अछाम — फेसबुकको न्युजफिडमा भेटिने कतिपय सूचनाले कहिलेकाहीँ झस्काउँछ । त्यस्तै भयो माघ ११ गते । रातीको ८ बजेको थियो । कसैले लेखेको थियो, ‘अछामको ढकारी गाउँपालिका–८ का दुई किशोरी हिजोबाट सम्पर्कविहीन थिए ....।’ यो स्टाटसमा केही अप्रिय घटनाको छनक थियो ।
यत्ति सूचना काफी थियो, मलाई अत्याउन । किनभने, मैले किशोरीहरू कसरी हिंसामा परिरहेका छन्, कसरी बलात्कारको सिकार भइरहेका छन् र कसरी उनीहरूको जीवन नै हर्ने घटना भइरहेका छन् भन्नेबारे जानकार थिएँ । अनि जानकार थिएँ, समयमै सचेत भइएन भने यस्ता बर्बर घटना शक्तिको पहुँच प्रयोग गरेर लुकाइन्छ वा सामसुम पारिन्छ भन्नेबारे पनि ।
यो घटनाबारे बुझ्न मैले सुरुमै अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीलाई फोन गरेँ । उनले ढकारी गाउँपालिका–८ घोडासैनका दुई जना किशोरी मृत फेला परेको बताउँदै भने, ‘छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव करिब २० मिटरको दूरीमा फेला परेको छ । उनीहरू एकै घरका फुपूभदैनी नाता रहेको जानकारी पाएका छौं ।’
प्रहरीबाट मैले अरु कुरा पनि थाहा पाएँ । जस्तो कि, माघ ११ गते उनीहरू बस्तुभाउ चराउन बिहान घरबाट निस्केका रहेछन् । साँझसम्म घर नआएपछि परिवारले खोजी थालेका रहेछन् । माघ १२ गते शनिबार साँझ ६ बजे मात्रै गाउँलेले शव भेटेका रहेछन् । अनि, बल्ल घटनाबारे प्रहरीले थाहा पाएको रहेछ ।
डीएसपी भण्डारीले आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल जाने कुरा पनि बताए । मैले घटनाको यही सूचना प्रकाशनका लागि पठाएँ । ई-कान्तिपुरमा डटकममा यो समाचार छापिएपछि म थप सूचना खोज्नतिर लागेँ ।
ती किशोरीको हत्या किन भएको होला ? त्यो हत्या मात्रै थियो कि बलात्कारपछिको हत्या थियो ? अपराधीहरू को होलान् ? अनि शव भेटिएको ठाउँ नै घटनास्थल थियो कि अन्त कतै हत्या गरेर त्यहाँ ल्याई फालिएको होला ? के यो घटनामा निष्पक्ष छानबिन होला ? मृतकले न्याय पाउलान् ?
मेरो मनमा अनेकन् प्रश्नहरू उठ्न थाले ।
घटनास्थल नपुगी यतिका धेरै प्रश्नका उत्तर पाउन पनि सम्भव थिएन । तर घटनास्थल पुग्न त्यति सजिलो थिएन । यताउति सोधखोज गरेपछि मैले थाहा पाएँ, सदरमुकाम मंगलसेनबाट २ घण्टा गाडीको यात्रा गरेर ५ घण्टा पैदल हिँडेपछि मात्रै त्यहाँ पुगिन्थ्यो ।
कसरी जाने, एक्लै जाने कि कसैलाई साथी लैजाने ! यस्तै यस्तै सोच्दा सोच्दै रातको ११ बजिसकेको थियो । केही साथीको फोन उठेन । केही साथी त्यति टाढा जाने आँट गरेनन् । कसैले जान मन भएको तर स्वास्थ्य ठीक नभएको बताए ।
आइतबार बिहानै ५ बजेतिर घटनाबारे थप जानकारी माग्दै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदलाई फोन गरेँ । उनले आफू अघिल्लो दिन धनगढी पुगेकाले खबर सुन्नेबित्तिकै अछाम फर्किरहेको बताए । मैले हतारमै सोधेँ, ‘कहाँ पुग्नुभयो ?’ उनले कैलाश खोला पुगेको जवाफ दिने बित्तिकै मैले सोधिहालेँ, ‘सिट छ भने मलाई पनि लिएर जानूस् न !’
म घरबाट निस्कँदा घरका कुनै सदस्य पनि उठेका थिएनन् । पत्रकारितामा दशक बिताएँ तर पहिलो पटक घरमा बुवाआमालाई खबर नै नगरी म घरबाट निस्किँदै थिएँ । पालिका अध्यक्ष सवार गाडी भएको ठाउँमा पुगेँ । घरबाट करिब ८ किलोमिटर छिचोलेपछि बल्ल घरमा खबर गर्ने मेसो मिल्यो ।
गाडीबाटै पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतलाई फोन गरेँ । उनले केही समयपछि आफू पनि घटनास्थल जाने बताए । मनमनै सोचेँ, कम्तीमा दुई जना पत्रकार भइयो भने शक्तिका आडमा कसैले घटना सामसुम पार्न सक्दैनन् ।
जब घटनास्थल पुगेँ...
