काठमाडौँ — झमक्कै साँझ परिसकेको थियो, पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मा गाउँ पुग्दा । चिसो सिरेटोमा हामीले लामो-लामो समय फेरिरहेका थियौं । किनकि हामी रुकुम पूर्वको सदरमुकाम रुकुमकोट हुँदै केही समय मध्यपहाडी लोकमार्गमा, त्यसपछि सहिद मार्गको बाटो भएर तकसेराको सुन्दर बस्ती छिचोल्दै दिनभरको यात्रामा यहाँ आइपुगेका थियौं ।
हाम्रो खास यात्रा त भोलिबाट सुरु हुनेवाला थियो । झोलाहरू त सबै खच्चडले बोक्ने भए । तर आफ्नो जिउ त पैतालाकै भर न हो । रन्मा गाउँ छोडेर उकालो उक्लिएपछि आसपासमा स-साना गाउँ बस्तीहरू देखिए । ती परबाट हेर्दा बडो सुन्दर देखिन्थे । तर ती बस्तीभित्रका दुःख त हाम्रो समझबाहिर थियो।
हामी जति माथि उक्लियौं उति नै सुन्दर भुगोल देखियो । कतै खाली डाँडा त कतै घना जंगल, कतै सुनसान पाखा त कतै कलकल बग्ने खोला । पैदल यात्राको दुःख प्राकृतिक सुन्दरताले बिर्साइरहेको थियो । किनकि हामी सुनदहको सुनौलो सुन्दरता हेर्न तम्सिएका थियौं । त्यसैले थाक्ने छुट पनि त थिएन ।
पैदल यात्राको पहिलो बिहानको खाना हामीले पेपे भन्ने ठाउँमा खायौं । यहाँबाट अब ओरालो झरी कोनाबन खोला तरेर केही माथि उक्लिएपछि घना जंगल भएको ठाउँ आयो । हामी त्यही बास बस्ने भयौं । साँझमा खाना पाक्यो ।
तातो खाना खाएपछि पेट पनि तातो भयो । त्रिपालभित्र छिरेर पल्टिन पाएपछि त के चाहियो र ? घना जंगलभित्र हावाको आफ्नै संगीत थियो, चराको रात्रीकालीन भलाकुसारीजस्तो चिरबिर अनौठो थियो ।
भोलिपल्ट झिसमिसेमै आँखा मिच्दै उठने बित्तिकै सामल तामलको भारी कसेर हिड्ने तयारी भयो । सुनदह नपुगेसम्म खाना पकाएर खाने ठाउँसम्म छैन भन्ने भएपछि सल्लाह भयो, बरु बिहानै खाना पकाएर खाएर हिँडिहाल्ने । त्यो दिन चिया पिउने समयमै हामीले भात खायौँ । त्यसपछि हाम्रो हतारो सुरु भइहाल्यो, समयमै सुनदह पुग्ने ।
साढे एक घण्टाजति उकालो हिँडेपछि बर्जस गो (डाँडा) पुग्यौं । यहाँ पुगेपछि मन झन् धेरै चंगा भयो । किनकि उत्तर–पूर्वतिर हिमाल देखियो । दक्षिण–पश्चिमतिर सुन्दर पहाड देखियो । हिमाली सुन्दरताको तस्विर आँखामा खिचेर हामी अगाडि बढ्यौं । एकैछिन हिँडेपछि फरक भूगोलमा पुगियो ।
हाम्रो अघि पुरै नाङ्गो पहाड थियो । त्यही पहाडमा सिउँदो जस्तो सानो गोरेटो थियो । त्यसैलाई पछ्याउँदै हामी अघि बढिरह्यौँ । घोडा र खच्चरहरू वर्षौदेखि आफू हिँडेको बाटो भएकाले होला बढो फुर्तिका साथ फटाफट हिँडिरहेका थिए । सुनदह नपुगेसम्म त बाटोमा खानेपानी पनि पाइदो रहेनछ ।
बोत्तलमा पानी बोक्ने होस् पनि नपुर्याएकाले हामीले तिर्खा मेटाउन पाएनौँ । धेरै बेर हिँडेपछि एक ठाउँमा पानीको सानो मुहान भेट्यौं । त्यहाँ तिर्खा बिसायौँ, अघि बढ्यौँ । घर छोडेको तेस्रो दिन अपरान्हमा मात्रै हामी सुनदहको सामुन्नेमा पुग्यौं ।
समुन्द्री सतहदेखि करिब ४ हजार ४ सय मिटर उचाइमा रहेको यो सुनदहको सुन्दरताले हाम्रो सारा थकान मेटाइदियो । पहाडको फेदीमा रहेको सुनदहको सुन्दरता दहमा पोतिएको पहाडको छाँयाले मात्रै थिएन, कंचन निलो पानीले पनि यसको शोभा बढाएको थियो ।
यो यात्रा टोलीमा पुथाउत्तरगंगा गाउँपालिकाको सिंगो टोली थियो । गाउँपालिकाले कार्यपालिकाको बैठकपनि तालकै सामुन्नेमा बस्यो । यो बैठकले सुनदहको पर्यटन प्रवर्द्धन गर्ने लगायतका विभिन्न निर्णयहरू गर्यो । तालको सुन्दरता नियाल्दै सामुहिक मेसमा खाना खाँदा विछट्टैको अनुभूति भयो ।
ताल छेउका ओडारमा यार्सागुम्बु टिप्ने सिजनमा स्थानीयहरू आएर बस्ने रहेछन् । यो रात हामीले सुनदहकै छेउको ओडारमा बितायौं । अघिल्लो रात त्रिपालको चिसोमा जसोतसो कटाएका हामीलाई ओढारको बास भने सजिलो भयो ।
