अस्ट्रेलियासम्म एक नेपाली मनको संघर्ष, सपना र पहिचानको कथा
What you should know
काठमाडौँ — काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजभोलि एउटा दृश्य सामान्य भइसकेको छ—हातमा विमान टिकट, साथमा ३५ केजीको लगेज र आँखाभरि अनगिन्ती सपना बोकेका युवायुवती । कसैको आँखामा उत्साह छ, कसैको ओठमा जबर्जस्ती मुस्कान, र कसैको मनभित्र नबोलिएको डर ।
त्यो झोलाभित्र केही लुगा र कागजात मात्रै हुँदैनन्, त्यसभन्दा धेरै भारी हुन्छ—परिवारको जिम्मेवारी, ऋणको चाप, गाउँ–समाजको अपेक्षा र ‘केही गरेर देखाउनैपर्छ’ भन्ने अठोट।
विद्यार्थी भिसा हात परेको दिन धेरैका लागि जीवनकै ठूलो उपलब्धि जस्तै लाग्छ। आफन्तको बधाई, छिमेकीको चासो र समाजको आशा एकैचोटि खनिन्छ। तर त्यो खुसीसँगै मनको कुनै कुनामा एउटा प्रश्न पनि पलाउँछ—के अब म साँच्चै तयार छु? किनकि विद्यार्थी भिसा केवल विदेश जाने अनुमति होइन, यो जिम्मेवारी, संघर्ष र आत्मपरीक्षणको ढोका हो।
जब ती युवा अस्ट्रेलियातर्फ उड्छन्, उनीहरू केवल अर्को देश गइरहेका हुँदैनन्। उनीहरू आफ्नै जीवन पुनर्लेखन गर्न निस्किएका हुन्छन्। घरबाट साथमा लगेको २५ सय डलर जति पुँजी, अपरिचित भूमि, नयाँ नियम, नयाँ अनुहार र अनिश्चित भविष्यतर्फ चालिएको पाइला सामान्य साहस होइन। यो साहस त्यही नेपालीसँग हुन्छ, जसले जीवनलाई सपना मात्र होइन, श्रम, पसिना र सहनशीलताबाट बुझ्न सिकेको हुन्छ।
अस्ट्रेलियाको पहिलो अवतरण प्रायः उज्यालो हुन्छ—विशाल विमानस्थल, सफा सहर, व्यवस्थित सडक र अनुशासित भीड। तर त्यो उज्यालोपनसँगै मनभित्र एउटा अदृश्य डर पनि मिसिएको हुन्छ। भाषा नयाँ हुन्छ, उच्चारण मिल्दैन। नियम नयाँ हुन्छन्, गल्ती गरे सजाय पक्का। मानिसहरू शिष्ट हुन्छन्, तर दूरीमा। नेपालमा छोडेर आएको घरको न्यानो, आमाबुवाको माया, गाउँको खुला आकाश र साथीहरूको हाँसो एकाएक धेरै टाढा भएको अनुभूति हुन्छ।
पहिलो रात धेरैका लागि सबैभन्दा भारी हुन्छ। मोबाइलमा घरको फोटो हेर्दै मन गह्रुँगो बन्छ। त्यही क्षण एउटा यथार्थ मनमा बस्छ—विदेश जाने सपना जति सुन्दर देखिए पनि, त्यसको बाटो सजिलो हुँदैन। सुरुवाती साताहरू कठोर हुन्छन्। कोठा खोज्न दर्जनौँ फोन गर्नुपर्छ, विज्ञापन हेरेर जाँदा ‘अल्रेडी गन’ भन्ने जवाफ सुन्नुपर्छ। भाडा महँगो, डिपोजिट भारी, कामका लागि पठाइएका सीभीको जवाफ अनिश्चित।
