अल्जाइमर : सम्झनासँगको संघर्ष

अल्जाइमरका प्रारम्भिक लक्षणमा भुल्ने, परिवारका सदस्यलाई चिन्नमा कठिनाइ हुने र दैनिक काम गर्न समस्या देखिन सक्छ। रोग बढ्दै जाँदा यी लक्षण अझ स्पष्ट र गाढा हुँदै जान्छन् ।

आश्विन ५, २०८२

डा. जगदीशकुमार क्षेत्री

Alzheimer's: The Struggle with Memory

हरेक वर्ष सेप्टेम्बर २१ मा अन्तर्राष्ट्रिय अल्जाइमर  दिवस मनाइन्छ । अल्जाइमर एक बुढ्यौलीसँग सम्बन्धित रोग हो, जसमा बढ्दो उमेरसँगै हाम्रो स्मरण शक्ति क्रमशः घट्दै जान्छ । अहिले विश्वमा पाँच करोडभन्दा बढी मानिस डिमेन्सियाबाट प्रभावित छन् र यसमा अल्जाइमर रोगको योगदान ६०-७० प्रतिशतजति छ।

डिमेन्सिया भनेको मस्तिष्कको स्मरण शक्तिमा गिरावट ल्याउने विभिन्न प्रकारका रोगहरूको समष्टि हो, विशेष गरी सम्झना, सोच, निर्णय क्षमता आदि । डिमेन्सियाका विभिन्न प्रकार छन्, जसमा अल्जाइमर रोग पनि समावेश छ। अल्जाइमर रोगलाई धेरैले बुझेको हुँदैनन् र नाम सुन्नासाथ त्रसित हुन्छन् तर यो रोगको राम्रो बुझाइले बिरामी र उनीहरूको परिवारका लागि रोग व्यवस्थापनमा महत्त्वपूर्ण भिन्नता ल्याउन सकिन्छ। 

नेपालमा हाल मानिसहरूको आयु  बढ्दै जाँदा अल्जाइमर रोग पनि बढ्दै गएको हुन सक्छ, तर यकिनसाथ नेपालमा यस रोगको अवस्था के छ भन्न गाह्रो छ । अन्तर्राष्ट्रिय अल्जाइमर दिवसका अवसरमा हामी  पनि यस रोगबारे थप केही कुरा जान्ने र बुझ्ने कोसिस गरौं । 

अल्जाइमर के हो ?

अल्जाइमर रोगको मुख्य कारण बढ्दो उमेरसँगै मस्तिष्कमा हुने परिवर्तनहरू हो, जसले यसको कार्यक्षमता प्रभावित गर्दछ। यो रोगले विशेष रूपमा मस्तिष्कका कोषहरूको नाश गराउँछ, जसका कारण स्मरण शक्तिमा गिरावट आउँछ। रोगको विकास बिस्तारै हुन्छ र प्रारम्भिक चरणमा यो चिन्न निकै गाह्रो हुन सक्छ।

अल्जाइमरका प्रारम्भिक लक्षणमा  भुल्ने,  भ्रम, परिवारका सदस्यलाई चिन्नमा कठिनाइ र दैनिक कामहरू गर्न समस्या देखिन सक्छ। रोग बढ्दै जाँदा यी लक्षणहरू अझ स्पष्ट र गाढा हुँदै जान्छन् ।

अल्जाइमर रोगका जोखिमहरू के के हुन् ?