२ घन्टा गाडीको यात्रा र ५ घन्टाको पैदलयात्रापछि घटास्थल पुग्यौँ । त्यहाँ पुग्दा नपुग्दै म थाकिसकेकी थिएँ । किनकि, उकालो र ओराली अनि कतै कतै त भीरबाट हेर्दा नै रिंगटा चल्ने बाटो थियो । मैले बीच बाटोमै मंगलसेनबाट निस्केका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोलीलाई बाटोमै भेटेँ ।
एकाबिहानै प्रहरी र नयाँ मान्छेहरूको लस्कर उकालो लागेको देखेर होला कि घटनाबारे थाहा पाएर होला- स्थानीयहरू त्यहाँ जम्मा भएको देखिन्थे । घटनास्थलमा २५ जनाजति स्थानीय रातभर शव कुरेर बसेका रहेछन् । मैले अलिक परबाट दुई किशोरीको शव देखेँ । एक थिइन्, १४ वर्षकी ईशारा खड्का र अर्की थिइन्, १५ वर्षकी सरस्वती खड्का ।
ईशाराको अनुहार क्षतविक्षत थियो । उनको अवस्थाबारे वर्णन गर्ने शब्द पनि मैले भेटिनँ । ईशाराको शवभन्दा १५ मिटरमाथि सरस्वती खड्का निष्प्राण भएर लडेकी थिइन् । उनको टाउपछाडिको भागमा गहिरो चोट थियो । लुगा च्यातिएको थियो । छेउमा आँसी, चप्पल र सेतो दोपट्टा थियो ।
शव रहेको स्थानबाट करिब १० मिटर माथि पुगेँ । माथीबाट ठूला ढुंगा निकालेर खसालेजस्तो देखिन्थ्यो । घटनास्थलमा कतै ढुंगा निकालेजस्तो देखिन्थ्यो । कतै रुखका हाँगा भाँचिएको देखिन्थ्यो । घटनास्थललाई शंकाको नजरले नहेर्ने हो भने ठूला ढुंगा खसेर दुवैको प्राण गएको भन्न सकिन्थ्यो ।
घटनास्थल पुगेका किशोरीका आफन्त र छरछिमेकी मौन थिए । उनीहरू आँखाभरि आँसु टिलपिल बनाउँदै शवतिर एकोहोरो हेरिरहेका थिए । हत्याको आशंका गर्दै प्रहरी–प्रशासनलाई दबाब दिने स्वर कतै सुनिएन । सबै स्तब्ध र मूर्छित थिए ।
ईशाराकी भाउजू कृष्णा खड्काका अनुसार ईशारा र सरस्वतीको स्कुलमा पढाइ नभएकाले अभिभावकलाई काम सघाउन बेंसी झरेका थिए । शुक्रबार दिउँसो खाना खाएर बाख्रा लिएर जंगल पुगेका उनीहरू साँझ अबेरसम्म नफर्केपछि खोजी सुरु भएको थियो । उनलाई नन्द ईशारा र ढकारीका एक जना किशोरबीच फोनमा कुरा भइरहनेबारे थाहा रहेछ । त्यही सूचनाका आधारमा केहीले ईशारा त्यही केटोसँग भागेको र यही कुराको डरले सरस्वती लुकेको हुन सक्ने अनुमान गरिरहेका रहेछन् ।
नन्द घर नफर्केपछि कृष्णाले ती किशोरलाई ईशाराबारे सोधिछिन् । जवाफमा ती किशोरले आफूलगायत ३ जनाले दिउँसो इशारा र सरस्वतीलाई जंगलमा भेटेको बताए र पछि प्रहरीले कृष्णाले दिएको सूचनाकै आधारमा अनुसन्धान अघि बढायो ।
घोडासैन गाउँबाट करिब ४ घण्टा तलको घनाजंगलमा सरस्वती र ईशारालाई शनिबार साँझ खोलामा माछा मार्न गएका टेकबहादुर बुढ्थापा लगायतले देखेपछि मृत्युको खबर गाउँभर फैलिएको रहेछ । ती किशोरीहरूको हत्याबारे मैले निरन्तर रिपोर्टिङ गरिरहेँ । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय दुवैले घटनामाथि चासो देखाए । अनि प्रहरीले पनि गम्भीरतापूर्वक अनुसन्धान अघि बढायो ।
घटनाको अनुसन्धान सकाएपछि प्रहरीले निष्कर्ष निकाल्यो, ईशारा र सरस्वती प्रेम सम्बन्धमा थिए । अनि उनीहरू शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा मृत्युवरण गर्न बाध्य भए । यो घटनापछि म किशोरावस्थामा हुने प्रेम अनि यही प्रेमको फाइदा उठाउँदै जबर्जस्ती गर्न खोज्ने प्रवृत्ति किन यो समाजमा हुर्किरहेको छ र यसका पछाडि के कस्ता सामाजिक कारणहरू होलान् भनेर घोत्लिएँ । ईशारा र सरस्वतीको आखिर के दोष थियो र उनीहरूले हत्याको सजाय भोग्न बाध्य भए भनेर पनि सोचेँ । अनि सोचेँ, के शारीरिक सम्बन्ध राख्न अस्विकार गर्नु नै उनीहरूको दोष थियो त ?
यो प्रश्नले भने मेरो मनलाई अहिले पनि बिझाइरहेको छ, तनाव दिइरहेको छ र मथिंगल नै हल्लाइदिएको छ ।
