्, केहीले जग्गा जोडेका छन्, र ‘रिटायर्मेन्टपछि नेपाल जाने’ सपना बोकेका छन् । तर त्यो सपना पनि सहज छैन । बालबालिका यतै पढ्दै छन्, यहाँको शिक्षा र जीवनशैलीमा अभ्यस्त छन् । फर्केपछि उनीहरूको भविष्य के हुन्छ भन्ने प्रश्न अभिभावकको मनमा छ । त्यसबाहेक, नेपालको यथार्थ पनि चुनौतीपूर्ण छ। जब नेपाल फर्केर स्थायी बसाइको कल्पना गरिन्छ, तब यथार्थको पर्खाल ठोक्किन्छ राजनीतिक अस्थिरता, बेरोजगारी, गुणस्तरहीन स्वास्थ्यसेवा, महँगी र शिक्षाको अनिश्चितता । फर्कने सपना भावनात्मक लागे पनि व्यावहारिक होइन जस्तो लाग्न थालेको छ ।
सतहमा हेर्दा अस्ट्रेलियामा नेपालीहरूले आर्थिक रूपमा प्रगति गरेका छन् । गाडी चढेका छन्, घर किनेका छन्, छुट्टीमा विदेश घुम्ने क्षमता बनाएका छन् । तर त्यो ‘सफलता’को मूल्य पनि छ, समयको, आत्मसन्तुष्टिको र संस्कृति-संवादको । अस्ट्रेलियामा धेरै नेपाली यस्तो जीवन बाँच्छन्, जहाँ सबै सुविधा हुन्छ, तर ‘सन्तोष’कम हुन्छ । जहाँ आफ्नो परिवार छ, तर ‘पहिचान’ हराउँदै छ । जहाँ पैसा कमाइन्छ, तर संस्कार र आत्मीयता र पहिचानको खडेरी भोगिरहेको हुन्छ ।
अस्ट्रेलियामा नेपालीहरू केवल अर्थोपार्जनको यात्रामा छैनन्, उनीहरू एक सामाजिक, सांस्कृतिक र भावनात्मक सम्झौतामा पनि छन् । हामीले आफ्नो देशको मायालाई छोडेका छैनौं, गाउँको आँगन, चुलोको धुवाँ, दसैं तिहारको रमाइलो, आमाको हातको खाना, बाल्यकालका दिन सबै अझै हाम्रै भित्री संसारमा जीवित छन् । तर यथार्थ यस्तो छ कि आज हामीले अस्ट्रेलियामा जीवनको बृहत् सञ्जाल बुनेका छौं, जुन सजिलै तुहिन सक्दैन । हामीले यहाँ घर बनाएका छौं, तर त्यो घर अझै पनि ‘घरजस्तो’ लाग्दैन । अन्ततः, अस्ट्रेलियाको जिन्दगी केवल रोजगारीको कथा होइन । यो आत्मपहिचान, पुस्तान्तरण, संस्कृति जगेर्ना र सन्तुलनको कथा हो । त्यो कथाको मूल सन्देश के हो भने— हामी जहाँ भए पनि, 'देश' सधैं मुटुभित्रै हुन्छ ।
