महिला क्रिकेटरले पर्खिरहेको एउटा मञ्च

जसरी अहिले रोहित पौडेल, कुशल मल्ललगायतका खेलाडीको छक्कामा दर्शकहरू जुर्मुराइरहेका छन्, त्यसरी नै इन्दु बर्मा, रूबिना क्षेत्री, पूजा महतोहरूको चौका-छक्कामा मलाई रमाउन मन छ।

मंसिर ३०, २०८१

ज्यास्मिन ओझा

A platform that women cricketers have been waiting for

मेरो किक्रेटको पहिलो अनुभव बालापनको यादसॅंग गासीएको छ । आठ वर्ष पुगेर नौ लाग्दै थिएँ, जब टोलका केटा साथीहरूलाई ब्याट र बल खेलाउँदै गरेको देखेँ । त्यो बेला न त मैले क्रिकेटको नियम बुझेकी थिएँ, न यसको गहिराइ नै थाहा थियो । तर, खेलको त्यो झिल्कोले मेरो मनभित्र एउटा गहिरो जिज्ञासा रोप्यो ।

यो नयाँ संसार थियो, जुन मलाई जति आकर्षक लाग्थ्यो, उति नै अनौठो पनि । एक फरक उत्साहको भावना थियो, जसले मलाई यो खेलको सन्देश र महत्त्व बुझ्नको लागि प्रेरित गर्‍यो ।

मेरो बाल्यपन क्रिकेटको राजधानी विराटनगरमा बित्यो। म विराटनगरमा हुर्किंदै देशको राजधानी काठमाडौंमा भविष्य खोज्दै प्रवेश गरेको पनि १७ वर्ष भयो । जुनबेला विराटनगरमा मेरो बालापन जाँदै थियो, त्यसबेला क्रिकेटमा केटाहरूको बढी बोलबाला थियो। त्यो समयको समाजले केटाहरूको लागि मैदानलाई खुला राखेको थियो भने, छोरीहरूका लागि यस्ता कुराहरू एकदमै प्रतिबन्धित जस्तै थिए।

विद्यालयको कक्षाकोठामा, खेल मैदानमा, र सँगैको चिया पसलमा तरेली केटाहरूले खेलाडीहरूको नाम, रनको तथ्यांक, र खेलको रणनीतिमा चर्चा गरिरहन्थे। केटाहरूको त्यो जमातमा छोरीहरूको उपस्थिति शून्य हुन्थ्यो। हाम्रो समाजले सायद केटाहरूको क्षेत्र भनेर चिनाएका यस्ता ठाउँमा छोरीहरूको स्वाभाविक उपस्थिति स्वीकार्न सकेको थिएन।

तर, मेरो मनमा एउटा प्रश्न उठेको थियो-किन महिला र पुरुष बीच खेलकुदको यो भेदभाव छ? यो प्रश्न मलाई लामो समयसम्म बाधकको रूपमा थामिरहेको थियो। समाजले भन्यो कि खेलकुद केबल केटाहरूको लागि हो, र यो धारणाले हामी छोरीहरूलाई पिँजडामा राखेर हाम्रो इच्छाहरूलाई दबाउँथ्यो। तर समय बदलिएको छ। अब, हामीले महिला खेलाडीहरूले समाजको सोच बदल्दै गरेको देखिरहेका छौँ। पुजा महतो यसकै एउटा सशक्त उदाहरण हुन्। यू-१९ एसिया कप खेल्नको लागि मलेसिया जाँदै गर्दा, उनी नेपाली महिला क्रिकेटको प्रेरणादायी अनुहार बनेकी छन्।

त्यो बेलाको समाजलाइ थाहा थिएन कि फुटबलबाट साम्बा जन्मिनछन्, भलिबलबाट सरस्वती चौधरीहरू जन्मिनछन्। विश्व टेनिसमा सेरेना विलियम्स, मार्टिना नाभ्राटिलोभा जन्मिन्छन्। क्रिकेटमा मिथिला राज जन्मिन्छन् । नेपाली समाजलाइ थाहै थिएन कि हाम्रो देशको छोरीहरूले यस्तो खेल्छन् कि विश्वभर उनका चर्चाहरू हुनेछन्।