अल्जाइमर रोगको वास्तविक कारण अझै अज्ञात छ। हालसम्म भएका अध्ययनहरूले अल्जाइमरको जोखिम बढाउने दर्जनौं कारकहरूको पहिचान गरेका छन्, जसमध्ये केही यस्ता छन् :

• बढ्दो उमेर: बढ्दो उमेर अल्जाइमरको प्रमुख जोखिम कारक मानिन्छ । ६५ वर्षको उमेरपछि यसको जोखिम धेरै बढ्छ र ८५ वर्षमाथिका व्यक्तिमा यो अझ बढी हुन सक्छ। यद्यपि, अल्जाइमर बुढौलीको सामान्य हिस्सा भने होइन र यो अनिवार्य रूपमा उमेरसँग सम्बन्धित छैन।

• जेनेटिक्स: यदि परिवारमा कुनै नजिकका सदस्यलाई अल्जाइमर रोग छ भने यसको जोखिम बढ्न सक्छ। केही जीनहरू, जस्तै कि अपोइ- इफोर जीन, अल्जाइमरको उच्च जोखिमसँग जोडिएको छ तर यो जीन भएको व्यक्तिलाई यो रोग हुने ग्यारेन्टी चाहिँ हुँदैन । यदि तपाईंमा यो जीन छ भने तपाईंले स्वस्थ जीवनशैली  चाँडै अपनाउन सक्नुहुन्छ र चनाखो रहनु जरुरी छ ।

• दीर्घ रोग: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह र हृदय रोगजस्ता अवस्था अल्जाइमरको विकासमा योगदान पुर्‍याउन सक्छन्। त्यसैले, हामीलाई यी अवस्थालाई समयमै नियन्त्रण गर्नुपर्छ।

• मानसिक स्वास्थ्य: विशेष गरी मध्य आयुमा देखिने डिप्रेसनजस्ता मानसिक रोग अल्जाइमरको सम्भावना बढाउने ठूलो जोखिम कारक मानिन्छ । त्यसैले, मानसिक स्वास्थ्यलाई व्यवस्थापन गर्नु र दीर्घकालीन तनावको उपचार गर्न महत्त्वपूर्ण छ।

• सामाजिक अलगाव: सामाजिक र मानसिक रूपमा सक्रिय रहनुले अल्जाइमरको जोखिम घटाउन मद्दत गर्छ। सामाजिक संलग्नता र शारीरिक क्रियाकलापको कमीले मष्तिस्क शक्तिह्रासको सम्भावना बढाउन सक्छ।

• स्वस्थ  व्यवहार: शारीरिक गतिविधि कम गर्नु, अत्यधिक मदिरा सेवन, मोटोपन र धूम्रपानजस्ता तत्त्वहरूले अल्जाइमरको विकासमा योगदान पुर्‍याउन सक्छन्।

• सुन्ने र  सुँघ्ने  समस्याहरू: कानको सुन्ने शक्ति  र नाकको सुँघ्ने शक्ति कमी भएका केही व्यक्ति पनि अल्जाइमरको उच्च जोखिममा हुन्छन्, त्यसैले यी व्यक्तिहरूलाई प्रारम्भिक जोखिम परीक्षण गर्नुपर्छ।

• कम शिक्षा स्तर: कम शिक्षा पनि अल्जाइमरको जोखिम कारक मानिन्छ। त्यसैले हामीले भन्न सक्छौं 'शिक्षा कहिल्यै पनि रोक्नु हुँदैन' र जीवनभर सिक्न र पढ्न जारी राख्नुहोस्, जसले अल्जाइमरको जोखिमलाई केही हदसम्म घटाउन सक्छ।

अल्जाइमरको निदान कसरी गरिन्छ र कुन विशेषज्ञलाई देखाउने ?

अल्जाइमरको निदान गर्नका लागि केही कदमहरूमा  विशेष ध्यान दिनु आवश्यक छ। यदि आफ्नो परिवारका कोही सदस्यले सम्झना शक्ति घट्दै गएको लक्षण देखाइरहेका छन्, जस्तो कि, उनीहरूले चाबी राखेका स्थान र गर्नुपर्ने कामहरू नियमित भुल्नु, घर जाने बाटो बिर्सिनु ।