यहीँबाट नेपाली आत्मबलको असली परीक्षा सुरु हुन्छ। निराशाबीच पनि भोलि फेरि उठेर काम खोज्न निस्कनु नेपाली विद्यार्थी जीवनको नियमित दृश्य हो। पहिलो काम प्रायः सजिलो हुँदैन—भाँडा माझ्ने, भुइँ सफा गर्ने, बिहान सबेरैदेखि रातिसम्म रेस्टुरेन्टमा लामो सिफ्ट गर्ने। हात चिरिन्छ, ढाड दुख्छ, मन थाक्छ। पढाइ, काम र थकानको त्रिकोणमा धेरै विद्यार्थीको जीवन अड्किएको हुन्छ।
तर यही पसिनाबाट जीवनको बाटो बिस्तारै खुल्न थाल्छ। अस्ट्रेलियाले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो—काम सानो हुँदैन, इमान सानो भयो भने मात्र मान्छे सानो हुन्छ। यहाँ श्रमको सम्मान छ। आज भाँडा माझ्ने हातले भोलि कम्प्युटर चलाउन सक्छ, स्टेथोस्कोप समात्न सक्छ वा आफ्नै व्यवसाय सुरु गर्न सक्छ।
सबै संघर्ष बाहिर देखिँदैनन्। धेरै विद्यार्थी हाँस्दै आफ्नो थकान, एक्लोपन र मानसिक दबाब लुकाइरहेका हुन्छन्। नेपाली समाजमा मानसिक स्वास्थ्य अझै खुलेर बोलिने विषय नबनेकाले यो मौनता कहिलेकाहीँ गम्भीर परिणाममा बदलिन्छ। त्यसैले विदेश आउनु अघि र आएपछि मानसिक तयारी, सही जानकारी र सामुदायिक सहयोग अत्यन्त आवश्यक हुन्छ।
अस्ट्रेलियामा नेपालीहरूको यात्रा केवल आर्थिक उन्नतिमा सीमित छैन। यहाँ मित्रता, प्रेम र परिवारका कथा पनि छन्। एउटै कोठामा बाँडिएको दुःखले जीवनभरको सम्बन्ध बनाएको छ। विदेशमै सुरु भएको प्रेम विवाहमा परिणत भएको छ। दिन–रात बगाएको पसिनाले समयसँगै परिवर्तन ल्याउँछ। त्यो ३५ केजीको झोला बोकेको युवा अनुभवले परिपक्व बन्छ, आत्मविश्वास बढ्छ।
आज अस्ट्रेलियामा नेपालीहरू केवल कामदार होइनन्—उनीहरू इन्जिनियर, नर्स, अनुसन्धानकर्ता, व्यवसायी, शिक्षक, सरकारी कर्मचारी र सामुदायिक अगुवा बनेका छन्। उनीहरूको सफलताले देखाउँछ, सफलताको मापन केवल घर–गाडीले हुँदैन। वास्तविक सफलता त त्यही हो, जब नेपालीले विदेशको भूमिमा टेक्दा पनि आफ्नो इमान, संस्कार र व्यवहारलाई जोगाएर हिँड्छ।
अन्ततः विदेश बसाइको सार पैसा मात्र होइन। असली कमाइ त त्यो हो, जब वर्षौँपछि मानिसहरूले तपाईंलाई ‘इमानदार, भरपर्दो र असल मानिस’ भनेर सम्झन्छन्। किनकि विदेशमा बसेको नेपालीको प्रतिष्ठा उसले कति कमायो भन्नेमा होइन, उसले कस्तो मानिस भएर बाँच्यो भन्नेमा निर्भर हुन्छ।
३५ केजीको झोला र २५०० डलरबाट सुरु भएको यो यात्रा कुनै एक व्यक्तिको कथा होइन। यो हजारौँ नेपाली युवाको सामूहिक संघर्ष, पसिना, सपना र गौरवको इतिहास हो। जहाँ गए पनि, जुन उचाइमा पुगे पनि, आफ्नो पहिचान जोगाएर अघि बढ्न सकेको मान्छे नै वास्तवमा सफल हो।