यस्तो सोच र संस्कारलाई चुनौती दिँदै, महिला खेलाडीहरूले आफूलाई खेलकुदमा अब्बल प्रमाणित गरेका छन्। सँगै, यो समाजको सोचलाई बदलेका छन् र हामीलाई देखाएका छन् कि महिलाहरूले कुनै पनि क्षेत्रमा पुरुषसँग समान चुनौती सामना गर्न सक्छन्।

यतिबेला देशैभरी क्रिकेटको उत्सव छ । सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म क्रिकेटको चर्चा छ । रन गनेर बस्नेदेखि  आ-आफ्नो टिमको सर्मथनमा बाजी थापेकासम्मको अनुहारमा बेग्लै उत्साह र रौनक छ  ।

झन्डै सयभन्दा बढी नेपाली पुरूष क्रिकेटरहरू अहिले त्रिवि क्रिकेट मैदानमै भिडिरहेका छन्। यता पूजा महतो यू-१९ महिला क्रिकेट टोली लिएर एसिया कप खेल्न मलेसिया पुगेकी छिन्। यसबाट पनि प्रस्ट हुन्छ कि हिजोभन्दा आज हाम्रो समाजका महिलाहरूको अवस्था परिमार्जित भइरहेको छ। 

अब एकछिन नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा गरौँ। त्रिविको ग्राउन्डमा पुग्दै गर्दा दिउॅंसोको साढे एक बजिसकेको थियो। म नपुग्दै खेल सुरू भइसेकेको थियो। मैदान पुगेकै थिइनँ, टाढैबाट हुटिङ र गेमको हुटहुटी सुनिरहेको थियो । म जाँदै गर्दा गेम चली नै रहेको थियो ।

खेलमा उपस्थित दर्शकहरूले हात हातमा चौका-छक्का लेखिएका प्लेकार्डहरू लिएर आफ्नो टिमलाई समर्थन गरिरहेका थिए । विकेट लिँदा जनकपुरका समर्थकको हुटिङले मैदान गुञ्जायमान हुन्थ्यो भने, चितवन समर्थकले प्रत्येक चौका-छक्कामा उभिएर ताली बजाउँदै 'गो चितवन राइनोज' भन्दै चिच्याएर गर्व व्यक्त गर्थे।

जनकपुरसँगको खेल चितवनलाई जित्नेपर्नै थियो । टस जितेर पहिला ब्याटिङ गरेको चितवनले १८१ रनको चुनौतीपूर्ण लक्ष्य दियो। जवाफी ब्याटिङ थालेको जनकपुरले खराब सुरूवात गर्‍यो । खेलको अन्त्यतिर जनकपुरको ब्याटिङ धरापमा पर्‍यो र पूरै ओभर नसिकिँदै चितवनले नतिजा आफ्नो पक्षमा पार्‍यो । जनकपुर अन्तिम २ ओभरअघि नै अलआउट भयो । जनकपुरलाई ३२ रनले हराएसँगै चितवन तेस्रो स्थानमा पुगेको छ।

खेलको प्रत्येक पलमा दर्शकहरूको हर्षोल्लास र दु:खको मिश्रण थियो । मैदानमा उपस्थित परिवारका सदस्य, युवा र वृद्धहरूले आफ्नो टोलीको समर्थन गर्दै हर्ष र निराश अनुहार झल्काइरहेका थिए । 

क्रिकेट केबल मनोरञ्जनको माध्यम होइन, यो पुस्ताहरूलाई जोड्ने पुल पनि हो भन्ने त्रिविमा तस्बिर देखिन्थ्यो। क्रिकेटका हस्ती ब्रायन लारा खेलाडीहरूलाई हौसला प्रदान गर्न त्रिवि मैदानमा पुगेका थिए। जो विश्वकै महान् क्रिकेटरमा पर्छन्। उनको उपस्थितिले पनि एनपीएल र नेपाली क्रिकेटको महत्त्व झल्काउॅंथ्यो। यो खेलले परिवारका हरेक सदस्यलाई एउटै स्थानमा ल्याउन सफल भएको छ। हामीले नेपाल प्रिमियर लिग जस्ता प्रतियोगिताहरूले सबै पुस्तालाई एकै स्थानमा उभ्याएको पनि देख्यौँ।