यस अवस्थामा  पहिलो कदम विशेषज्ञ चिकित्सकसँग  भेट गर्नु पर्छ, विशेष गरी ज्येष्ठ नागरिक  रोग विशेषज्ञ जेरियाट्रिसियनसँग, यदि उपलब्ध छैन भने  न्युरोलोजिस्टसँग, जहाँ उनीहरूले विस्तृत चेक जाँच गर्छन् । जसमा व्यक्तिको स्वास्थ्य पृष्ठभूमि, पारिवारिक स्वास्थ्य र मस्तिष्कको कार्यमा प्रभाव पार्ने अन्य कारकहरूको विस्तृत जानकारी लिने गरिन्छ।

विशेषज्ञहरूले स्मरण शक्तिको परीक्षण र मूल्याङ्कन गर्न सक्छन् । यदि आवश्यक भएमा मस्तिष्कको सिटी , यमआरआई गरिन्छ- जसले अल्जाइमरसँग सम्बन्धित मस्तिष्क परिवर्तनहरू पत्ता लगाउँछ। थाइराइड समस्या वा भिटामिनको कमी जस्ता अन्य लक्षणका कारणहरू हटाउनका लागि केही रक्त परीक्षणहरू पनि गर्न सकिन्छ।

परिवारका अन्य सदस्यलाई पहिला अल्जाइमर भएको अवस्थामा जेनेटिक परीक्षण पनि गरिन सक्छ। विकसित देशहरूमा, प्रेसिजन रक्त परीक्षण र पीईटी स्क्यान पनि  अल्जाइमरको स्थिति पुष्टि गर्नका लागि गरिन्छ।

उपचारका विकल्पहरू

हालको समयमा अल्जाइमर रोगको कुनै उपचार छैन। यद्यपि, उपचारको उद्देश्य र लक्षणलाई व्यवस्थापन गर्न र सकेसम्म लामो समयसम्म जीवनको गुणस्तर सुधार गर्न हो। केही औषधिहरू जस्तै डोनेपेज़िल र मेमेन्टिन सामान्यतया स्मरण लक्षणको उपचारमा प्रयोग गरिन्छ।

विकसित देशहरूमा नयाँ उपचारहरू जस्तै 'मोनोक्लोनल एण्टी बडी' थेरापीहरू उपलब्ध छन्, जसले अल्जाइमरको विकास ढिलो पार्न केही प्रभाव देखा पारेको छ। तर यी थेरापीहरू अझै प्रयोगात्मक  हुन सकेका छैनन् र धेरै महँगो छन् । हाल अमेरिका, युरोप  र चीनमा व्यापक प्रयोग छ । स्टेम सेल उपचारहरू पनि परीक्षणमा छन् तर तुरुन्तै प्रयोगमा आउने देखिँदैन ।

अरू के गर्न सकिन्छ ?

स्मरण शक्ति घट्दै गएका वा केही नभएका सबै ज्येष्ठ नागरिकले नियमित शारीरिक व्यायाम गर्नुपर्छ । ६० वर्षमाथिका सबै व्यक्ति दिमागी व्यायाम अभ्यासहरू जस्तै पजल गेम, पढाइ वा नयाँ सीप/भाषा सिक्न नियमित रूपमा संलग्न हुनुपर्ने हुन्छ। दिमागी व्यायाम अभ्यास उपचार ती व्यक्तिहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ, जसले स्मरण शक्ति घट्दै गएका प्रारम्भिक लक्षण देखाउन सुरु गरेका छन् । केही अनलाइन खेलहरू पनि  हुन्छन्, जसले स्मरण शक्ति बढाउन  मद्दत पुर्‍याउन सक्छन्। यी रणनीतिहरूले अल्जाइमर रोग निको पार्न त सकिँदैन  तर यसको बढ्ने क्रम कम गर्न र जीवनको गुणस्तर सुधार गर्न मद्दत पुर्‍याउन सक्छन्।

बिरामी र परिवारका लागि चुनौती

अल्जाइमर रोगले केवल बिरामीलाई मात्र होइन, परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिलाई पनि थुप्रै चुनौती ल्याउन सक्छ। अल्जाइमरको सबैभन्दा देखिने लक्षण भनेको सम्झना हराउनु हो। बिरामीले आफ्नो व्यक्तिगत जानकारी वा दैनिक गतिविधि पनि भुल्न सक्छ।

