‘मृत्यु नचिनी जीवन चिनिँदैन’- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मृत्यु नचिनी जीवन चिनिँदैन’

लकडाउन डायरी-७
कम्तीमा खान नपाएर मर्ने स्थितिका एक जना मान्छेलाई बचाउन सक्नुभयो भने भोलि तपाईं भोकै पर्नुपर्दैन । आज पो डम्म भरिनुभएको छ । भोलि यो महामारी सकिएर अर्को महामारी नआउला भन्न सकिन्छ र ?
सिमाना पौडेल

कोरोना हिजोसम्म परपर आएको थियो । अहिले आफ्नै टोलमा आएको छ, आफ्नै ढोका अगाडि उभिएको छ । पहिला अरुका लागि लगाउने मास्क अहिले आफ्नै लागि लगाउन थालेकी छु । अरुले के भन्लान् ? भन्ने डरको ठाउँमा कतै मास्कले मात्रै मेरो सुरक्षा गर्नसक्ला र भन्ने डर प्रतिस्थापित भएको छ ।

डरको कुरा छोडौँ । मलाई खाना खाँदा पनि खाना खान नपाउने सबैको अनुहार झुलुक्क आउँछ अनि घुटुक्क थुक निलेजसरी खाना निल्छु । खाना खाँदा किन सबैभन्दा पहिला भगवान्लाई धन्यवाद भनेर खानु भनेर हजुरबुवाले भन्नुभएको थियो भन्ने कुरा अहिले बुझिरहेको छु । सबैको भाग्यमा खाना कहाँ लेखेको हुन्छ र ?

कसैले झोलाभरि चकलेट किनेको देख्दा म अचम्ममा परेँ । चकलेट पनि सोख हो मान्छेको भन्ने कुरा बुझ्दैछु । चकलेट किन खानुपर्यो ? चिजबल्स, कुरमुरे, लेज, आलु चिप्स यी सब स्वादकम लागि हो, भोकको लागि होइन । खानेकुरामा पनि मान्छेहरुको आ–आफ्नो सोख हुन्छ । कसैलाई कुनै खानेकुराको लत हुन्छः जस्तो कि चिया । बाँच्नका लागि चिया खानैपर्छ र ? रक्सी, मासु नखाए पनि भयो । अनि तरकारीमा प्याज, गोलभेडा, खुर्सानी हाल्नैपर्छ भन्ने छ र ? बिहान–बिहानै उठेर मह र कागती पानी खानैपर्छ र ? महको ठाउँमा चिनी खाए भयो । सुगर भएकाले मह पनि खान हुन्न के रे । नभए गुलियो किन खानैपर्यो र ? बाँच्नैपर्ने अवस्थामा दाल, चामल, चिउरा, नुन, बेसार, तेल, पानी मात्रै भए पुग्छ । दाल, चामल, नुन, बेसार छ भने खिचडी पकाएर खाएर महिनौँसम्म कोठाभित्र बसिरहेर पनि तपाईं बाँच्नुहुन्छ । यस्तो कुरा मैले किन लेखिराछु ? म एउटा घटना सुनाउँछु है :

हाम्रोभन्दा अलिक पर पल्लो घरमा एक जना आन्टी बस्नुहुन्थ्यो । उहाँका चार जना छोरा थिएँ । पाँच वर्ष भएको थियो उहाँहरु बस्न थाल्नुभएको । उहाँले एउटा ग्याँसको सिलिन्डर मात्रै बोकेर सबै सामानहरु छाडेर जानुभएको थियो । चामल राख्ने प्लास्टिकमा एउटा गेडो चामल भेटियो । मसलाको डब्बा रित्तै थियो । चियापत्तीको प्याकेट सकिएको थियो । तेलको बट्टा आन्टीहरु भाग्नु अगाडि कति रात अगाडिबाटै भागिसकेको थियो । ग्याँस चुलोमा खाना नपकाएको धेरै दिन भएजस्तो देखिन्थ्यो । खोतल्दै जाँदा किचेन र्‍याकको कुनामा ओसिएको चिउरा र दालमोठको धुलो भेटियो ।