मलाई पनि यो उल्हासमय माहोलले तानिरहेको थियो। त्रिवि क्रिकेट मैदानमा बनेको नया संरचना, फेरिएको पिच, थपिएका प्रविधि बाउन्ड्रीभित्र र बाहिरको अवस्था बिल्कुलै फरक थियो। यो माहोलमा रमाउॅंदै गर्दा मभित्र भावनाहरूको मिश्रण थिए। म महिला नेपाल प्रिमियर लिगको कल्पना गरिरहेको थिएँ। जसरी अहिले रोहित पौडेल, कुशल मल्ललगायतका खेलाडीको छक्कामा दर्शकहरू जुर्मुराइरहेका छन्, त्यसरी नै इन्दु बर्मा, रूबिना क्षेत्री, पूजा महतोहरूको चौका-छक्कामा मलाई रमाउन मन छ। 

हरेक प्रदेशका सहरको नाममा जसरी टिमहरू बनाइएको छ। यसले मेचीदेखि महाकाली, कोशीदेखि कर्णालीसम्म क्रिकेटरलाई विस्तार गरिरहेको थियो। अर्कोतर्फ भावनात्मक रूपमा राष्ट्रियतालाई पनि बलियो बनाउन कोशेढुङ्गाको काम गर्‍यो। सुदूरपश्चिमका लोकेश बम विराटनागरबाट खेलिरहेका छन। मधेशका आरिफ सेख सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन्। नेपाली पुरूष क्रिकेटरहरूले नै २० लाखसम्म लिएर लिग खेल्ने अवसर पाएका छन्। त्यसरी नै प्रदेशदेखि अन्तर्राष्ट्रिय टिमसम्म महिला खेलाडीहरूले महिनामै २० लाखसम्मको हारहारीमा पाउने गरी नेपाली महिला क्रिकेट प्रिमियर लिग भएको हेर्न पाउॅंदा झन कति उत्साहपूर्ण माहोल बन्थ्यो होला।

म सोच्दै थिएँ, यो लिगले नेपाललाई मात्र नभई विश्वभरका खेलकुदप्रेमीहरूलाई एकीकृत गरेको छ। यसले नेपालको खेल क्षेत्रमा मात्र होइन, देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा पनि ठूलो भूमिका खेलेको छ। यो प्रतियोगिताले हामीलाई यस्तो क्षण दियो, जुन हामीले कहिल्यै कल्पना गरेका थिएनौँ। शिखर धवन, मार्टिन गप्टिल कुनै दिन हाम्रा सोमपाल कामी, सन्दीप लामिछानेको कप्तानमा उत्रिने छन् ।

यसले हाम्रो देशको खेलकुदको उचाइ नै अर्को तहमा पुऱ्याएको छ। यो लिगमा भएको लगानी र खेलाडीहरूको आम्दानीले खेलकुदमा पनि भविष्य छ भन्ने कुराको सन्देश प्रवाह गर्‍यो । यसले नेपाललाई विश्वभर चिनाउनुका साथै, खेलकुदप्रेमीहरूलाई एकै ठाउँमा ल्यायो । नेपाली क्रिकेटरलाई विश्वका चर्चित लिगहरूमा उभ्याउने बाटो खुलेको छ। अर्कोतर्फ गाउॅंमा सिक्दै गरेका भर्खरका युवाहरूले विदेशका ख्यातीप्राप्त खेलाडीहरूबाट केही त पक्कै सिके।

अब यस्तै अवसरको खाँचो महिला क्रिकेटमा छ। विश्व प्रसिद्ध महिला क्रिकेटर खेलाडी लौरा वोल्भार्ड्ट, चामरी अटापट्टु, बेथ मुनी, ताहिला म्याकग्रासँग इन्दु बर्मा, रूबिना क्षेत्री, सीता रानाको नेतृत्वमा एउटै मैदानमा खेल्दै गर्दा कस्तो गज्जब हुन्थ्यो होला। 

नेपाल क्रिकेट संघ (क्यान) ले अब यस्तै व्यवस्थित महिला प्रिमियर लिगको लागि पनि योजना बनाउन जरूरी छ। पुरूष लिगका लागि करोडौँ खर्च गरेर टिम बनाउन तयार निजी क्षेत्रले पनि अग्रसरता देखाउने हो भने महिला लिग पनि असम्भव छैन। यसले विश्व क्रिकेटमा नेपाली महिला क्रिकेटरको पनि उदाहरणीय स्थान पक्कै बढाउँथ्यो। र, नेपाल विश्वकपकै उपाधिबाट पनि सधैँ टाढा रहिरहने थिएन।

ज्यास्मिन

Link copied successfully