जब रोग बढ्दै जान्छ, उनीहरूले  परिचित व्यक्ति पनि नचिन्ने , जानेका काम-कुरा गर्न पनि भुल्न सक्छन्, जसले उनीहरूलाई विचलित  बनाउन सक्छ। उनीहरू कहिलेकाहीँ आफ्नो घर पनि भुल्न सक्छन् र हराउन सक्छन्, त्यसैले यदि उपलब्ध छ भने परिवारका सदस्यहरूको जानकारी भएको ब्याण्ड वा जीपीएस ट्र्याकरहरू प्रयोग गर्नु पर्छ।

अल्जाइमरले मूड परिवर्तन, आक्रोश वा  एक्लोपना पनि ल्याउन सक्छ। रोगीहरूले भ्रम वा पारानोइया अनुभव गर्न सक्छन्, जसमा उनीहरूले सोच्छन् कि अरूले चोरी गरिरहेका छन् वा उनीहरूलाई कसैले हानि पुर्‍याउने प्रयास गर्दैछन्।

अल्जाइमर बढ्दै जाँदा उनीहरूले हिँड्न, खान वा प्रियजनलाई चिन्नमा कठिनाइ अनुभव गर्न सक्छन्, जसले शारीरिक चुनौतीहरू र जटिलताहरू जस्तै स्वास प्रश्वास संक्रमण हुन सक्छ। अल्जाइमर भएका व्यक्तिको हेरचाह गर्ने परिवारका सदस्यले भावनात्मक र शारीरिक थकान, तनाव र एकान्तको अनुभव गर्न सक्छन्, जुन निकै कठिन अनुभव हो । बिरामीको हेरचाह गर्ने व्यक्तिले यस विषयमा सकेसम्म विशेष प्रशिक्षण प्राप्त गर्नुपर्छ।

कसरी हामी आफ्ना परिवारका बिरामीको राम्रो हेरचाह गर्न सक्छौं ?

यदि तपाईं कोही अल्जाइमर भएका व्यक्तिको  हेरचाह गर्दै हुनुहुन्छ भने उनीहरूको हेरचाहमा सहानुभूति, धैर्य र बुझाइको एकदमै खाँचो छ। केही सुझावहरू :

 • सुरक्षित र परिचित वातावरण सिर्जना गर्ने: अल्जाइमर भएका बिरामी स्थिर र परिचित वातावरणबाट लाभ उठाउन सक्छन् । घरका चीजहरू व्यवस्थित राख्नुहोस्, सामानहरूलाई चिह्न लगाउनुहोस् र एक रुटिन बनाउनुहोस्। यसले बिरामीमा भ्रम र चिन्ता घटाउन सक्छ।

 • स्वतन्त्रता प्रोत्साहन गर्ने: जति सकिन्छ, बिरामीलाई  सबै काम आफैँ गर्नका लागि प्रोत्साहन गर्नुहोस्, यद्दपि लामो समय नै लागोस् । यसले उनीहरूलाई स्वतन्त्रता र इज्जतको भावना कायम राख्न मद्दत पुर्‍याउँछ।

 • स्पष्ट रूपमा संवाद गर्ने: बिरामीसँग कुरा  गर्दा   बिस्तारै र स्पष्ट रूपमा कुरा गर्नुहोस् र सरल र छोटो वाक्य प्रयोग गर्नुहोस्। धैर्य राख्नुहोस् र उनीहरूलाई प्रतिक्रिया दिनका लागि समय दिनुहोस्।

 • दैनिक गतिविधिमा मद्दत गर्ने: जब रोग बढ्दै जान्छ, बिरामीलाई  दैनिक कार्य जस्तै खान, नुहाउन वा लुगा लगाउनमा मद्दत चाहिन सक्छ, यस क्रममा उनीहरूलाई सघाउनु अगावै स्पस्ट भन्नु पर्छ र सकेसम्म मन्जुरी लिनु पर्छ।

 • भावनात्मक सहयोग दिने: अल्जाइमर भएका बिरामी प्रायः तनाव, भ्रम वा डर अनुभव गर्छन्। उनीहरूलाई आश्वासन र भावनात्मक सहयोग दिनुले उनीहरूको चिन्ता कम गर्न मद्दत गर्न सक्छ।

रोगका विभिन्न चरणमा के  के हुन्छ ?