उहाँले काम खोज्नका लागि धेरै प्रयत्न गर्नुभएको थियो तर काम गरे पनि उहाँले खान पुग्ने जति पर्याप्त पैसा पाउनुभएन । उहाँले भोक सहिराख्नुभएकै थियो तर बच्चाहरुको भोको पेटको आवाजले उहाँलाई निन्द्रा लाग्दैनथ्यो । त्यसमाथि घरभेटीले भाडा नदिने भए निस्केर जा भनेर चेतावनी दिइरहेका थिए ।

एकदिन उहाँले एक जना रक्सीले मातेको मान्छेलाई साथमा लिएर आउनुभयो । सबैलाई दाइ भनेर चिनाउनुभयो । पछि बिस्तारै थाहा भयो कि उहाँको दाइ होइन । सबैलाई त्यो कुरा थाहा भएपछि उहाँको चरित्रमा प्रश्न चिह्न उठाउन थालियो र ती दाइ त्यस कोठामा आउने क्रम टुट्यो । त्यसको दुई दिनमा उहाँले कोठा छाडेर बच्चासहित हिँड्नुभयो । उहाँले बच्चाको र आफ्नै भोको पेटका लागि आफ्नो वर्षौदेखिको दृढता र इमान्दारितालाई तिलाञ्जली दिनुभएको थियो । यो सबै उहाँको बाध्यताले भएका कर्महरु थिए । मान्छेलाई बाध्यताले आफ्नो आदर्शलाई पनि बन्धकी राखेर भोकको पेट मेटिरहेका छन् । त्यो मान्छेले किन उहाँलाई मानवताका नाताले बच्चालाई खुवाउनको लागि केही दिएन ? फेरि अरुको खाएपछि तिर्नु पर्छ भन्ने मान्यता बोक्नुभएको आन्टी आफैले पो खाना दिएको सट्टामा उहाँलाई रातहरु दिनुभएको थियो कि ? गुुन फर्काउनलाई उहाँसँग बाँकी के थियो र ?

खाटहरु काम लाग्ने अवस्थाका थिएनन् । दाउरा बाल्न मात्रै काम लाग्ने गरी मक्किएका खाटहरु मुस्किलले धानिएर कोठाको शोभा बढाइरहेका थिए । कोठा भन्नु नै खाट थियो । दराजको ढोका, लक सबै बिग्रिएको नाजुक अवस्थामा थियो । टीभी जति ठटाउँदा पनि बोल्नै नसक्ने अवस्थामा थियो । एउटा कुनामा महिनौँ अगाडि पिसिएको जिराको ओसिलो धुलोमा ढुसी देखापरेको थियो ।

त्यो कोठामा सबै कुरा भेटिएको थियो तर मलाई ‘नानी, छोरी मान्छे भएर छोराभन्दा कम छु भनेर लोग्नेले जसो भन्यो त्यसै गर्नहुन्न । म त अन्याय सहन सक्दिनँ भनेर छोरो बोकेर हिँडे । आफ्नो पसिनाले यिनीहरुलाई पालेकै छु ।’ भन्ने आन्टीको साहस कतै भेट्न सकिनँ । उहाँले आफ्नो दृढताजति सबै लत्याएर कुन यात्रामा जानुभयो होला ?

लकडाउन हुनुभन्दा एक महिना अगाडिदेखिको ६ महिनाको भाडा दिनैपर्ने बाध्यात्मक स्थिति, आफू बाँच्नैपर्ने र बच्चालाई बचाउनुपर्ने स्थिति र काम गर्न जाँदा कमाएको पैसाले नपुग्ने भएपछि मान्छे कति लाचार बन्छ ।

‘इमान्दार छ होला भनेको यो आइमाई त बेइमानी पो रहिछे । झन् मैले ग्याँस किन्नलाई पैसा सापट दिएको थिएँ । चामल पनि दुई हप्ताअघि पाँच किलो दिएको थिएँ । मान्छेको जातलाई गुन गरेर नदेख्ने । घरले खान दिने हो र ? इँटा उप्काएर खाए त हो अब ।’ घरभेटी कराउँदै हुनुहुन्थ्यो ।

अर्को एउटा घटना :