अल्जाइमर रोग प्रत्येक व्यक्तिका लागि फरक फरक ढंगले प्रस्तुत हुने गर्छ र बढ्छ पनि  तर यस रोगमा तीन  सामान्य चरण हुन्छन्:

• प्रारम्भिक चरण : बिरामीले अझै स्वतन्त्र रूपमा जीवन यापन गर्न सक्छ तर स्मरण शक्ति अलिक घट्दै जान्छ वा जटिल कार्यहरू गर्न गाह्रो हुन सक्छ।

• मध्य चरण: सम्झना हराउने लक्षण बढी स्पष्ट हुन्छ। व्यक्ति दैनिक कार्यहरू गर्न मद्दत चाहन सक्छन्, हराउन सक्छन् र मूडको उतारचढाव र भ्रम बढी हुन सक्छ वा व्यवहारमा परिवर्तन देख्न सकिन्छ ।

• अन्तिम चरण: बिरामीले प्रभावकारी रूपमा संवाद गर्न सक्दैन र पूर्ण समय हेरचाहको आवश्यकता पर्छ। उनीहरूले हिँड्न, खान वा प्रियजनलाई चिन्ने क्षमता पनि गुमाउन सक्छन् । यो चरण वर्षौंसम्म लम्बिन  सक्छ र पूर्ण समय हेरचाहको आवश्यकता पर्न सक्छ।

अल्जाइमरको रोकथामका उपाय

हालसम्म अल्जाइमर रोगको कुनै पनि उपचार विधि  पूर्ण रूपमा प्रभावकारी छैन तर अनुसन्धानले केही जीवनशैली परिवर्तन र उपायहरू संकेत गरेका छन्, जसले अल्जाइमरको जोखिम घटाउन मद्दत पुर्‍याउन सक्छ या यसको  बढ्ने क्रमलाई  कम गर्न  सक्छ।

• शारीरिक गतिविधि : नियमित व्यायामले मस्तिष्क स्वास्थ्य सुधार गर्न र स्मरण शक्ति गिरावटको जोखिम घटाउन मद्दत गर्न सक्छ । पर्याप्त हिँडाइ, साइकल चलाउने, पौडी खेल्ने जस्ता एरोबिक गतिविधिले  मस्तिष्कमा रगतको प्रवाह बढाउँछन्, मस्तिष्कका कोषको वृद्धिको प्रवर्द्धन गर्छन्।

• स्वस्थ आहार: मस्तिष्क स्वास्थ्यलाई सन्तुलित राख्न सन्तुलित आहार जसमा एन्टिऑक्सिडेन्ट्स, स्वस्थ बोसो र पोषक तत्त्वहरू समावेश छन्, त्यसको जरुरत पर्दछ। नियमित भूमध्यसागर आहार सेवन, जसमा फलफूल, सागसब्जी,  ओलिभ तेल, माछा, बदाम आदि समावेश छन्, अल्जाइमरको जोखिम घटाउन मद्दत पुर्‍याउन सक्छ । प्रशोधित खाद्य पदार्थ, अत्यधिक चिनी र ट्रान्स बोसोहरूबाट टाढा रहनु महत्त्वपूर्ण हुन्छ ।

• दिमागी व्यायाम: माथि उल्लेख गरेजस्तै  नियमित पढाइ, पजल गेम या नयाँ सीप सिक्ने जस्ता क्रियाकलापमार्फत मस्तिष्कलाई सक्रिय राख्नुले  स्मरण क्षमता कायम राख्न मद्दत गर्छ। जीवनभरको सिकाइ र बौद्धिक संलग्नता अल्जाइमरको जोखिम घटाउने फ्याक्टरका रूपमा लिइन्छ ।

• निद्रा: राम्रो निद्राले यस रोग विरुद्धमा सुरक्षा गर्न मद्दत गर्न सक्छ। त्यसैले उचित निद्राको सुनिश्चितता गर्नु र निद्रासम्बन्धी रोगको समाधान गर्नु मस्तिष्कको स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण हुन्छ ।

• सामाजिक संलग्नता: साथीभाइहरूसँग लगातार मित्रता कायम राख्ने, सामूहिक गतिविधिमा भाग लिने वा स्वयंसेवाजस्ता सामाजिक क्रियाकलापमा सक्रिय रहनाले स्मरण शक्ति ह्रासको जोखिम घट्न मद्दत हुन सक्छ। 

अल्जाइमर रोगको स्क्रिनिङ आवश्यक

हालको समयमा हाम्रो देशमा सर्वसाधारणमा नियमित स्क्रिनिङको चलन छैन, हेल्थ चेकअप गर्दा सामान्य रगत, दिसा, पिसाब मात्र चेकजाँच गर्ने चलन छ, जसले यस्तो रोगको पहिचानमा केही मद्दत गर्दैन । तर प्रारम्भिक पहिचानले रोगको व्यवस्थापनमा ठूलो प्रभाव पार्न सक्छ। त्यसैले ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मस्तिष्क कार्य र जोखिम कारकहरूको मूल्याङ्कन गर्नुपर्ने हुन्छ, त्यो पनि ज्येष्ठ नागरिक रोग विशेषज्ञ अर्थात् जेरियाट्रिसियनसँग ।

स्क्रिनिङ विधिहरूमा जोखिम कारकहरूको पहिचान, मस्तिष्कको स्वास्थ्य परीक्षण, स्मरण शक्ति मूल्याङ्कन र मस्तिष्क इमेजिङ समावेश हुन सक्छन् । यदि तपाईं वा तपाईंका नजिकका आफन्तहरूलाई अल्जाइमरका लक्षणहरूको चिन्ता छ भने छिट्टै नै विशेषज्ञ सल्लाह लिनु पर्छ र थप परीक्षण वा निगरानी आवश्यक छ कि छैन पत्ता लगाउनु पर्छ ।

अल्जाइमरसँग बाँच्न सिक्नु पर्छ

अल्जाइमर रोगले बिरामी र उनीहरूका परिवारका सदस्यका लागि ठूलो चुनौती ल्याउँछ, त्यही पनि यस रोगलाई व्यवस्थापन गर्नका लागि धेरै उपाय हाल उपलब्ध छन् र छिट्टै नै नयाँ उपचार पद्दति पनि उपलब्ध हुने देखिन्छ।

सही विशेषज्ञको निगरानीमा उचित हेरचाह, पारिवारिक सहयोग र धैर्यको साथ रह्यो भने अल्जाइमरले प्रभावित व्यक्तिहरूको जीवनमा गुणस्तर कायम राख्न सकिन्छ। अन्य कुनै दीर्घरोग जस्तै अल्जाइमरसँग पनि बाँच्न सिक्नु बिरामी र परिवारका सदस्यका लागि अपरिहार्य हुन्छ।

देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दो क्रममा छ, यससँगै यो रोग पनि बढ्ने सम्भावना बढी छ, त्यसैले सरकारले पनि अल्जाइमर रोगको अध्ययन अनुसन्धान र व्यवस्थापनका लागि चाहिने श्रोत साधनको चाँजोपाँजो मिलाउन जरुरी छ।

- क्षेत्री ज्येष्ठ नागरिक रोग विशेषज्ञ एवं शोधकर्ता हुन् ।

डा. क्षेत्री ज्येष्ठ नागरिक रोग विशेषज्ञ एवं शोधकर्ता हुन् ।

Link copied successfully