हाम्रो टोलभन्दा पल्लो टोलमा एकजना अंकलको दुई जना साना बच्चाहरु, एउटी श्रीमतीसहित चार जनाको लोभलाग्दो परिवार थियो । अंकलहरु त्यस ठाउँमा बसेको लगभग दस वर्ष भएको थियो । खानका लागि अभाव हुँदै गएपछि, भइरहेको जागिर खोसिएपछि हिजो मात्रै उहाँ आत्महत्या गरेर मर्नुभयो ।

हामीहरु एक छाक खाना मात्रै खाँदा पनि बाँच्न सक्छौ । पहिला अटाइ–नअटाइ खान्थ्यौं भने अहिले बाँच्नको लागि मात्रै खाएर बचत भएको पैसा र चामलहरु दान दिन सक्छौं । खान नपाएर तपाईंको नजिकै छिमेकी आत्महत्या गरिरहँदा तपाईं कसरी उब्रिएको खाना फाल्न सक्नुहुन्छ ? अलिअलि पैसा हुनेहरुमा पनि अझै यो लकडाउन लम्बिएमा के गर्ने भन्नेमा अन्योलता नै छ । यो स्थिति झन् भयावह हुनसक्छ ।

आन्टी र उनका छोराहरु कता गए होलान् ? के खाँदै होलान् ? जस्तो स्थिति भए पनि सकुशल रहे हुन्थ्यो । मेरो यही कामना छ । यो बेलामा मानवताका नाताले हेर्नपर्ने हुन्छ । घरमा बसेकाहरुलाई भाडा दिन बाध्य नपारौँ । उनीहरु खानका लागि छुट्याएको पैसा पनि तिरेर भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्छ । हामीले केही गर्न नसके पनि आफ्ना वरिपरिका मान्छे भोकै छन् कि छैनन् भनेर सोधीखोजी गर्न सक्छौँ । आफूसँग भएको सीमित स्रोत, साधनको अड्कलेर उच्चतम प्रयोग गर्न सक्छौँ । खाजामा चाउचाउ र अन्डाको सट्टामा चिउराको सादा पुलाउ बनाउन सक्छौँ । चिउराको पुलाउ बनाउने तरिका भनुम् ? सबैलाई थाहा नहुन सक्छ नि त ।

चिउरालाई पानीले भिजाउने, पानी फालेर कराईमा थोरै तेल हाल्ने । कराई तातिसकेपछि ओसिलो चिउरा हाल्ने र केहीछिन चलाउने, नुन, बेसार, मरमसला हाल्ने । खाना पकाउन अल्छी लाग्यो भने यस्तो गर्दा पनि हुन्छ । हामी वरिपरिका मानिसहरुको बारेमा जानकारी राख्न सक्छौँ । राष्ट्रप्रति जिम्मेवार रहनु भनेको यहाँ बसोबास गर्ने प्रत्येक व्यक्तिप्रति जिम्मेवार रहनु हो । कम्तीमा खान नपाएर मर्ने स्थितिका एक जना मान्छेलाई बचाउन सक्नुभयो भने भोलि तपाईं भोकै पर्नुपर्दैन । आज पो डम्म भरिनुभएको छ । भोलि यो महामारी सकिएर अर्को महामारी नआउला भन्न सकिन्छ र ?

यो समयमा हामी मैत्री बाहेक के गर्न सक्छौँ र ? सबैको राम्रो होस्, सबैको कल्याण होस् ।

काठमाडौंमा बसिरहेकाहरु खान नपाएर मर्ने अवस्था छ । कम्तीमा गाउँघरमा माटो खोस्रिएर, बनमा कन्दमूल खोजेर भए पनि बाँचिन्छ । यहाँ यस्तो पनि छैन । हामीले यो बेलामा आफू वरिपरिको मान्छेको ख्याल राख्नुपर्छ ।

राष्ट्रकवि माधव घिमिरे बाँचेजत्तिको उमेर सबैले बाँचे नि हुने नि भन्ने लाग्छ । कति साना–साना बच्चाहरुलाई टुहुरो पारेर मर्छन् । कोहीकोहीँ भोलिको जिन्दगी पनि अँध्यारै देखेर मर्छन् । खासमा मानिस जस्तो परिस्थितिमा पनि सहज रुपले बाँच्न सक्छ । खानै नखाई पनि हामी एक महिना बाँच्न सक्छौ । तर हामीमा बाँच्ने विश्वास र भोलिका लागि सुन्दर सपना हुनुपर्छ । यो कोरोना महामारी सकिएला, सकिएला भन्यो तर सकिएको छैन । यो कोरोना भइराख्यो भने पनि अब हामी योसँगै बाँच्ने अभ्यासमा लाग्नुपर्छ ।

अहिले विभिन्न ठाउँमा फुड बैंक भनेर खाना वितरण गरिएको छ । चैतदेखि असारसम्म खाना वितरण गरेर सहयोग गरिरहेका व्यक्तिहरु पनि अब नसकेर आफैलाई पुर्याउने धुनमा लाग्नुभएको छ । अब सक्दै नसकेपछि के गर्ने त ? सानो प्रयास भन्ने अभियानमार्फत लकडाउनमा खाना वितरण गरिरहनु भएको समूह पनि तितरबितर हुनुभएछ ।

यतिबेला बाढी,पहिरोको विपत्ति पनि आएको छ । देशको अर्थतन्त्र डामाडोल छ । भूकम्पले भन्दा बढी क्षति अहिले बेहोर्नुपरेको छ । आर्थिक संकट त्यस्तै छ । कोरोना लागेर मर्नेहरुप्रति भन्दा पनि भोकले मर्नेहरुप्रति हामी बढी संवेदनशील बन्नुपर्छ । कोरोनाले लगे त ठीकै होस्, अब जति पनि हुनुहुन्छ, भोकले भने कसैलाई लैजान नसकोस् । आत्महत्या गर्नपर्ने स्थितिसम्म नपुर्याओस् ।

कोरोना ढोकामा आइपुगेको छ । ढोका नखोल्नुस् है ।

अँ साँच्चै तपाईंले खाना खानुभयो ?

प्रकाशित : भाद्र १६, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

न्यूनतम तलबलाई कार्यान्वयन गर्छाैं : कतार चेम्बर

होम कार्की

काठमाडौँ — कतारका व्यवसायीहरुको संगठन कतार चेम्बर अफ कमर्सले आप्रवासी श्रमिकको लागि भेदभाव नगर्ने गरी तय गरिएको न्यूनतम तलब कार्यान्वयन हुने विश्वास दिलाएको छ ।

कतार सरकारले १४ भदौमा पहिलो पटक अदक्ष श्रमिकको लागि एक हजार रियाल (३२ हजार रुपैयाँ) न्यूनतम तलब तोकेको थियो । रोजगारदाताको अनुमतिबिना रोजगारदाता परिवर्तन गर्न पाउने नियम जारी गरेको थियो ।

चेम्बर अफ कमर्सले न्यूनतम तलब निर्धारण र रोजगारदाता परिवर्तनले आप्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्नुको साथै श्रम बजार सुधारको लागि महत्त्वपूर्ण कदम भनेको छ ।

‘अदक्ष श्रमिक र घरेलु श्रमिकको लागि तय गरिएको न्यूनतम तलब कार्यान्वयन गर्ने अद्वितिय निर्णय हो । यसले एउटै समयमा श्रमिक र रोजगारदाताको रुचिलाई सन्तुलन राख्छ । स्थानीय श्रम बजारलाई दिगो बनाइराख्न योगदान गर्छ’, चेम्बरका अध्यक्ष शेख खालिफा विन जस्सिम विन मोहम्मद अल–थानीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कतारको अर्थतन्त्रलाई क्षेत्रीय र विश्वव्यापीरुपमा थप प्रतिस्पर्धी बनाउँछ । निजी रोजगारदातालाई दक्ष र प्रशिक्षार्थी श्रमिकसँग सम्बन्ध कायम गर्न अवसर मिल्छ ।’

सम्बन्धित समाचार : कतारले श्रमिकको न्यूनतम तलब एक हजार रियाल तोक्यो

प्रकाशित : भाद्र १६, २०७७ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×